भदौमा बैंकको बिजनेशः निक्षेपमा राष्ट्रिय वाणिज्य बैंक, कर्जामा एनआईसी एशिया फस्ट




काठमाडौं । भदौ महिनामा बैंकहरुको निक्षेप ५२ अर्ब १५ करोड रुपैयाँले बढ्दा कर्जा लगानी १३ अर्ब ७५ करोड रुपैयाँले बढेको छ ।

लगानीयोग्य (तरलता) पुँजी अभाव भएकाले बैंक तथा वित्तीय संस्थाले निक्षेप भन्दा कम कर्जा प्रवाह गरेका हुन् ।
नेपाल बैंकर्स संघका अनुसार भदौमा वाणिज्य बैंकहरुको निक्षेप ५२ अर्ब १५ करोड रुपैयाँले बढेर ४४ खर्ब ८५ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । साउनमा भने वाणिज्य बैंकहरुको निक्षेप ४४ खर्ब ३३ अर्ब ३७ करोड रुपैयाँ थियो ।

भदौ महिनामा २० वटा बैंकले निक्षेप बढाउँदा ६ वटा बैंकको भने घटेको छ । भदौमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा बढी निक्षेप बढाएको छ ।

बैंकको निक्षेप १५ अर्ब ४५ करोड रुपैयाँले बढेको हो । यस्तै धेरै निक्षेप बढाउने दोस्रो स्थानमा पनि सरकारी बैंक रहेको छ । सरकारको बहुमत सेयर स्वामित्व रहेको नेपाल बैंकको निक्षेप ७ अर्ब ९५ करोड रुपैयाँले बढेको छ ।

यस्तै एभरेष्ट बैंकले ५ अर्ब ७१ करोड, नबिल बैंकले ५ अर्ब १९ करोड, कुमारी बैंकले ४ अर्ब ६० करोड रुपैयाँले निक्षेप बढाएका छन् ।

भदौमा सानिमा बैंकको सबैभन्दा बढी ३ अर्ब ४० करोड रुपैयाँले निक्षेप घटेको छ । त्यस्तै एनसीसी बैंक २ अर्ब ६ करोड, सेञ्चुरी कमर्शियल बैंकको १ अर्ब ४८ करोड, प्रभु बैंक १ अर्ब ५ करोड, सिभिल बैंक ६५ करोड र सिद्धार्थ बैंक ६१ करोड रुपैयाँले निक्षेपमा गिरावट आएको छ ।

भदौमा १७ बैंकले बढाए कर्जा, ९ बैंकले घटाए
भदौ महिनामा १७ वटा बैंकहरुले १३ अर्ब ७५ करोड रुपैयाँले कर्जा बढाएका छन् । ९ वटा बैंकको कर्जा भने घटेको छ । भदौ महिनामा सबैभन्दा बढी कर्जा बढाउनेमा एनआईसी एशिया बैंक अगाडि छ ।

एनआईसी एशियाले ५ अर्ब ७३ करोड रुपैयाँले कर्जा बढाएको छ । यस्तै एनएमबि बैंकले ४ अर्ब ३२ करोड, नबिल बैंकले ३ अर्ब ३८ करोड रुपैयाँले कर्जा बढाएका छन् ।

भदौमा ९ वटा बैंकले कर्जा घटाएका छन् । बैंक अफ काठमाण्डूको १ अर्ब ३४ करोड, सेञ्चुरी बैंकको ५ अर्ब ५६ करोड, सिभिल बैंकको ३९ करोड, कुमारी बैंकको १ अर्ब ४७ करोड, लक्ष्मी बैंकको ८६ करोड, नेपाल बैंकको १ अर्ब ३४ करोड, एनसीसी बैंकको ३ अर्ब ८७ करोड, प्राइम बैंकको २२ करोड, राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब ६४ करोड रुपैयाँले कर्जा घटेको छ।


क्लिकमान्डु