ओलीको पानीजहाज सपनामा साथ दिने व्यवसायी भट्टचनलाई एमालेको सांसद उपहार



काठमाडौं । व्यवसायी देवीप्रकाश भट्टचनको नाम नेकपा एमालेको समानुपातिकतर्फ सांसदको उम्मेद्वारहरुको सूचीमा देख्ने अधिकांश आश्चर्यमा परे । किनभने, लामो समयदेखि कांग्रेसमा रहेका भट्टचन एक्कासी एमाले प्रवेश गरेको देख्दा आश्चर्य मान्नु स्वाभाविक नै थियो ।

भट्टचन यसअघि कांग्रेसको कोटाबाट समानुपातिक सांसदहरुको उम्मेद्वारको सूचीमा थिए । तर, कांग्रेसले उनलाई सांसद बनाएन ।

सांसद नबनाए पनि उनी कांग्रेसमै सक्रिय थिए । ०७८ साउन १५ गते सभापति शेरबहादुर देउवाले भट्टचनलाई संगठन विभागको उपप्रमुख बनाएका थिए । उनी २०४९ सालमा कांग्रेसबाट जिल्ला विकास समितिको सदस्यमा समेत निर्वाचित भएका थिए ।

कांग्रेसले संगठन विभागको उप्रमुख बनाएको व्यक्तिको नाम एकाएक एमालेको समानुपातिक सांसदको सूचीमा कसरी आयो ? राजनीतिक र व्यावसायिक वृत्तमा राम्रै चर्चा छ ।

पहिलोः भट्टचन कांग्रसभित्र पनि शशांक कोइराला निकट मानिन्थे । कांग्रेसको गत महाअधिवेशनबाट शशांक सक्रिय राजनीतिबाट सन्यास लिए । त्यसपछि भट्टचनले विकल्प खोज्न थालिसकेका थिए । किनभने, यसअघि कांग्रेसले समानुपातिक सांसदका उम्मेद्वारहरुको सूचीमा नाम राखे पनि सांसद भने बनाएको थिएन ।

सभापति देउवापत्नी आरजूको मोलमोलाइका कारण कांग्रसभित्र रहेका व्यवसायी जगत प्रताडित छन् । भट्टचन त्यसबाट अछुत रहने कुनै भएन ।

भट्टचन निकट स्रोतका अनुसार उनलाई सांसद बन्ने ठूलो रहर थियो । मुस्ताङ्गबाट प्रत्यक्षमै चुनाब उठ्न पनि उनी तम्सिएका थिए । तर, कसैले पनि उनलाई प्रत्यक्षमा टिकट दिएनन् । अन्ततः एमालेबाट समानुपातिक सांसदको उम्मेद्वार बने ।

भट्टचनको सम्बन्ध राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी ओलीसँग निकै सुमधुर छ । एमालेमा त्यो हाइटका व्यवसायीहरु खासै थिएनन् । त्यसैले भण्डारी र ओली दुबैले भट्टचनलाई एमालेबाट सांसद बन्न आग्रह गरिरहेकका थिए । कांग्रेसबाट यो पटक पनि सांसद हुने संभावना नदेखेपछि उनले ओलीको प्रस्ताव स्वीकारेका हुन् ।

ओलीसँग कसरी राम्रो सम्बन्ध भयो ?

एमालेको यसअघिको चुनाबको मुख्य एजेण्डामध्ये रेल र पानीजहाज पनि थिए । समुद्रमा नेपाली झन्डा फहराउँदै पानीजहाज चलाउने एमाले अध्यक्ष ओलीको घोषणा थियो । र, पछि चुनाब जितेर प्रधानमन्त्री भएपछि पनि ओलीले रेल र पानीजहाजलाई दृढताका साथ अघि बढाए ।

प्रधानमन्त्री ओलीको उक्त भनाइलाई जोक बनाउने धेरै भए । कतिले त बाल्टीमा पानी राखेर कागजको पानीजहाज चलाए र ओलीलाई गिज्याए । सामाजिक सञ्जालमा मिम र ट्रोल बनाएकोमा ओलीले सार्वजनिकरुपमै असन्तुष्टिसमेत व्यक्त गरे ।

तर, प्रधानमन्त्री ओलीले यो योजनामा सहयोगी बन्न आइपुग्यो व्यावसायिक घराना प्रभु ग्रुप । जसले समुन्द्रमा पानीजहाज त होइन, सामान ओसारपसार गर्नका लागि नेपालको झण्डा फरफराउँदै सिपिङ कार्गो भने शुरुवात गरिसकेको छ ।

