राष्ट्रिय गौरवका आयोजनाः धेरैमा न्यून प्रगति, समयमा सम्पन्न हुने आयोजना सीमित



काठमाडौं । तत्कालीन माओवादी नेतृत्वको सरकार सत्तामा रहँदा आर्थिक वर्ष २०६८/०६९ मा देशमा १७ वटा राष्ट्रिय गौरवका आयोजनाहरुको घोषणा गरिएको थियो ।

तत्कालीन प्रधानमन्त्ती पुष्प कमल दाहाल ‘प्रचण्ड’को सरकार रहँदा देशमा १७ वटा आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर यी आयोजनाहरुलाई विशेष प्राथमिकतामा राख्दै देशको विकासमा टेवा पुर्याउने लक्ष्य लिइएको थियो ।

अहिले देशभरमा राष्ट्रिय गौरवका आयोजनाहरुको संख्या २४ वटा पुगेका छन् । आव २०६८/०६९ पछि आव २०७०/०७१ मा चारवटा र आव २०७५/०७६, आव २०७६/०७७ र आव २०७७/०७८ मा एक/एक वटा आयोजनाहरुलाई राष्ट्रिय गौरवको आयोजना घोषित गरिएको थियो ।

तर, यीमध्ये अधिकतम आयोजनाको शुरुवात भएको दशकभन्दा लामो समय बितिसक्दा पनि धेरै आयोजनाहरुमा न्यून प्रगति मात्रै भएको छ ।

सरकारले विभिन्न समयमा शुरु गरेर सीमित आयोजनाहरु मात्रै सम्पन्न भएका छन् भने धेरै आयोजनाहरुमा अर्बौं रकम लगानी हुँदा पनि यीनिहरुको प्रगति निकै न्यून रहेको छ । सँगै तोकिएको समयमा आयोजनाहरु पूरा नहुँदा आयोजनाको शुरुवातमा अनुमान गरिएको लागतमा पनि दोब्बरसम्मको वृद्धि भएको छ ।

हालसम्म राष्ट्रिय गौरवका आयोजनाहरुअन्तर्गत रहेका २४ आयोजनाहरुमध्ये माथिल्लो तामाकोशी जलविद्युत आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र मेलम्ची खानेपानी आयोजना मात्रै सम्पन्न भएका छन् । यसमध्ये पनि केही समयअघि सम्पन्न भएको घोषणा गरिएको मेलम्ची खानेपानी आयोजना पूर्ण तयारीबीनै सुचारु गरिएको थियो ।

२०७७ चैत २० मा मेलम्ची खानेपानी आयोजनाको राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरेर सम्पन्न भएको घोषणा गरिएको भएता पनि केही महिनापछि २०७८ असार पहिलो साता बाढीबाट ठूलो क्षति भएपछि उक्त आयोजनालाई पुनः २०८०/०८१ सम्पन्न गर्ने भनिएको छ ।

पहिलो चरणको निर्माण सम्पन्न भएपश्चात दोस्रो चरणको निर्माण भन्दै सरकारले यो आयोजनाको निर्माणअवधि लम्ब्याएको थियो । यी बाहेकका २० राष्ट्रिय गौरवका आयोजनाहरु भने हालसम्म पनि सम्पन्न भएका छैनन् ।

तोकिएको समयमा हुँदैनन् आयोजना पूरा, लागत वर्षेनी बढेको बढ्यै

हालसम्म सरकारले राष्ट्रिय गौरवका आयोजना घोषणा गरेका आयोजनाहरु कुनै पनि समयमा पूरा हुन सकेका छैनन् । यी आयोजनाहरुलाई सरकारले सुचारु गर्दा निश्चित समय तोकेर सोही अनुसारको अनुमानित लागत छुट्याएको भए पनि समयमा आयोजनाले पूर्णता नलिँदा आयोजनाको लागत दोब्बरसम्मले बढेको छ ।

आव २०६१/०६२ मा शुरु भएको सिक्टा सिँचाइ आयोजनाको शुरुमा अनुमानित लागत १२ अर्ब ९० करोड थियो । तर, अहिले उक्त लागतमा वृद्धि भएर २५ अर्ब २ करोड पुगेको छ ।

