म्याजिक चप्पल र जुत्ता बेच्ने कम्पनीको व्यापार खस्कियो, नाफामा कमी



काठमाडौं । म्याजिक ब्रान्डको चप्पल तथा जुत्ता बेच्ने कम्पनीको व्यापार खस्किएको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा कम भएको छ ।

म्याजिक चप्पल तथा जुत्ता दुईवटा कम्पनीले उत्पादन तथा बिक्री गर्दै आएका छन् । जयश्री पीयू टेक कम्पनी र जयश्री कम्पनी प्रालिमार्फत चप्पल र  जुत्ता उत्पादन हुँदै आएको छ ।

कम्पनीका अनुसार जयश्री पीयू टेक कम्पनीले स्लिपर, स्यान्डल र जुत्ता उत्पादन गर्दै आएको छ भने जयश्री कम्पनीले स्लिपर स्यान्डल उत्पादन गर्दै आएको छ । दुई कम्पनीले सन् २०२२ मा १ अर्ब ८ करोड रुपैयाँको व्यापार गरेका छन् ।

सन् २०२१ मा यी कम्पनीले १ अर्ब २१ करोड ९० लाख रुपैयाँको व्यापार गरेका थिए । कम्पनीका अनुसार सन् २०२२ मा करिब १४ करोड रुपैयाँले कम व्यापार भएको छ । कम्पनीले सन् २०२० मा ९७ करोड २० लाख रुपैयाँको व्यापार गरेका थिए ।

सन् १९८३ मा स्थापना भएको जयश्री कम्पनीले सन् २०२२ मा ५५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २०२१ मा ६६ करोड ७० लाख रुपैयाँ र सन् २०२० मा ५७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२१ मा १६.७८ प्रतिशतले घटेको छ ।

त्यस्तै, कम्पनीले चालू आर्थिक वर्षको ९ महिनामा ३८ करोड रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको उल्लेख छ । जसमा कम्पनीले १९.३५ प्रतिशतले नाफा कमाएको छ । व्यापार घट्दा नाफा पनि घटेको कम्पनीले जनाएको छ । कम्पनीसँग वार्षिक १२ करोड जोडी चप्पल उत्पादन गर्ने क्षमता छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६ करोड ७२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५३ करोड २७ लाख अर्थात् एफोर रेटिङ पाएको छ ।

कम्पनीका अनुसार सन् २०२१ को तुलनामा सन् २०२२ मा लागत बढेको छ । सन् २०२१ मा ९० लाख रुपैयाँ वित्त लागत रहेकोमा सन् २०२२ मा २ करोड २० लाख पुगेको छ । कम्पनीको देशभर  २७ वटा डिलर छन् । कम्पनीमा अनुज पुदर र रुबी अग्रवालको हिस्सा छ ।

त्यस्तै, सन् २००९ मा स्थापना भएको जयश्री पीयू टेक कम्पनीले सन् २०२२ मा ५२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा ५५ करोड २० लाख रुपैयाँ र सन् २०२० मा ३९ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा ४.८२ प्रतिशतले घटेको छ । कम्पनीको नाफा पनि घटेको छ ।

कम्पनीको वार्षिक ९ लाख जोडी चप्पल र जुत्ता उत्पादन गर्ने क्षमता छ । त्यस्तै, कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि २० करोड ५० लाख रुपैयाँ अर्थात् डबल बी माइनस र अल्पकालीन कर्जाका लागि २९ करोड ५० लाख रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।

कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरेर चप्पल तथा जुत्ता उत्पादन गर्दै आएको छ । कम्पनीले पोलिरिथेन, ल्यामिनेटेड फ्याब र रेक्जिनजस्ता कच्चा पदार्थ भारत र चीनबाट आयात गर्छ ।

यो कम्पनीको पनि लागत खर्च बढेको छ । सन् २०२१ मा २ करोड ३० लाख रुपैयाँ लागत रहेकोमा अहिले ३ करोड ६० लाख रुपैयाँ पुगेको कम्पनीको भनाइ छ । कम्पनीमा अनुज पुदर र राजेशकुमार पुदरको हिस्सा छ । नेपालमा कोभिडपछि फुटवेयर उत्पादन गर्ने कम्पनी बढ्दै गएका छन् ।


क्लिकमान्डु