नेपाल आयल निगमले आईओसीलाई ६ अर्ब दिन बाँकी, ढिलाइ हुँदा ७.१ प्रतिशत ब्याज



काठमाडौं । नेपाल आयल निगम (एनओसी)ले इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई ६ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको पाइएको छ । नेपालले खरिद गर्दै आएको पेट्रोलियम पदार्थको बक्यौता आईओसीलाई ६ करोड रुपैयाँ तिर्न बाँकी रहेको निगमले जनाएको छ ।

निगमले महिनामा दुई पटक गरेर रकम भुक्तानी गर्दै आएको छ । निगमले हरेक महिनाको ८ तारिख र २३ तारिखमा वक्यौतासहित ब्याज पनि तिर्दै आएको छ । तर, समयमै निगमले बक्यौता तिर्न नसक्दा आईओसीले तोकेता गर्दै आएको छ ।

निगमका सहप्रवक्ता पुष्कर कार्कीले आईओसीलाई ६ अर्ब दिन बाँकी रहेको बताए । उनका अनुसार नेपालले सम्झौताअनुसार पेट्रोलियम खरिद गरेको रकम मासिक २ चरणमा दिँदै आएको छ । सम्झौताअनुसार २ किस्ता भुक्तान नगरे ७.१ प्रतिशतका दरले ब्याज तिर्नुपर्ने हुन्छ ।

अहिले निगमले ब्याजसहित बक्यौता रकम विस्तारै भुक्तानी गरिरहेको जनाएको छ । निगमले आयात गरेको पेट्रोलियम पदार्थको बिक्री गरी नाफा कमाएको रकमबाट बक्यौता घटाउँदै लगेर ७ अर्बमा झारेको निगमको भनाइ छ ।

अन्तर्राष्ट्रिय स्तरमा पेट्रोलियम पदार्थको मूल्य बढेको अवस्थामा समयमै मूल्य समायोजना गर्न नसक्दा आयल निगमले गत वर्ष मात्रै ५० अर्ब  रुपैयाँबराबरको घाटा व्यहोरेको थियो ।

निगम आर्थिक वर्ष २०७१/७२ देखि आर्थिक वर्ष २०७६/७७ सम्म निरन्तर नाफामा थियो । तर, रुस-यु्क्रेन द्वन्द्वले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा निगम घाटा व्यहोर्ने अवस्थामा पुग्यो । निगमले गत आर्थिक वर्षमा मात्रै ५० अर्ब रुपैयाँ घाटा व्यहोरेको थियो ।

निरन्तर घाटा व्यहोरिरहेको निगमले मूल्य स्थिरीकरणको रकम पनि चलाएर तेल खरिद गरेको थियो । तर, निरन्तर मूल्यवृद्धिले आईओसीलाई समयमै रकम भुक्तानी गर्न नसकिएको सहप्रवक्ता कार्कीले बताए ।

नेपालले केही समयअघिसम्म आईओसीलाई ३१ अर्बभन्दा बढी बक्यौता तिर्न बाँकी थियो । समयमै रकम भुक्तानी गर्न नसक्दा आईओसीले आपूर्तिसमेत घटाएर दबाब दिने गरेको छ ।

आईओसीले बक्यौता भुक्तानी गर्न दबाब दिएपछि निगमले सरकारी तहबाटै सहज बनाउन अनुरोध गर्नुपरेको थियो । निगमले सरकारसँग ७ अर्ब र टेकुमा रहेको जग्गा वाणिज्य बैंकमा राख्दै ३ अर्ब ऋण निकालेर बक्यौता घटाएको थियो ।

निगमले वाणिज्य बैंकमा जग्गा धितो राखेर निकालेको ३ अर्ब ऋण भने निगमले चुक्ता गरिसकेको छ । तर, सरकारसँग लिएको ७ अर्ब ३० करोड रुपैयाँ भने तिर्न बाँकी रहेको कार्कीले बताए ।

सरकारलाई निगमले ५ प्रतिशत ब्याजसहित मासिक ७० करोड रुपैयाँका दरले ऋण भुक्तानी गरिरहेको छ । अहिले सरकारलाई ३-३ महिनामा ७० करोड रुपैयाँका दरले ब्याजसहित रकम भुक्तानी गरिरहेको उनले जनकारी दिए ।

‘निगमले नाफा कमाउँदै गएपछि बक्यौता पनि घटाउँदै लगेको छ,’ कार्कीले भने, ‘आगामी दिनमा मूल्य घटेर आएमा निगमले सहजै बक्यौता तिर्न सक्नेछ ।’

सह-प्रवक्ता कार्कीले तेलको मूल्य घटेर आएको अवस्थामा निगमले मूल्य नघटाए ४–५ महिनामै बक्यौता तिरिसक्ने बताए । त्यसैले निगमले आईओसीबाट मूल्य घटेर आए पनि यहाँ यथावत् राखेको छ ।

हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूचीअनुसार पेट्रोल लिटरमा ४.३३ रुपैयाँ र डिजेल लिटरमा ४.११ रुपैयाँले मूल्य घटेर आएको छ । तर, निगमले भने बक्यौताको रकम छिटोभन्दा छिटो भुक्तानी गर्ने योजनासहित मूल्य घटाएको छैन ।

आईओसीले पठाएको पछिल्लो मूल्यअनुसार तेलको मूल्य घटेर आउँदा निगमले १५ दिनको अवधिमा १ अर्ब ६० करोड नाफा हुने अनुमान गरेको छ । सोहीअनुसार नाफा हुँदै गएमा बक्यौता तिर्न कुनै समस्या नहुने उनले उल्लेख गरे ।

अहिले आर्थिक मन्दीले अधिकांश क्षेत्रमा माग घटेको छ । बजारमा पेट्रोलियम पदार्थको माग घट्दा निगमको नाफामा पनि असर पुगेको निगमका प्रवक्ता मनोजकुमार ठाकुर बताउँछन् ।

ठूला-ठूला उद्योग कलकारखानाको उत्पादन क्षमता घटेको छ । विगतमा दैनिक ३ देखि ४ ट्यांकर पेट्रोलियम पदार्थ खपत हुँदै आएकोमा अहिले ह्वात्तै घटेको छ । निगमका अनुसार अहिले पेट्रोलमा ८ प्रतिशतले खपतमा कमी आएको छ ।

डिजेलको खपत २० प्रतिशतले घटेको छ । तर, आर्थिक वर्ष अन्त्य हुँदै गर्दा विकास निर्माणको कार्यमा तीव्रता आएर खपत बढ्न सक्ने उनको अनुमान छ । ‘यो आर्थिक वर्ष सकिन लागेको छ । अब विकास निर्माणले गति लिँदा खपत बढ्न सक्छ,’ उनले भने ।


अरिष्मा मोक्तान