प्रधानमन्त्रीलाई एमालेको प्रश्न: नेपालको भूमि सट्टापट्टा गर्ने अधिकार कसले दियो ?



काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा नेपालको भूमि सट्टापट्टा गर्ने जस्ता विषय उठाएको भन्दै आपत्ति जनाएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा एमाले सांसद योगेश भट्टराईले समय लिएर बोल्दै नेपालको भूमि साट्ने अधिकार प्रधानमन्त्रीलाई कसले दियो भन्दै प्रश्न गरे ।

प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा बंगलादेशसम्म जाने बाटो नेपालले पाएको अवस्थामा लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतसँग साट्न सकिने विकल्प दिएको समाचारहरु सार्वजनिक भएपछि एमालेले आपत्ति जनाएको हो ।

‘कालपानी लिपुलेक लिम्पियाधुरा कुनै पनि सर्तमा नेपालको भूमि विदेशीलाई दिने हक प्रधानमन्त्रीलाई दिएको छैन । उहाँले के आधारमा बंगलादेशको बाटोको कुरा गर्नु भयो?,’ सांसद भट्टराईले प्रश्न गरे, ‘एमाले लम्पसारवादका विरुद्ध उभिन्छ’ भट्टराईले भने ।

उनले नेपालका लागि हवाई रुट, सीमा समस्या समाधान, डुबान, पञ्चेश्वर परियोजना लगायतका विषय चासोमा रहेको तर त्यसमा कुनै प्रगति नभए भन्दै भट्टराईले प्रश्न गरे ।

धेरै समस्याका विषयमा प्रधानमन्त्रीले भ्रमणका क्रममा प्रश्न नउठाएको भन्दै भट्टराईले प्रश्न गरे ।

‘विमस्टेक, सार्कको बारेमा कुरा उठाउनुहोला भन्ने ठानेका थियौं । ईपीजीको बारेमा प्रश्न उठाउँदा परिस्थिति बिग्रिन्छ, डुबानबारे कुरा उठाउँदा, सीमाबारे प्रश्न उठाउँदा माहोल बिग्रन्छ भने के गर्दा चाहिँ सप्रिन्छ ?’ भट्टराईको प्रश्न थियो ।


क्लिकमान्डु