बैंकबाट ऋण लिनेको खर्च ३७%ले बढ्यो, ब्याजदर कोभिडअघिकै अवस्थामा



काठमाडौं । बैंकबाट कर्जा लिनेहरुकाे लागत एकवर्षमा ३७ प्रतिशतले बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको साउन महिनामा बैंकहरुको औसतमा कर्जाको ब्याजदर ८.४८ प्रतिशत थियो ।

तर आर्थिक वर्षको असार मसान्तमा आइपुग्दा कर्जाको ब्याजदर बढेर ११.६२ प्रतिशतसम्म पुगेको छ । जुन साउन महिनाको तुलनामा ३.१४ प्रतिशत बिन्दुले बढी हो ।

एकवर्ष अगाडि साउन महिनामा ऋण लिनेले तिर्ने ब्याजदर औसत ८.४८ प्रतिशत थियो । अहिले औसतमा कर्जाको ब्याजदर ११.६२ प्रतिशत हुँदा लागतमात्रै ३७ प्रतिशतले बढेको छ । एकवर्ष अगाडि कुनै ऋणीको ब्याजमा मात्रै १०० रुपैयाँ खर्च हुन्थ्याे भने अहिले त्यो बढेर १३७ रुपैयाँ पुगेको छ ।

नेपाल बैकर्स संघका अध्यक्ष अनिल उपाध्याय निक्षेपको लागत बढेका कारण बैंकहरुले कर्जाको ब्याजदर बढाएको बताउँछन् ।

‘कर्जामा मात्रै होइन बैंकहरुले निक्षेपमा दिने ब्याजदरसमेत बढाएका छन्,’ उनले भने, ‘निक्षेपको ब्याजदर बढेपछि स्वभाविक रुपले कर्जाको ब्याजदर बढेको हो ।’

गत आर्थिक वर्षको साउन महिनामा बैंकहरुले निक्षेपमा दिने औसत ब्याजदर ४.७६ प्रतिशत थियो । तर असार मसान्तमा आइपुग्दा निक्षेपको औसत ब्याजदर ७.४१ प्रतिशत पुगेको छ । एकवर्षमा निक्षेपको ब्याजदर २.६५ प्रतिशत बिन्दुले बढेको छ ।

गत आर्थिक वर्षको साउन महिनामा बैंकहरुले निक्षेपमा दिने औसत ब्याजदर ४.७६ प्रतिशत थियो । असार मसान्तमा आइपुग्दा निक्षेपको औसत ब्याजदर ७.४१ प्रतिशत पुग्यो । एकवर्षमा निक्षेपको ब्याजदर २.६५ प्रतिशत बिन्दुले बढेको छ ।

बैंकहरुको निक्षेपमा ब्याजदर बढाएसँगै कर्जाको न्यूनतम लागतदर समेत बढेको छ । एकवर्ष अगाडि ६.८६ प्रतिशत रहेको कर्जाको न्यूनतम आधारदर(बेसरेट) असार मसान्तमा ९.५४ प्रतिशत पुगेको छ ।

उद्यमी तथा व्यवसायीहरु भने बैंकहरुले निक्षेपको लागतको कारणमात्र नभएर अत्यधिक ब्याजदर बढाएको बताउँछन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा ब्याजदर वृद्धिको असर बजारमा मूल्य वृद्धिमा परेको बताउँछन् ।

‘बैंकहरुले अत्यधिक बढाएको ब्याजदरका कारण यसको चाप बजारमा परेको छ, उपभोक्ताले बढी मूल्य तिर्नुपरिरहेको छ,’ गोल्छाले भने ।

बैंकको ब्याजदर वृद्धिले नियमित आम्दानी भएका तथा बैंकको ऋण लिएर उपभोग्य कर्जा लिएकाहरु बढी मारमा परेका छन् । उदाहरणका लागि एकवर्ष अगाडि घर बनाउन तथा किन्नका लागि ऋण लिन ब्याजदर औसतमा ९.२४ प्रतिशत थियो ।

