‘अडानी ग्रुप’को पहिलो पुस्ताका गौतम अडानी कसरी बने विश्वकै दोस्रो नम्बरको धनी ?



एजेन्सी । केही समय यता भारतीय व्यावसायी गौतम अडानीको सम्पत्ती उकालो लागेको लागेकै छ । शुक्रबारमात्रै उनको सम्पत्ती १५४.७ बिलियन अमेरिकी डलर पुग्यो । उनको सम्पत्तीमा भएको यो बृद्धिसँगै उनी संसारकै दोस्रो धनी व्यक्ति पनि बने । फाब्र्सकाअनुसार अडानीले अमेजोनका मालिक जेफ बेजोस र लुइस भिटनका मालिक बर्नाड अर्नल्टलाई उछिन्दै दोस्रो धनी व्यक्ति बनेका हुन् ।

गत महिना अडानीले विश्वभरको धीनहरुको सुचिमा तेस्रो स्थान बनाएका थिए । तर, अमेजोनका मालिक बेजोस र टेस्ला तथा स्पेस एक्सलगायतका कम्पनीका मालि एलन मस्क उनीभन्दा अघि थिए । हाल बेजोसलाई पछि पार्दै अडानी दोस्रो नम्बरमा आएका छन् । पिवश्वभरको धनी व्यक्तिमा भने मस्क नै रहेका छन् । उनको कुल सम्पत्ती २७३.५ बिलियन अमेरिकी डलर रहेको छ ।

अगाडीको सम्पत्ती पछिल्लो समय २.८५ प्रतिशले बढेको छ । अडानी ग्रुपको पहिलो पुस्ताका व्यावसायी रहेका गौतम अडानीले पूर्वाधार, उत्खन्न, ऊर्जालगायतका विभिन्न क्षेत्रमा लगानी गरेका छन् । पछिल्लो पाँच वर्षमा अडानी ग्रुपले एयरपोर्ट, सिमेन्ट, डाटा सेन्टर, ग्रिन हाइड्रोजन, पेट्रो केमिकल रिफाइनिङ, सडक तथा सोलर ब्याट्री उत्पादन लगायतका क्षेत्रमा अर्बौं लगानी गरेको छ ।

हिरा छान्दै व्यावसायमा कदम

गौतम अडानीको चर्चा अहिले भइरहेको भएतापनि उनी पहिल्यैबाट व्यावसायिक विचार लिएर काम गरिरहेका व्यक्ति हुन् । भारतको गुजरातमा जन्मिउका गौतमका बुबा शान्तिलाल टेक्स्टायलको सानोतिनो व्यावसाय गर्ने व्यापारी थिए । गौतम यहि व्यापारिक छत्रछाँयामा हुर्किए ।

गौतमले अहमदावादमा आफ्नो पढाई सकेपछि कर्मशमा ब्याचलर्स गर्नका लागि गुजरात विश्वविद्यालयमा भर्ना भएका थिए । तर, विश्वविद्यालयमा उनले दोस्रो वर्षदेखि पढाईलाई निरन्तरता दिएनन् । विद्यालयबाट छाडेर उनी व्यावसायतर्फ मोडिए । तर, उनको यो मोड बुबाको व्यावसायलाई बढाउने वा साथ दिने थिएन ।

युवावस्तामा नै अडानी मुम्बई आएर हिरा छान्ने काम गर्न थाले । उनलाई व्यावसायको बजार हेर्नु थियो । व्यावसाय कसरी हुन्छ, कस्ता कस्ता कुराहरुले फरक पार्छन भन्ने कुरामा आफ्नो रुचिलाई उनी थप परिस्कृत बनाउँदै गए ।
१९७८ मा मुम्बई आएका उनले १९८१ मा दाई महासुकभाई अडानीको प्यास्टिकको व्यावसायमा काम गर्न थाले । प्लास्टिक ¥यापिङ कम्पनीको सुरुवात गरेका थिए गौतमका दाईले । तर, कम्पनीका लागि पर्याप्त कच्चा पदार्थको अभाव थियो ।

उनलाई व्यावसायको सञ्चालनतर्फको विभागको जिम्मा दिइएको थियो । अनेक हन्डरपछि त्यहि कम्पनी विश्वव्यापी रुपमा पोलिभिनल क्लोराइड (पिभिसी) आयात गर्ने कम्पनी बनेर अडानीको व्यापारको ढोका खोल्ने कम्पनी बनेको थियो ।

अडानी दाजुभाईको यो कम्पनी १९८५ मा शुरु भएको थियो । सानो मात्रामा यसले विदेशबाट पिभिसीका सामग्रीहरु ल्याउँथ्यो । १९८८ मा अडानीले अडानी एस्पोर्टस नामक कम्पनीको शुरुवात गरे, जुन अहिले अडानी इन्टरप्राइजेज बनेको छ । सुरुवातमा कृषि र उर्जासँग सम्बन्धित क्षेत्रमा काम गर्न बनेको यो कम्पनी अहिले अडानी ग्रुपको प्रमुख कम्पनी हो ।

