इन्भेष्टमेन्ट-मेगा र ग्लोबल आइएमई-बीओकेलाई मर्जरमा जान राष्ट्र बैंकले दियो सैद्दान्तिक सहमति



काठामाडौं । नेपाल राष्ट्र बैंकले दुई ठूला बिग मर्जरलाई सैद्दान्तिक सहमति दिएको छ । केन्द्रीय बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले नेपाल इन्भेष्टमेन्ट-मेगा बैंक र ग्लोवल आईएमई-बैंक अफ काठमाण्डूलाई मर्जरको सैद्दान्तिक सहमति दिएको हो ।

‘बुधबार बसेको सञ्चालक समितिको बैठकले इन्भेष्टमेन्ट र मेगा अनि ग्लोवल र बीओकोलाई मर्जरमा जान सैद्दान्तिक सहमति दिएको छ,’ राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले क्लिकमाण्डूसँग भने, ‘साथै नविल र एनबीको मर्जरलाई अन्तिम स्वीकृति दिएको छ ।’

इन्भेष्टमेन्ट मेगा बैंकबीच गत जेठ २७ गते मर्जरमा जाने सम्झौता गरेका थिए । त्यस्तै, ग्लोवल आइएमई र बैंक अफ काठमाण्डूबीच यही असार २ गते मर्जरमा जाने सम्झौता गरेका थिए ।

मर्जरपछि बन्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे र सीइओ ज्योति पाण्डे बन्ने सहमति भएको छ । संस्थाको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००:९० को अनुपातमा मर्जमा जान लागेका हुन् ।

चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकसँग १ खर्ब ८० अर्ब निक्षेप छ । मेगा बैंकसँग १ खर्ब ४७ अर्बको निक्षेप छ । कर्जा नेपाल इन्भेष्टमेन्ट बैंकको १ खर्ब ७३ अर्ब छ भने मेगा बैंकको १ खर्ब ५० अर्ब रहेको छ ।

चुक्ता पुँजीका आधारमा हेर्दा इन्भेष्टमेन्ट बैंकको १८ अर्ब ३० करोड छ । मेगा बैंकको १६ अर्ब १२ करोड रहेको छ । मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब ८० करोड हुन्छ । स्वाप रेसियोबाट आउने पैसाले दिने लाभांशले बैंकको चुक्ता पुँजी मात्र ३४ अर्बभन्दा बढी हुनेछ ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरमा जाने सम्झौता भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच १:१ को अनुपातमा मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको हो । दुई बैंक मर्ज भएपछि चुक्ता पुँजी ३५ अर्ब हुने छ ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल तथा बीओकेका अध्यक्ष प्रकाश श्रेष्ठले मर्जरमा जाने सम्झौतामा हस्ताक्षर गरे ।

अहिले ग्लोबलको चुक्ता पुँजी २३ अर्ब ७९ करोड छ । बिओकेको चुक्ता पुँजी १० अर्ब ६२ करोड । ग्लोबल आइएमई बैंकमा दुई वाणिज्य बैंक सहित १८ वटा संस्था मर्ज भएका छन् । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्ज भएका थिए ।

लुम्बिनीले नवदुर्गा फाइनान्सलाई समेत गाभेको थियो । यसरी ग्लोबल आइएमई बैंक २० वटाभन्दा बढी संस्था मर्जर भएर बनेको संस्था बन्ने भएको छ ।

वैशाख मसान्तसम्म ग्लोवलको निक्षेप २ खर्ब ७७ अर्ब तथा बिओकेको १ खर्ब ४ अर्ब छ । कर्जा भने २ खर्ब ७३ अर्ब ग्लोबल आइएमई बैंकको तथा १ खर्ब ९ अर्ब बीओकेको छ ।

मर्जरपश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बीओके हुने र सञ्चालक समितिमा ग्लोवल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

मर्जर पश्चात् बैंकको कूल पुँजी ५२ अर्ब २९ करोड तथा चुक्ता पूँजी ३४ अर्ब ४१ करोड र निक्षेप ३ खर्ब ८४ अर्ब र कर्जा ३ खर्ब ८० अर्ब हुने छ । मर्जपछि बैंक व्यवसायको आकारमा पहिलो स्थानमा हुने छ ।

साथै, दुवै बैंकले जेष्ठ मसान्त सम्म ६ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन् । दुई बैंकहरुको ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखारहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरु, ३७ लाखभन्दाबढी ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसूचकमा ग्लोबल आइएमई बीओके मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ ।


क्लिकमान्डु