अरेञ्ज बल जन्माएका विद्यानन्दले उडुस र साङ्ला मारेर कमाउँछन् डेढ करोड




काठमाडौं । कतिपयले उनको नम्बर मुसा भाइ भनेर मोबाइलमा सेभ गरेका छन् । धमिरा भाइ, उडुस भाइ र साङ्ला भाइ नाम राख्ने पनि धेरै छन् ।

अनेक परिचय बोकेका विद्यानन्द झा मंगलबार भने लामखुट्टे नियन्त्रणका लागि काठमाडौं पुल्चोकतिर थिए । पुल्चोक र झम्सिखेल क्षेत्रमा उनका ठूला कर्पोरेट ग्राहक छन् ।

मंगलबार पुल्चोक क्षेत्रमा उनको टीम जेटइका बिल्डिङ र अपार्टमेन्टमा लामखुट्टे नियन्त्रणका लागि खटिएको थियो ।
सुन्तला रङको टिसर्ट लगाएका झाले घाँटीमा अरेञ्ज बल लेखिएको कार्ड झुन्डाएका थिए । उनी अरेञ्ज बल प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन् ।

फिल्डमा व्यस्त रहेका झाले केही समय निकालेपछि झम्सिखेलको कार्यालयमा हामीले उनलाई भेट्यौं । उनको मुख्य कार्यालय भने धुम्बाराहीमा छ । जहाँबाट उनको टीम काठमाडौंं भरी परिचालन हुन्छ ।

‘अरेञ्ज बल नाम नै युनिक छ, यसले मुख्य काम के हो ?,’ कुराकानीको शुरुवात गर्दै झालाई हामीले सोध्यौं ।

अरेञ्ज बलले तीन क्षेत्रमा कम गर्छ- किराकिरी नियन्त्रण (पेष्ट कन्ट्रोल), घर सरसफाइ र डिसइन्पेक्सन । तर, अरेञ्ज बल पेष्ट कन्ट्रोलमा अझ धेरै परिचित छ ।

काठमाडौंको अस्तव्यस्त सहरमा अनेक समस्या छन् । कति जागिर नपाएर हैरान भएका छन् । कति अझ धेरै पैसा कमाउन चाहन्छन् । कतिलाई आफ्नै व्यस्त जीवन समाल्न गाह्रो छ ।

कतिलाई भने साङ्ला, मुसा, उडुस, धमिरा, भुसुना, झिङ्गाले सताएर हैरान छन् । काठमाडौंका अनेक समस्याबीच यिनै किराकिरी नियन्त्रण र मार्ने काम हो विद्यानन्द झाको ।

‘घर वा व्यवसायीक क्षेत्रमा भुसुनादेखि सर्पसम्म, साङलादेखि मुसासम्मको नियन्त्रण गर्ने हाम्रो काम हो,’ झा भन्छन्, ‘हामीले किराकिरी, साङ्ला, भुसुना, सर्प, धमिरा, मुसा, उडुसले समस्या छ भने त्यसलाई नियन्त्रण गर्छौं ।’

कतिलाई यो काम एक व्यवसाय हो भन्ने पनि लाग्दैन ।

‘उडुस र साङ्ला मारेर पनि पैसा कमाइन्छ र ?,’ केही व्यक्तिले उनलाई सुनाएका पनि छन् ।

पछिल्लो ६ वर्षदेखि झा यही पेशामा छन् । अहिलेसम्मको अनुभवले भन्छ्, ‘पेष्ट कन्ट्रोल काठमाडौंको एक ठूलो व्यवसायको रुपमा फस्टाउँदै छ ।’

यो कुरा उनको कम्पनीले गरेको प्रगतिले पनि देखाउँछ । पकेटमा रहेको एक दुई हजार लगानी र २ जनाबाट शुरु भएको उनको व्यवसायले अहिले वार्षिक डेढ करोड रुपैयाँ आम्दानी गर्छ । आम्दानीको यो ग्राफ तीव्ररुपले बढिरहेको छ ।

जसको मार्जिन २२ प्रतिशतभन्दा धेरै हुने उनी बताउँछन् ।

उनीसँग अहिले ३५ जना कर्मचारी छन् । पार्टटाइमको पनि हिसाब गर्ने हो भने कामअनुसार ७० जनासम्म परिचालन हुन्छन् । मंगलबारमात्रै १९ ठाउँमा काम भइरहेको थियो । यो व्यस्तता हरेक दिन हुन्छ ।

पेष्ट कन्ट्रोल राम्रो व्यवसाय हो भनेर यसमा लागेका भने होइनन् झा ।

काठमाडौंमा हुर्किएका झा बसुन्धाराको हेराल्ड स्कुलपछि मोर्गन इन्टरनेसनल कलेज पढे । स्नातक पढ्न लागि रत्नराज्य लक्ष्मी क्याम्पसमा भर्ना भए । तर, पढाइलाई भने निरन्तरता दिएनन् । बीचैमा छाडिदिए ।