१९९१ मा भारतमा भएको आर्थिक उदारिकरणका नीतिहरुले अडानीको कम्पनीलाई फाइदा पुर्यायो । उनले आफ्नो व्यावसाय पिभिसीमा मात्रै नभएर फलाम, टेक्सटाइल र कृषिजन्य सामग्रीको व्यापारमा बढाएका थिए । १९९४ मा गुजरातको सरकारले मुन्द्रा बन्दरगाहको व्यवस्थापन तथा सञ्चालनका लागि ठेक्का आह्वान गरेको थियो । र यो ठेक्का अडानीकै कम्पनीले पायो ।

त्यसपछि भने उनीहरुको भाग्य चम्कियो । १९९५ भन्दा अघिसम्म मुन्द्रा पोर्ट एण्ड स्पेसियल इकोनोमिक जोनले सञ्चालन गरिरहेको बन्दरगाहको काम अब अडानी पोर्टस एण्ड एसइजी (एप्सेज)ले गर्न थाल्यो । अहिले यो कम्पनी भारतमा विभिन्न बन्दरगाह सञ्चालन गर्ने कम्पनी बनेको छ । मुन्द्राको बन्दरगाह भारतको सबैभन्दा ठूलो निजी क्षेत्रको बन्दरगाह हो, जहाँ वर्षेनी २१० मिलियन टन काग्रो व्यवस्थापन हुनेगर्छ ।

राजनीतिक आडमा साम्राज्य विस्तार

गौतम अडानीको व्यावसायिक सुरुवात संघर्षपूर्ण थियो । हिरा छान्नेदेखि आफ्नो कम्पनीका लागि आवश्यक प्लास्टिकको अभाव भोग्नुपर्ने अवस्थाबाट उनीहरु गुज्रिए । तर, कालान्तरमा सबै कुराहरुको अवस्था फेरिँदै गयो ।
फर्चुन इण्डिया म्यागजिनले २०११ मा नै अडानीलाई दोस्रो धिरुभाई अम्बानीको रुपमा उदाउने भनेको थियो । धिरुभाई भारतमा व्यावसायिक परिदृश्यको सिर्जना गर्ने अग्रणी थिए । अम्बानीकै पुस्ताबाट अहिलेको अम्बानी ग्रुपको सुरुवात भएको थियो ।

अडानी आफ्नो पुस्ताको पहिलो व्यावसायी हुन, जो यो स्तरमा उठिरहेका छन् ।

र, यो सबैको पछाडिको एउटा कारण उनले अपनाएको राजनीतिक बाटो पनि हो । उनी राजनीतिक आडमा आफ्नो साम्राज्य विस्तारमा लागेका छन् । भारतीय जनता पार्टी निकट रहेका गौतम अडानीको राजनीतिक सम्बन्ध पनि उनको आर्थिक उदयको प्रमुख कारण हो ।

अडानीले सन् २०१४ मा आफ्नै जहाजमा राखेर नरेन्द्र मोदीलाई गुजारतबाट दिल्लीसम्म ल्याएका थिए । उनी र भाजपा पार्टीबीचको सम्बन्धबारे सार्वजनिक रुपमा देखिएको यो नै पहिलो घटना थियो ।

अडानीले २०२२ मा मात्रै आफ्नो सम्पत्तीमा ६०.९ बिलियन बढाएको टायम्स अफ इण्डियाले जनाएको छ । ब्लुमबर्ग म्यागजीनकाअनुसार अडानीसँग अहिले भारतकै सबैभन्दा ठूलो बन्दरगाह सञ्चालकको परिचय छ । सँगै उनी थर्मल कोइला उत्पादन र कोइला व्यापारमा पनि शीर्ष स्थानमा छन् ।

१९९४ मा बन्दरगाहमार्फत् सुरु भएको अडानीको साम्राज्य २००९ सम्म आइपुग्दा विद्युत् उत्पादनसम्म पुगेको थियो । यो बीचमा उनले कर्मसियल बन्दरगाह सञ्चालन गर्नेदेखि ५ सयभन्दा धेरै जमिनदारहरुसँग सम्बन्ध बनाएर उनले रेल र सडकबारे सम्बन्ध विस्तार गरेका छन्।

मुन्द्रा बन्दरगाहको वेबसाइटकाअनुसार १९९७ मा अडानीलाई केही व्यक्तिहरुले अपहरण गरेर फिरौतीसम्म मागेका थिए । आतंकवादीहरुले भारतको ताज होटलमा हमला गर्ने क्रममा पनि उनी बन्धक बनेको उल्लेख छ ।

अडानीको साम्राज्य विस्तारको समयक्रम हेर्दा १९८८ मा उनको पहिलो कम्पनी अडानी इन्टरप्राइजेजको स्थापना भएको देखिन्छ । त्यस्पछि १९९४ मा उनले आफ्नो कम्पनीको कार्गो व्यावसायलाई सम्हाल्नका लागि एउटा बन्दरगाह स्थापना गर्ने अनुमति पाएका थिए । १९९७ मा उनलाई अपहरण गरिएको थियो । २००७ मा मुन्द्रा बन्दरगाह र स्पेसल इकोनोमिक जोनले भारतमा पनि कारोबार सुरु गरेको थियो ।