प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन कम्पनीको शुरुवात हुनुमा तत्कालीन प्रधानमन्त्री ओलीको पानीजहाज सञ्चालन गर्ने भाषण प्रेरणाको स्रोत भएको बताउँछन् । ओलीकै भनाइबाट व्यवसायको सुत्रपात भएको उनको भनाइ छ ।

‘प्रधानमन्त्री भइसकेपछि ओलीज्यूले भाषणमा नेपालको झण्डा फरफराउँदै समुन्द्रमा नेपालको आफ्नै पानीजहाज सञ्चालन गर्ने योजनाले हामीलाई त्यसतर्फ व्यवसाय विस्तार गर्ने सोचतर्फ डोहोर्यायो,’ उनले भने ।

त्यसअघिसम्म पानीजहाज बारे कुनै योजना थिएन उनीहरुको । त्यतिमात्रै कहाँ हो र यसबारे थाहा पनि थिएन ।

तर, जब भारतीय नागरिक मोहम्मत ए ए सरदार भेटिए । सरदारले प्रभु ग्रुपलाई पानीजहाज र कन्टेनरको बिजनेशबारे बेलिविस्तार लगाए ।

सरदारसँग १०औं वर्षदेखि भारत, चीन र बंगलादेशका विभिन्न सिपिङ कम्पनीमा काम गरेको अनुभव थियो । सरदार कम्पनीको प्रबन्ध निर्देशकका रुपमा भित्रिए ।

सरदारसँगको साथमा प्रभु ग्रुपले सन् २०१८ को अगस्ट २४ मा ‘नेपाल सिपिङ लाइन्स’ नामक कम्पनी स्थापना गर्यो भने सन् २०१९ को जनवरीदेखि काम पनि शुरु गर्यो । नेपालका लागि मात्रै होइन, प्रभु ग्रुपका लागि समेत यो नयाँ विजनेस भेञ्चर थियो ।

देशका लागि ५ फाइदा

अभ्यक्ष भट्टचनका अनुसार पहिलो, हालसम्म विदेशबाट नेपालमा सामान आयात हुँदा विदेशी कम्पनीका सिपिङ कार्गोबाट ल्यानु पर्दथ्यो । जसबाट वर्षेनी ५६ अर्ब रुपैयाँ विदेश जान्थ्यो । त्यसलाई केही मात्रामा कम गर्नका लागि प्रभु ग्रुपले शुरु गरेको स्वेदेशी कम्पनीमार्फत् ठूलो मात्रामा नेपाली मुद्रा विदेश जानबाट रोकिने भयो ।

दोस्रो फाइदा, नेपाली मुद्रा विदेशीन रोकिएन मात्रै, विदेशी मुद्रा पनि आम्दानी हुने भयो । किनभने प्रभु ग्रुपको कम्पनीले विदेशबाट नेपालमा मात्रै सामान ल्याउँदैन, यसले विश्वका कुनै पनि देशबाट कुनै पनि देशमा सामान ओसारपसार गर्छ । जसबाट विदेशी मुद्रा आर्जन गर्न समेत सम्भव भयो ।

तेस्रो, नेपाली व्यवसायीले आफ्नै देशको कम्पनीको कन्टेनरबाट सामान आयात तथा निर्यात गर्दा एकातिर सस्तो पर्ने भयो भने अर्कोतिर छिटो सेवा पाइने भयो । कम्पनीका अनुसार अन्य विदेशी कम्पनीका कन्टेनरले ४५ दिन लगाउने सामान प्रभु ग्रुपका कन्टेनरबाट १५ देखि २५ दिनभित्र नेपालमा ल्याइसक्छ । ल्याइ सकेको पनि छ ।

चौथो, यसले एकातिर मुलुकमा रोजागरीको सिर्जना गर्यो भने अर्कोतिर व्यवसायको नयाँ क्षेत्रका लागि सम्भावना जगाउन र अन्य कम्पनीका लागि व्यवसाय विस्तारको क्षेत्रमा ढोका समेत खोलिदिएको छ ।

पाँचौ, छिमेकी मुलुक भारतले वार्षिक ४०० मिलियन डलर सिपिङ कार्गोमा खर्च गर्छ । त्यसमध्ये नेपाली कम्पनीले २ प्रतिशत मात्रै बजार हिस्सा ओट्न सक्यो भने मात्रै पनि भारतसँगको व्यापार घाटा कम गराउन सकिने कम्पनीको विश्वास छ ।

