८ लाख ४२ हजार रुपैयाँबाट सुरु भएको नेपाल बैंकको कस्तो छ वित्तीय अवस्था ?



काठमाडौं । नेपाल बैंक नेपाल बैंक १९९४ साल कात्तिक ३० गते स्थापना भएको हो । सुरुमा १० जना लगानीकर्ताले ८ लाख ४२ लाख हजार चुक्ता पुँजीबाट सुरु गरेको बैंकको अहिले चुक्ता पुँजी १४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । स्थापनाको समयमा बैंकको निक्षेप १७ लाख थियो भने कर्जा लगानी १९ लाख थियो । अहिले (असार मसान्तसम्म) १ खर्ब ९६ अर्ब निक्षेप सङ्कलन गरी बैंकले १ खर्ब ७८ अर्ब कर्जा लगानी गरेको छ ।

स्थापनाको ८६ औं वर्षमा आइपुग्दा २२२ शाखामार्फत बैंकिङ सेवा दिइरहेको बैंकले जनाएको छ । बैंकले उक्त शाखासँगै १९८ वटा एटिएम, ४९ वटा एक्सटेन्सन काउन्टरमार्फत सेवाग्राहीलाई सेवा दिएको छ ।

बैंकले लगानीकर्तालाई आकर्षक प्रतिफल पनि दिइरहेको छ । बैंकका सबै वित्तीय सूचकहरू स्वस्थ र सन्तुलित रहेको बैंकले जनाएको छ । बैंकको प्रत्येक वर्ष सञ्चालन मुनाफा बढिरहेको छ ।

बैंकको जगेडा कोषमा १७ अर्ब ८२ करोड रुपैयाँ रहेको छ भने ३५ अर्ब बढी नेटवर्थ रहेको छ । प्रसस्त अचल सम्पत्ति, शाखा निक्षेप, आधार दरको न्यूनता, स्प्रेड दर व्यवस्थापन, ब्याजदरको सन्तुलित उतारचढाब, खराब कर्जा व्यवस्थापनलगायतका सूचकहरूमा समेत बैंक दरिलो देखिन्छ । हरेक वित्तीय परिसूचकहरुका आधारमा नेपाल बैंक नेपालको बैंकिङ क्षेत्रको एउटा सशक्त बैंकको रूपमा उभिएको बैंकको दाबी छ ।

नेपालमा बैंकिङ प्रणालीको सुरुवात र विकासकर्ताका हिसाबले पनि नेपाल बैंकको भूमिका महत्वपूर्ण मानिन्छ । नेपालमा औपचारिक बैंकिङ सेवाको सुरुवात मात्र नभई स्वदेशी मुद्रा प्रचलनमा सहजता ल्याउने श्रेय पनि नेपाल बैंकलाई नै जान्छ ।

भारतीय रुपैयाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले खेलेको भूमिका महत्वपूर्ण छ । १९९४ देखि २०१३ सालसम्म देशको केन्द्रीय बैंकको भूमिकासमेत निर्वाह गरेको नेपाल बैंक नेपालको वित्तीय क्षेत्रमा एउटा छुट्टै अनुभव बोकेको बैंक हो ।

हाल नेपाल बैंकको २३ लाखभन्दा बढी ग्राहक छन् । ठूला उद्यमी व्यवसायीदेखि सामान्य आर्थिक स्तर भएका नेपालीजनको प्राथमिकतामा नेपाल बैंकले सेवा दिँदै आएको जनाएको छ । यो अवधिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धेरै क्षेत्रमा सहभागिता जनाएको छ । कैयौँ समाज सेवाका कार्यहरूमा बैंक निरन्तर साथ दिइरहेको छ ।

त्यसैगरी हरेक नेपालीहरूमा वित्तीय ज्ञान एवं चेतना प्रदान गर्दै वित्तीय पहुँचको विस्तार एवं वित्तीय समावेशीकरणमार्फत आर्थिक समृद्धिको आधारशिला निर्माणमा टेवा प्रदा गर्न देशव्यापी रूपमा वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गरिरहेको बैंकले जनाएको छ । प्राकृतिक प्रकोप, महामारीलगायतका विभिन्न सङ्कटहरूमा अग्रपङ्क्तिमा रही बैंकले अतुलनीय रूपमा सामाजिक उत्तरदयित्व पूरा गर्ने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको जनाएको छ ।

बैंकले साना मझौला एवं ठूला सबै खाले उद्यम र परियोजनामा बैंकले ऋण लगानी गरेको छ । कृषि, पर्यटन, जलविद्युत्लगायत सरकारको नीतिअनुसार प्राथमिकता प्राप्त क्षेत्रमा बैंकको लगानी उल्लेख्य छ । युवा स्वरोजगारका क्षेत्रमा होस् वा महिला उद्यमशिलता, शैक्षिक बेरोजगार व्यक्तिहरूलगायत विदेशबाट फर्किएका सीपयुक्त व्यक्तिहरूलाई सक्षम एवं आत्मनिर्भर बनाउन सरकारले दिएको सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई समेत बैंकले प्रभावकारी रूपमा कार्यान्वयनसमेत गर्दै आइरहेको जनाएको छ ।

बैंकले परम्परागत बैकिङबाट आधुनिक बैकिङमा सफलताका साथ ठूलो छलाङ मारेको छ । सम्पूर्ण आधुनिक बैकिङ सेवाका रूपमा रहेका मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, अनलाइन बैंकिङ्, डेबिट कार्ड, क्रेडिट कार्ड, सि–आस्वा, क्युआरकोड लगायतका अन्य डिजिटल बैंकिङ सुविधाहरूले बैंकको सेवाप्रवाहलाई थप गतिशील, सहज र प्रतिस्पर्धी बनाएको छ ।

बैंकले आधुनिक बैंकिङ सेवाको साथमा सुरक्षित निक्षेप, सुलभ र सहज कर्जा, भरपर्दो रेमिट्यान्स, छिटोछरितो र सुरक्षित प्रतीतपत्र, बैंक जमानतलगायत ट्रेड फाइनान्सका थुप्रै सुविधाहरू प्रदान गरिरहेको छ । तसर्थ नेपाल बैंक आधुनिक प्रविधिमैत्री बैंकका रूपमा पूर्णतः स्थापित भइसकेको छ ।

नेपाल बैंकमा हाल करिब ३३ सयको सङ्ख्यामा कर्मचारी कार्यरत छन् । बैंकमा कार्यरत कर्मचारीहरूको औसत उमेर ३५ वर्ष रहेको छ भने महिला र पुरुष कर्मचारीहरूको सङ्ख्यामा उचित सन्तुलन रहेको बैंकको दाबी छ ।


क्लिकमान्डु