बाँके जिल्लाको करिब ४३३ हेक्टर कृषि योग्य भूमिमा सिचाई सुविधा उपलब्ध गराउने लक्ष्य लिएर शुरु गरिएको आयोजनाको शुरुको सम्पन्न हुने लक्ष्य आव २०७७/०७८ थियो । तर, तोकिएको समयमा आयोजना सम्पन्न नभएपछि आयोजनाको कार्यतालिकालाई संशोधन गरेर आव २०८४/०८५ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

हालसम्ममा सिक्टा सिँचाई आयोजनामा आव २०७८/०७९ सम्ममा कुल ७२.५० प्रतिशत भौतिक प्रगति भएको छ भने समग्रमा आर्थिक र भौतिक प्रगति ७५.९ प्रतिशत भएको छ । आयोजनाको शुरुवात भएको दुई दशक पूरा हुन लाग्दा पनि आयोजना सम्पन्न नभएकाले यसको लागत भने बढेको बढ्यै छ ।

सिक्टामात्रै नभएर बबई सिँचाई आयोजना, रानीजमरा कुलरिया सिँचाई आयोजना, सुनकोशी मरिन डाइभर्सन बहुउद्धेश्यीय आयोजना, महाकाली सिँचाई आयोजना, भेरी बबई डाइभर्सन बहुउद्धेश्यीय आयोजनाजस्ता सिचाईका आयोजनाहरु पनि तोकिएको समयमा सम्पन्न भएका छैनन् । जसकारण यी आयोजनाहरुको पनि शुरुवातमा अनुमान गरिएको लागतमा अत्याधिक वृद्धि भएको छ ।

आव २०४५/०४६ मै शुरु भएको बबई सिँचाई आयोजनाको हालसम्म संशोधन पश्चात सम्पन्न हुने मिति आव २०८२/०८३ रहेको छ ।

शुरुवातमा २ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ लागत रहेको आयोजनाको अहिलेको लागत १८ अर्ब ९३ करोड ३० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, शुरुवातमा १२ अर्बको ३७ लाखको लागतमा शुरु भएको रानीजमरा कुलरिया सिँचाई आयोजनाको अहिलेको लागत २७ अर्ब ७० करोड २४ लाख पुगेको छ ।

सिँचाईमा जस्तै, जलविद्युत क्षेत्र, पूर्वाधार, सडकलगायतका क्षेत्रसँग सम्बन्धित राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्था पनि उस्तै छ ।

४७ अर्ब २४ करोडको लागतमा २०६६/०६७ शुरु भएको हुलाकी लोकमार्गको अहिलेको लागन ६५ अर्ब २० करोड पुगेको छ । त्यस्तै, २०६४/०६५ मा पुष्पलाल मध्य पहाडी लोकमार्गको शुरु हुँदा आयोजना कुल लागत ३३ अर्ब ३६ करोड थियो । तर, अहिले उक्त आयोजनाको लागतमा दोब्बरभन्दा धेरैले बृद्धि भएको छ ।

जसअनुसार संशोधित कार्यतालिकाअनुसार २०७९/०८० मा सम्पन्न हुनुपर्ने आयोजनाको अहिलेको कुल लागत ८४ अर्ब ३३ करोड पुग्ने देखिएको छ ।

पहिलो चरणको निर्माण सम्पन्न भएको बताइने मेलम्ची खानेपानी आयोजना पनि शुरु हुँदा २४ अर्बको लागतमा सम्पन्न गरिने लक्ष्य लिइएको थियो । तर, समयमा काम नहुँदा र तोकिएको समयमा आयोजनाले पूर्णता नपाउँदा यसको लागत बढेर ३१ अर्ब ३६ करोड पुगेको छ ।

आयोजनाहरु समयमा सम्पन्न नहुनले देशमा अधुरा आयोजनाहरुको संख्यामा वृद्धि मात्रै नभएर ठूलो रकम पनि यी आयोजनाहरुमा खर्च भइरहेको छ । पटक पटकको मिति संशोधन गरिनुले यो लागत झन् झन् बढ्दै गएको छ ।