त्यहीबेला सन् २०१२ तिर उनी महाबौद्धको मोबाइल पसलमा काम गर्थे । त्यसको छेबैमा चिया पसल थियो । त्यहाँ चिया खाने साथीको जमघट हुन्थ्यो ।

चिया पसलको नजिकै एक विषादी पसल थियो । त्यहाँ उडुस, साङ्ला, मुसा, धमिरा र अन्य किराकिरी मार्ने विषादी लिन धेरै मान्छे आउँथे ।

त्यहाँ आउने कतिपय ग्राहकले साहुलाई भन्थे, ‘विषादी छर्कने मान्छे तपाईंको सम्पर्कमा छैनन्, पैसा दिनहुन्थ्यो ।’
त्यहीबाट उनलाई पहिलो पटक पैसा आउँछ भन्ने ‘क्लिक’ भयो ।

उनले गुगल गरे । पेष्टिसाइड एप्लिकेटरहरु हेरे । त्यहीबाट थाहा पाए, यस पेशालाई ‘पेष्ट कन्ट्रोल’ भन्दोरहेछ ।

‘त्यहीबाट मलाई पहिलो पटक पेष्ट कन्ट्रोलको आइडिया आएको थियो,’ झा भन्छन्, ‘यो काम गर्ने हो भने पैसा कमाइने रहेछ भन्ने लाग्यो ।’

त्यसपछि उनले ब्रिटिस काउन्सिलबाट यस पेशाको बारेमा केही भिडियो लिए । थप आइडिया आयो । पछि साथीसँग भारतको चन्डिगढ गएर पेष्ट कन्ट्रोलको बारेमा हेरे । सामान्य तालिम पनि लिए । यसबाट कसरी काम गर्न सकिने रहेछ भनेर बुझे ।
पछि काठमाडौंमा आएर एक ब्लग लेखे । त्यसपछि उनलाई फाट्फुट्ट खोजी हुनथाल्यो ।

घरहरुबाट उनलाई बोलाउन थाले । एक अर्को साथीलाई लिएर घरघरमा जान थाले । मान्छेहरु प्रायः साङ्ला र उडुस मार्न बोलाउँथे ।

एक सामान्य उपकरणबाट विषादी प्रयोग गरेर साङ्ला, उडुस नियन्त्रण गर्न थाले । कतिले धमिरा नियन्त्रणका लागि पनि बोलाउँथे ।

उनले पहिलो पटक थाहा पाए काठमाडौंमा धमिराको पनि समस्या रहेछ भन्ने ।

यसैगरी एक वर्ष बित्यो । आम्दानी पनि भयो ।

‘मलाई लाग्छ पहिलो वर्षको आम्दानी ६ लाख थियो,’ झाले भने ।

त्यसैबीच एक संस्थाबाट मुसा नियन्त्रणको काम आयो । घरघरमा काम गरिरहेको भए पनि कार्यालयहरुमा संस्थागतरुपमा काम गरेका थिएनन् ।

उनले तीन महिनाको सम्झौता गरे । पहिलो पटक उक्त काम गरेपछि पैसा लिनेबेलामा उक्त कार्यालयले बिल माग्यो ।
कम्पनी दर्ता गरेर बिल बनाउनु पर्छ भन्ने उनलाई थाहा थिएन । पैसा त जसरी पनि लिनु पर्यो ।

उनी कम्पनी रजिष्ट्रारको कार्यालय गए र भने, ‘पेष्ट कन्ट्रोलको कम्पनी दर्ता गर्नु छ सर, के गर्नुपर्ला ?,’ उनले भने ।

‘के हो यो पेष्ट कन्ट्रोल भनेको ?,’ उनीहरुले सोधे, ‘के के काम गर्छ ?’

‘उडुस, साङ्ला, मुसा, किराकिरी नियन्त्रण गर्ने काम हो,’ उनले बुझाउन खोजे ।

‘त्यसो हो भने कृषि अन्तर्गत कम्पनी दर्ता गर्नुस्, अनुदान पनि पाइन्छ,’ उनीहरुले भने ।

सन् २०१६ को जनवरीमा कृषि अन्तर्गत अरेञ्ज बल प्रालि कम्पनी दर्ता गरे ।

‘मलाई कम्पनीको नाम युनिक हुनुपर्छ भन्ने लागिरहेको थियो,’ झा भन्छन्, ‘त्यसैले युवा पुस्ताको मनमा बसोस् भनेर बाल्यकाल सम्झाउने गरी अरेञ्ज बल नाम राखेको हुँ ।’

त्यसपछि बिल बनाए । सामान्य स्ट्याम पनि बनाए र झोलामा राखेर हिँड्न थाले ।

कार्यालय स्थापना गरेर व्यवस्थित हुन फेरि अर्को एक वर्ष लाग्यो । जब उनी स्टार्टअप व्यवसायलाई सहयोग गर्ने संस्था काठमाडौं हबको सम्पर्कमा आए उनले थाहा पाए, यो एक स्टार्टअप हो र भविष्यका लागि राम्रो व्यवसाय पनि हो ।

