भारतसँग सम्बन्ध बिगार्ने निर्णय गरेको भन्दै प्राधिकरणका डीजीसँग प्रधानमन्त्री चिढिए, हचुवामा काम नगर्न निर्देशन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई जथाभावी निर्णय नगर्न निर्देशन दिएका छन् ।

दुई साता अघि बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्रधिकरणका महानिर्देशक अधिकारीलाई दुई देशको कुटनीतिक सम्बन्धको ख्याल गरेर मात्रै निर्णय गर्न भनेका हुन ।

प्राधिकरणले गत कात्तिक ६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआईए) बाट दैनिक ३ वटाभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीले भैरहवाबाट पनि एउटा उडान गर्नुपर्ने नियम बनाएको थियो ।

टिआईएको ट्राफिक व्यवस्थापन र भैरहवा विमानस्थलमा ट्राफिक बढाउने उद्देश्यले प्राधिकरणले यो नियम बनाएको दाबी गरेको थियो ।

कात्तिक पहिलो साता जजिरा एयरवेजले भैरहवामा गरिरहेको दैनिक उडान बन्द गरेको र कम्पनीले सातामा एउटा मात्रै उडान गर्ने समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री देउवाले भैरहवा विमानस्थल नियमित सञ्चालनका लागि व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरणले नेपालमा उडान गर्ने सबै वायु सेवा कम्पनीलाई भैरहवाबाट समेत उडान गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुको साथैं गत कात्तिक ११ गते नेपाल वायु सेवा निगमका काठमाडौं दिल्ली उडानसमेत रद्द गरिदिएको थियो ।

प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एउटा उडान नगर्ने कम्पनीलाई काठमाडौंबाट तीनवटा भन्दा बढी उडान गर्न नदिने गरि नियम बनाएको थियो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले नोभेम्बर १ तारिकदेखि भैरहवाबाट एउटा उडान नगर्ने कम्पनीको काठमाडौंमा दैनिक तीनवटा भन्दा बढी उडान सेड्युवल स्वीकृत नहुने जानकारी दिएका थिए ।

तर, प्रवक्ता निरौलाले भनेअनुसार अहिलेसम्म भैरहवाबाट सबै वायु सेवा कम्पनीले व्यवसायीक उडान शुरु गरेका छैनन् ।

प्राधिकरणले भैरहवाबाट उडान गर्ने तालिका पेश गर्न नेपाली कम्पनी नेपाल वायु सेवा निगम, हिमालयन एयरलाइन्सका साथैं कतार एयरवेज, अरेयिबा एयरवेज, इन्डिगो एयरबेज, एयर इण्डिया, भिस्तारा एयरलाइन्सलाई पत्राचार गरेको थियो ।
प्राधिकरणको दबावपछि नेपाल वायु सेवा निगम र हिमालयन एयरलाइन्सले उडान तालिका पेश गरेपनि अन्य कम्पनी पर्ख र हेरको अवस्थामा थिए ।

तर, भारतीय वायु सेवा कम्पनी भने प्राधिकरणको निर्णयबाट सन्तुष्ट भएनन् । भैरहवामा ग्राउण्ड ह्याण्डलिङको जिम्मा चिनियाँ लगानी रहेको हिमालयन एयरलाइन्सलाई दिएर भारतीय कम्पनीलाई जबरजस्ती भैरहवाबाट उडान गर्न भनिए आफूले काठमाडौंमा समेत उडान नगर्ने भारतीय कम्पनीले अडान राखे ।

भारतीय कम्पनीले नेपालस्थित भारतीय राजदूतावासमार्फत प्रधानमन्त्री देउवा समक्ष भैरहवाबाट तत्काल उडान गर्न नसकिने सन्देश पुर्याए ।

नेपालस्थित भारतीय राजदूत नविन श्रीवास्तवलेसमेत प्रधानमन्त्री देउवालाई भेटेर भारतीय कम्पनीलाई भैरहवाबाट अनिवार्य उडान गर्न भनिए दिल्ली काठमाडौं उडान समेत बन्द हुने चेतावनी दिएपछि प्रधानमन्त्री झस्किएका थिए ।

हाल नेपाल वायु सेवा निगमले २ र भारतीय कम्पनीले ७ गरी दैनिक काठमाडौं दिल्लीतर्फ ९ उडान हुने गर्छ ।

भारतको सीमामा रहेको र भारतले नै बनाएको भैरहवा विमानस्थल विस्तारको काम चिनियाँ कम्पनीलाई दिने निर्णयबाट भारतीय पक्ष सन्तुष्ट थिएन ।