नेपाल आउनसक्छ ८० वटा कन्टेनर बोक्ने जहाज

कलकत्ताबाट पटाना र कालुघाट हुँदै नेपालको त्रिवेणी र कोशी नदीसम्म चल्ने पानीजहाजले ५० देखि ८० कन्टेनर बोक्ने क्षमताका हुन्छन् । त्यहाँभन्दा ठूलो क्षमताका पानीजहाज चलाउन योबाटोमा सकिँदैन । भट्टचन यसलाई वातावरणीय र आर्थिक हिसाबले राम्रो भएको बताउँछन् ।

‘५० वटा मात्रै कन्टेनर सानो पानीजहाजबाट नेपाल ल्याउन सकियो भने ५० वटा ट्रक कम हुनु हो भने यसले वातावरणीय र आर्थिक दृष्टिले सकरात्मक प्रभाव पर्छ,’ उनले भने ।

२ वटा साना पानीजहाज किन्ने योजना

भारतको कलकत्तादेखि नेपालसम्मको पानीजहाजको बाटोका लागि अहिले विश्व बैंकले ८०० मिलियन डलर खर्च गरिरहेको छ । यसको फाइदा नेपाली पानीजहाजका लागि पनि हुने उनको विश्वास छ । उक्र रुट बनेको खण्डमा २ वटासाना पानीजहाज किन्ने भट्टचनले बताए।

प्रभु ग्रुपले कम्पनी शुरु गरिसकेपछि नेपालमा कम्पनीकै सक्रियता र सुझावका आधारमा पानीजहाज कार्यालय स्थापना भयो ।

नेपालमा पानीजहाज दर्ता गर्ने सिस्टम नै नभएको अवस्थामा प्रभु ग्रुपको यो शुरुवातले ओलीको सपनालाई साकार बनाउने लक्ष्यमा कम्पनीले एककदम अगाडि सार्यो ।

आफ्नो सपनामा साथ दिएको देखेपछि भट्टचनसँग ओली अत्यन्तै खुसी भए । ओली भट्टचनको मन जिते, भट्टचनले ओलीको ।

उनीहरुको दोस्ती जम्दै गयो । ओलीसँग गहिरो सम्बन्ध हुनुअघि नै भट्टचनको राष्ट्रपति भण्डारीसँग गज्जबको सम्बन्ध थियो ।

मंगलबार पोखरामा भएको एमालेको कार्यक्रममा ओली र भट्टचन एउटै मञ्चमा देखिए । र, त्यहाँ ओलीले भट्टचनको खुलेरै प्रसंसा गरे ।

‘हामीले समुद्र पनि हाम्रो हो, हामी नेपाली झन्डा फहराउँदै पानीजहाज चलाउन सक्छौं भन्दा यहाँका आफूलाई बुझक्कड ठान्ने अजासु अर्थात् अति जान्ने सुन्ने तर केही पनि नजान्नेले मजाक उँडाए,’ ओलीले भट्टचनतिर देखाउँदै भने, ‘अहिले यहाँ हामीसँगै बसिरहनु भएको छ देवीप्रकाश भट्टचन । उहाँले नेपालको झन्डा राखेर १२ १३ सय कन्टेनर समुद्रमा चलाइरहनु भएको छ । उहाँले नै पानीजहाज पनि चलाउन खोज्नुभएको छ । तर, यो सरकारले स्वीकृति दिइरहेको छैन । मंसिर ४ गतेपछि एमालेको सरकार बन्छ र उहाँलाई पानीजहाज चलाउने स्वीकृति दिन्छ ।’

ओलीले यसो भनिरहँदा छेवैमा रहेका भट्टन मुस्कुराइरहे भने कार्यक्रममा उपस्थितहरुले परर ताली बजाएर समर्थन जनाए ।

यसरी पानीजहाज चलाउने सपनामा साथ दिएर प्रभु ग्रुपका अध्यक्ष भट्टचनले ओलीको मन यतिसम्म जिते कि उक्त सपनामा साथ दिएबापत ओलीले पनि भट्टचनलाई समानुपातिकतर्फको सांसदको उम्मेद्वार उपहारस्वरुप प्रदान गरेका छन् ।


क्लिकमान्डु