कुनै व्यक्तिले गतवर्ष साउनमा बेसरेट अनुसार ब्याजदर परिवर्तन हुने कर्जा लिएको थियो भने अहिले त्यो कर्जाको ब्याजदर ११.६२ प्रतिशतले बढेको छ । घर खरिदका लागि सो व्यक्तिले तिर्ने ऋणको ब्याजदर मात्र २.३८ प्रतिशत बिन्दुले बढेको छ । लागतको हिसाब गर्दा २५.७५ प्रतिशतले ब्याजको लागत बढेको छ ।

एकवर्ष अगाडिको तुलनामा २५ प्रतिशतले आम्दानी नबढ्नेलाई अहिले घरका लागि लिएको ऋणको ब्याज तथा किस्ता तिर्न मुस्किल परेको छ । यस्तै अवस्था गाडी किन्नेका लागि पनि छ ।

एकवर्ष अगाडि साउन महिनामा बैंकहरुले गाडी किन्नका लागि दिने कर्जाको ब्याजदर ९.७० प्रतिशत थियो । अहिले यसको ब्याजदर ११.८९ प्रतिशत पुगेको छ । एकवर्षको समयमा गाडी किन्न बैंकलाई तिर्ने ब्याजदर २.१९ प्रतिशत बिन्दुले बढेको छ । गाडी किन्ने व्यक्तिको ब्याज लागतमात्र २२.५७ प्रतिशतले बढेको छ ।

नेपाल बैकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल नियमित आम्दानी भएका व्यक्तिलाई बैंकको ब्याजदर बढ्दा बढी मार पर्ने बताउँछन् ।

‘नियमित आम्दानी हुने र त्यो आम्दानी एकवर्षमा नबढ्ने व्यक्तिहरु अहिले बैंकको ब्याजदर बढ्दा मारमा परेका छन्,’ दाहालले क्लिकमाण्डूसँग भने ।

कति व्यक्तिको आम्दानी नबढेको तथा ब्याजदर बढेको कारण ऋण तिर्नसमेत नसक्ने स्थिती सिर्जना भएको छ । यसले बैंकहरुमा खराब कर्जाको अनुपात बढाउने दाहाल बताउँछन् ।

कोभिडअघिको समयमा पुग्यो कर्जाको ब्याजदर

कर्जाको ब्याजदर अब कोभिड अगाडिको समयमा पुगेको देखिएको छ । २०७६ सालको चैतमा बैंकले कर्जामा लिने औसत ब्याजदर ११.७७ प्रतिशत थियो ।

चैत महिनामा सरकारले कोभिड नियन्त्रणका लागि लकडाउन गर्‍यो । त्यसपछि २०७७ साल वैशाखमा कर्जाको ब्याजदर १०.९९ प्रतिशतमा घट्यो । २०७७ वैशाखदेखि २०७८ साल असारसम्म हरेक महिना कर्जाको ब्याजदर करिब घटेको देखिन्छ । २०७८ साल साउनदेखि भने कर्जाको ब्याजदर बढ्दै गएको छ ।

गत असार मसान्तमा ११.६२ प्रतिशतमा कर्जाको ब्याजदर पुगेको थियो । कोभिडका कारण लकडाउन हुँदा आर्थिक क्रियाकलाप बन्द हुँदा कर्जाको माग थिएन ।

आयात नभएको र औपचारिक प्रणालीबाट आएको रेमिट्यान्सले शोधानान्तर बचत हुँदा बैंकिङ प्रणालीमा पर्याप्त तरलता थियो । जसका कारण बैंकहरुले ऋणको ब्याजदर घटाएका थिए । मागमा भएको वृद्धिले आयात बढेसँगै शोधानान्तर घाटामा जान थालेपछि कर्जाको ब्याजदर कोभिड अगाडिको स्थितिमा पुगेको हो ।


क्लिकमान्डु