भारतीय मिसनको सहयोगमा निर्माण भएको भैरहवा विमानस्थल २०२३ फागुन १७ गते तत्कालीन युवराज विरेन्द्रले उद्घाटन गरेका थिए । भारतीय पक्षको सहयोगम निर्माण भएको विमानस्थल चिनियाँ कम्पनीबाट बिस्तार गरेर ग्राउण्ड ह्याण्डलिङको काम चिनियाँ कम्पनीको लगानी रहेको संस्थालाई दिएको भन्दै भारतीय पक्ष चिढिएको थियो ।

यस्तै, प्राधिकरणले अन्तर्राष्ट्रिय उडानको नयाँ तालिका बनाउन एक साताको मात्रै समय दिएको भारतीय वायु सेवा कम्पनीलाई चित्त बुझेको थिएन ।

नेपाल वायु सेवा निगमले भैरहवाबाट दिल्ली उडानका लागि अनुमति माग गर्दा समेत भारतीय उड्डयन क्षेत्रको नियामक निकाय नागरिक उड्डयन महानिर्देशनालयले अनुमति दिएको थिएन ।

भारतीय वायु सेवा कम्पनीलाई अनावश्यक रुपमा नेपाल नागरिक उड्डयन प्राधिकरणले हस्तक्षेप गरेकाले नेपाल वायु सेवा निगमलाई नागरिक उड्डयन महानिर्देशनालयले भैरहवा दिल्ली उडान गर्न अनुमति नदिएको प्राधिकरणका उच्च अधिकारीहरु दाबी गर्छन् ।

प्रधानमन्त्री देउवाले दुई देशको सम्बन्धको विषयमा ख्याल राखेर मात्रै निर्णय गर्न निर्देशन दिएपछि प्राधिकरणका महानिर्देशक अधिकारीले हाललाई भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्नै पर्ने नियम मार्च २५ सम्म सारेका छन् ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला वायु सेवा कम्पनीले तयारी गर्न समय मागेपछि नयाँ मिति तोकिएको बताउँछन् ।

‘हामीले भैरहवा विमानस्थल सञ्चालन गर्ने गरी निर्णय गरेका हौं,’निरौलाले भने,‘मलाई अन्य विषयमा कुनै जानकारी छैन ।’

प्राधिकरणका महानिर्देशक अधिकारी भैरहवा विमानस्थल केही समय जबर्जस्ती सञ्चालनमा ल्याएर नयाँ टर्मिनल भवन बनाउने योजनामा छन् ।

अधिकारीले गत वर्ष नै भैरहवामा २२ अर्ब रुपैयाँ खर्च गरेर टर्मिनल भवन बनाउने गरि लबिङ गरेका थिए । तर, अर्थमन्त्रालये सञ्चालनमा नआएको विमानस्थलमा २२ अर्ब रुपैयाँ खर्च गरेर नयाँ टर्मिनल भवन बनाउन आवश्यक नरहेको अडान लिएको अर्थ मन्त्रालयका सहसचिव इश्वरी अर्याल बताउँछन् ।

‘पर्यटन मन्त्रालयले भैरहवामा नयाँ टर्मिनल बनाउन लबिङ दिएको थियो,’अर्यालले भने,‘तर, हामीले अहिले नै आवश्यक नरहेको अडान लिएका थियौं ।’

महानिर्देशक भएको १ वर्षसम्म भैरहवा विमानस्थल सञ्चालन गर्न व्यवसायीक योजना बनाउन नसकेका अधिकारीले प्राधिकरणको नियामकिय अधिकार दुरुपयोग गरेर वायु सेवा कम्पनीलाई जसरी पनि भैरहवा पठाउन खोजेका थिए ।

प्राधिकरणका पूर्व महानिर्देशक सञ्जिव गौतम महानिर्देशकले वायु सेवा कम्पनीलाई जबर्जस्ती कुनै पनि गन्तव्यमा उडान गर्न दबाब दिन नमिल्ने बताउँछन् ।

‘वायुसेवा कम्पनीले कहाँ उडान गर्ने भन्ने व्यवसायीक निर्णय गर्न पाउनु पर्छ ,’गौतम भन्छन्,‘आफुले बनाएको विमानस्थल सञ्चालन भएन भनेर वायुसेवा कम्पनीलाई दबाव दिन मिल्दैन ।’


शरद ओझा