गौरवका आयोजनामा ४ अर्बभन्दा धेरै खर्च, ९ आयोजनाको मात्रै ८० प्रतिशतभन्दा बढी वित्तीय प्रगति
सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुको नाममा गत आव २०७८/०७९ मा ७५ अर्ब ५ करोड रुपैयाँ बिनियोजन गरेको थियो ।
सरकारले पछिल्ला चार वर्षमा मात्रै सरकारले ३ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ राष्ट्रिय गौरवको आयोजनाका लागि बिनियोजन गरेको छ ।

सरकारले आव २०७५/०७६ मा २० गौरवका आयोजनाहरुको लागि वार्षिक बजेट ८३ अर्ब २५ करोड रुपैयाँ बिनियोजन गरेको थियो । त्यस्तै, आव २०७६/०७७ मा २२ वटा आयोजनाका लागि ७६ अर्ब ७७ करोड रुपैयाँ बिनियोजन भयो । आव २०७७/०७८ मा २३ आयोजनाहरुका लागि ८९ अर्ब ८३ करोड बिनियोजन गरिएको थियो भने गत आव २०७८/०७९ मा उक्त रकम ७५ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।

हालसम्म २४ वटै राष्ट्रिय गौरवका आयोजनाहरुका लागि ४ खर्ब २९ अर्ब ६५ करोड रुपैयाँ खर्च भइसकेको छ ।
तर, आव २०७८/०७९ सम्ममा यीमध्ये ९ वटा आयोजनाहरुको वित्तीय प्रगति भने ८० प्रतिशत वा शोभन्दा बढी वित्तीय प्रगति रहेको छ ।

राष्ट्रिय गौरवका आयोजनाहरुको आव २०७८/०७९ सम्मको भौतिक प्रगतितर्फ ६ वटा आयोजनाहरुको भौतिक प्रगति ५० देखि ८० प्रतिशत रहेको छ । त्यस्तै, तीन वटा राष्ट्रिय गौरवका आयोजनाहरुको भौतक प्रगति ५० प्रतिशत वा सोभन्दा कम रहेको छ । त्यस्तै, ११२ वटा आयोजनाहरुको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी रहेको छ ।

आव २०७८/०७९ सम्ममा आयोजनाहरुको भौतिक प्रगतितर्फ सिक्टा सिँचाई आयोजनाको ७२.५० प्रतिशत, बबई सिँचाइ आयोजनाको ६२.२३ प्रतिशत, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको ५८.७० प्रतिशत, सुनकोशी मरिन डाइभर्सजन बहुउद्धेश्यीय आयोजनाको ७.६० प्रतिशत, महाकाली सिँचाई आयोजनाको १५.७३ प्रतिशत, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ५७ प्रतिशत, बुढीगण्डकी जलविद्युत आयोजनाको २२ प्रतिशत, विद्युत प्रसारण आयोजनाको ५.०१ प्रतिशत, रेल वे तथा मेट्रो विकास आयोजनाको ३८.५ प्रतिशत, हुलाकी लोकमार्गको ८०.९० प्रतिशत, पुष्पलाल मध्यपहाडी लोकमार्गको ६४.१६ प्रतिशत, उत्तर दक्षिण (कोशी कोरिडोर) लोकमार्गको ४१ प्रतिशत तथा उत्तर दक्षिण (कर्णाली कोरिडोर) लोकमार्गको २० प्रतिशत भौतिक प्रगति भएको छ ।

हालसम्म राष्ट्रिय गौरवका आयोजनाहरुमध्येबाट पूर्ण रुपमा सम्पन्न भएका आयोजनाहरु तीन वटा रहेका छन् । माथिल्लो तामाकोशी जलविद्युत आयोजना, पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा सम्पन्न भएका आयोजनाहरु हुन् ।

मेलम्ची खानेपानी आयोजनाको हकमा पहिलो चरणको काम सम्पन्न भएको बताइन्छ र १ असार २०७८ मा आएको बाढीका कारण हेड बक्सजस्ता मुख्य संरचनामा क्षति पुगेका कारण मर्मत कार्य भइरहेको र दोस्रो चरणको काम सम्पन्न हुन बाँकी छ ।

तर, आयोजनाहरुमध्ये १२ वटा आयोजनामा हालसम्मको समष्टिगत वित्तीय प्रगति ५० प्रतिशत वा शोभन्दा कम रहेको छ ।


युवराज भट्टराई