२००८ मा मुम्बईको ताज होटलमा भएको हमलामा अडानी जसोतसो बचेका थिए । २००९ मा अडानीले भारत पावर नामक कम्पनीको सुरुवात गरेका थिए, जसले विद्युतको क्षेत्रमा काम गरिरहेको छ । अडानीसाग हाल अडानी एयरपोर्टस नामक भगिनी कम्पनी पनि छ ।

अडानी ग्रुपको वेबसाइटमा राखिएअनुसार अडानी एयरपोर्टले भारतको अह्मदावाद, लखनाउ, मंगलुरु, जयपुर, गुहानी र थिरुभनाथपुरमका एयरपोर्टलाई अनुनिकिकरण र सञ्चालन गर्ने बताएको छ । यसमध्ये २०२० फेब्रुअरीमै कम्पनीले तीन एयरपोर्टको सुधार र आगामी विषय वर्षको सञ्चालनका लागि अनुमति लिइसकेको छ ।

नवउर्जामा विशेष लगाव

केही दशकअघिसम्म तेल व्यावसाय सबैभन्दा ठूलो मानिन्थ्यो । अहिले नवउर्जा र डाटाको व्यावसाय यो दशकको ‘तेल’ भएको धेरैले विश्लेषण गरेका छन् ।

अडानीले यि दुवै क्षेत्रमा विशेष लगाव राखेर काम गरिरहेका छन् । उनको कम्पनीले सौर्य उर्जा र सम्बद्ध उपकरणको उत्पादनमा प्रवेश गरेको छ । यी उपकरणहरुमा प्रयोग हुने सिलिका भारतमा प्रचुर मात्रामा पाइने भएकाले उर्जा र त्यसका लागि आवश्यक अन्य सामग्रीको आयात गर्नुपर्ने अवस्था नरहने उनले बताएका छन् ।

अडानीको नवउर्जाको क्षेत्रमा काम गर्ने अडानी ग्रिन इनर्जीले २१ सेप्टेम्बर २०१६ मा भारतलाई सबैभन्दा ठूलो सोलार प्लान्ट पनि दिएको थियो । उक्त प्लान्ट भारतको तमिलनाडुमा छ, जसले ६४८ मेगावाट विद्युत उत्पादन गर्छ । यसमा अडानी समूहले ४ हजार ५५० करोड भारु लगानी गरेको थियो ।

बिजनेश स्टेन्डर्डकाअनुसार अडानी ग्रुपले नवउर्जा तथा ग्रीन इनर्जीमा ७० बिलियन अमेरिकी डलर लगानी गर्ने बताएको छ । गत जुलाईमा अडानीले यस्तो बताएका थिए । उनले भनेका थिए, ‘यो एउटा यस्तो परविर्तन हो, जसले भारतको उर्जा क्षेत्रमा नयाँ क्रान्ती ल्याउने छ ।’

नवउर्जाप्रति अडानको विशेष लगाव पनि उनको आर्थिक उदयको एउटा प्रमुख कारणमध्ये हो ।

धेरैले अडानी अब टेलिकम क्षेत्रमा पनि प्रवेश गर्नसक्ने अनुमान गरिरहेका छन् । अडानीले २०२२ मा भारतमा भएको फाइभ जीको अनुमतिका लागि हुने लिलामीमार्फत् टेलिकम क्षेत्रमा प्रवेश गर्ने धेरैको अनुमान थियो । अडानी डेटा नेटवर्कले विश्वव्यापी सञ्चालनका लागि आवश्यक अनुमति पनि लिएको भारतीय अधिकारीहरुलाई उदृत गर्दै इकोनोमिक टायम्सले लेखेको छ ।

तर, यी हुँदा हुँदै पनि कम्पनीले उपभोक्तासँग सम्बन्धित क्षेत्रमा आउने कुनै सोच नरहेको बताएको छ । यसबीच कम्पनीले २१२ करोडमा ४०० मेगाहर्जको स्पेक्ट्रम किनेको छ । जसमध्ये गुजरात र मुम्बाईका लागि एक सय मेगाहर्ज र आन्द्र प्रदेश, कर्नाटक, राजस्थान र तमिलनाडुका लागि ५० मेगाहर्ज छुट्याइएको छ ।

अडानीको उदय र विश्वभरका धनीहरुको विषयमा उनको शिर्ष स्थान भारतको एतिहासिक घटना हो । नयाँ समयको मागअनुसारको उत्पादन, बन्दरगाह र एयरपोर्ट क्षेत्रमा पकड, नव उर्जामा वर्चश्वजस्ता पक्षहहरुले अडानीको सम्पत्ती थप बढ्ने अनुमान गरिएको छ । सायद, उनी विश्वकै धनी व्यक्ति पो बन्लान कि !


क्लिकमान्डु