‘उहाँहरुको सम्पर्कमा अएपछि म उद्यमी र उद्यमशिलताको बारेमा बुझेँ,’ झा भन्छन्, ‘मलाई अन्तरप्रेणाबाट पनि धेरै सहयोग भयो ।’

उनले उद्यमशिलता विकास सम्बन्धी तालिम पनि लिए ।

सफल उद्यमी हुनका लागि व्यवस्थित रुपमा योजनाबद्ध काम गर्नुपर्छ भन्ने बुझेपछि सन् २०१८ मा कार्यालय राखे । कार्यालय खोलेर काम गर्दासम्म उनीसँग ६ जना कर्मचारी पुगिसकेका थिए ।

काम गर्दैै जाँदा घर सरसफाइको कम पनि शुरु गरे । घरमा साङ्ला नियन्त्रणका लागि किचन सरसफाइ पनि चाहिन्थ्यो । घर सफाइबिना किराकिरी नियन्त्रण नहुने भएकाले ‘क्लिनिङ’ सेवा पनि जरुरी भएपछि शुरु गरेको उनी बताउँछन् ।

उनले घर कार्यालयदेखि ठूला बिल्डिङहरुमा ट्यांकी, कौसी, सिसा, सोफा, कार्पेट, मार्बल, टायल, ट्वाइलेट सफा गर्छन् ।

काठमाडौं महानगरपालिकामा नि:शुल्क ट्वाइलेट उपलब्ध गराएका होटल रेष्टुराँमा नि:शुल्क रुपमा एक पटकको लागि ट्वाइलेट सफा गरिदिन्छन् ।

भूकम्पको बेला उनले डिसइन्फेक्सनको काम पनि गरे । धेरै मान्छेहरु खाद्यान्न बोकेर जान्थे उनले टेन्टमा बसेका व्यक्तिलाई रोग नलागोस् भनेर एक संस्थासँग मिलेर डिसइन्फेक्सनको काम गेर ।

सन् २०१९ मा डेंगु नियन्त्रण क्याम्पियन पनि गरे । कोभिड–१९ पछि डिसइन्फेक्सनको काम व्यवसायीकरुपमा शुरु गरे । कुनै पनि ठाउँमा भाइरस फैलिएको छ भने त्यहाँ उपयुक्त विधिबाट डिसइन्फेक्सन गर्ने काम गर्छन् ।

उनको कमाइमध्ये ६० प्रतिशत पेष्ट कन्ट्रोलबाट आउँछ । ३० प्रतिशत सरसफाइ र १० प्रतिशत डिसइन्फेक्सनबाट भइरहेको छ ।

‘हामीले क्लिनिङ, क्लियर र केयर गर्छौं,’ उनी भन्छन् ।

उनीसँग विभिन्न बैंकहरु, हुवावे जस्ता ठूला मोबाइल कम्पनी, डब्लुएचओ, युनएन अफिस, पाटन अस्पतालदेखि ठूला कर्पोरेट कम्पनीहरु नियमित ग्राहक छन् । ५० वटा कर्पोरेट कम्पनी वार्षिक ग्राहकका रुपमा रहेको उनले बताए ।

अहिलेसम्म ५ हजारभन्दा धेरै कर्पोरेट ग्राहकलाई सेवा दिइसकेका छन् । व्यक्तिगत घरहरुमा काम पनि निरन्तर गर्छन् ।
काठमाडौंमा राम्रो व्यवसाय भएपछि गएको वर्ष पुसदेखि पोखरामा शाखा खोलेका छन् । अबको योजना नेपालगञ्जमा जाने छ । यसको लागि तयारी भइरहेको छ ।

यसबाहेक विभिन्न ठाउँबाट फ्रेन्चाइजका लागि माग भइरहेको उनले बताए । राम्रो गर्न चाहनेलाई फ्रेन्चाइज मोडलमा जान सकिन्छ भन्ने मलाई लागेको छ, झाले भने, ‘केही ठाउँ कुरा पनि भइरहेको छ ।’

व्यवसाय विस्तारका लागि ठूलो लगानी खोजिरहेका छन् । कम्तीमा सय जनालाई रोजगारीमा दिएर व्यवसायलाई दश गुणा वृद्धि गर्ने लक्ष्य उनको छ । अहिले उनलाई पार्टनरको रुपमा दुई जना साथीहरुले साथ दिइरहेका छन् ।

काठमाडौंमा किराकिरी नियन्त्रणदेखि सरसफाइको ठूलो व्यवसायी सम्भावना रहेको उनी बताउँछन् । यहाँ रहेको सम्भावनामध्ये अहिले १० प्रतिशत पनि काम नभएको उनी बताउँछन् ।

काठमाडौंमा मात्रै ट्वाइलेट सफाइको काम वार्षिक ३ अर्ब रुपैयाँ बराबरको रहेको उनको बुझाइ छ ।


सन्तोष न्यौपाने