मंहगी थोरै घट्यो, कुन क्षेत्रमा कति ?



काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा आइपुग्दा महंगी बढेर ८.५० प्रतिशतमा पुगेको छ । भदौ महिनामा ८.६४ प्रतिशत रहेकामा असोजमा थोरै घटेर ८.५० प्रतिशत रहेको छ ।

गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.२४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको
मुद्रास्फीति ८.०५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८५ प्रतिशत रहेको छ ।

तीन महिनाको अवधिमा समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मुद्रास्फीति १५.९१ प्रतिशत, फलफूलको १२.०६ प्रतिशत, मदिराजन्य पेय पदाथको १०.२४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.४५ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४४ प्रतिशत रहेको छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूहको मुद्रास्फीति २१.१५ प्रतिशत, स्वास्थ्यको १०.५४ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ९.४५ प्रतिशत र शिक्षाको ८.११ प्रतिशत र घरायसी उपयोगका वस्तुहरुको ७.६८ प्रतिशत रहेको छ ।

तीन महिनाको अवधिमा काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत, तराईमा ९.४२ प्रतिशत, पहाडमा ८.८४ प्रतिशत र हिमालमा ७.०७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ असोज महिनामा यी क्षेत्रहरुमा क्रमशः ३.४८ प्रतिशत, ४.०१ प्रतिशत, ५.६८ प्रतिशत र ३.१२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १३.७३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा
यस्तो मुद्रास्फीति ३.८३ प्रतिशत रहेको थियो । यो महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १०.२४ प्रतिशत, १७.१३ प्रतिशत र ६.०० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १९.२७ प्रतिशत रहेको छ ।

असोज महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ११.५९ प्रतिशतले बढेको छ । अघिल्लो
वर्षको सोही महिनामा उक्त सूचकाङ्क ४.९२ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर
सूचकाङ्क क्रमशः १२.३९ प्रतिशत र ११.३४ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु