विश्वको मुद्रास्फीतिः अमेरिकामा ब्याजदर बढ्दा यी ५ क्षेत्रमा असर गर्न सक्छ



एजेन्सी । अमेरिकाको केन्द्रीय बैंकले हालै ब्याजदर बढाएको छ । र, यो बढेको ब्याजदर अमेरिकाको इतिहासमा ३० वर्षयताकै सबैभन्दा उच्च हो ।

ब्याजदर बढ्दाको असर उपभोक्ताले खरिद गर्ने उपभोग्य सामग्रीमा प्रत्यक्षरुपमा देखिनेछ ।

त्यहाँको फेडेरल रिजर्भ बैंकले बढेको ब्याजदर बैंकहरुसँग ३ वटा त्रैमासमा प्रतिशत विन्दुका आधारमा लिनेछ । ब्याजदर बढ्दाको परिणामस्वरुप अर्थतन्त्रको सबै क्षेत्रमा असर गर्नेछ । यसले स्वदेशसँगै विदेशी मुलुकमा पनि असर पर्नेछ ।

बीबीसीडटकममा प्रकाशित समाचार अनुसार बढेको ब्याजदरले विभिन्न ५ क्षेत्रमा असर गर्नेछ ।

१) घर जग्गाको मूल्य र अन्य कर्जा

कर्जाको ब्याजदर बढ्दा त्यसको तत्कालीन असर मानिसहरुलाई घर जग्गा खरिदमा पर्नेछ । उच्च ब्याजदरको असरले घर जग्गाको मूल्य आकाशिने छ । घर जग्गाका साथै क्रेडिट कार्ड, विद्यार्थी कर्जा र अन्य ऋणमा पनि पर्नेछ ।

अमेरिकामा ३० वर्षे मुद्दति निक्षेपको ब्याजदर औसतमा ६ प्रतिशतसम्म पुग्नेछ । जुन सन् २००८ यताकै सबैभन्दा उच्च हो । घरजग्गाको औसत मूल्यमा पनि यसले असर गर्नेछ । यसको अर्थ घर जग्गा कर्जाको मासिक भुक्तानी बढेर यो वर्षदेखि औसतमा ६ सय डलर पुग्नेछ ।

‘आज मलाई मैले पहिले नै खरिद गरेकोमा खुसी लागेको छ,’ डेलोरेस रोबिन्सनले भनिन् । रोबिन्सन ओहायोका बासिन्दा हुन जुन रिटायर्ड एजुकेटर हुन् । जसले यही महिना मात्रै नयाँ अपार्टमेन्ट खरिद गरेकी छन् ।

रोबिन्सनका अनुसार उनले यो महिनाको शुरुमा कर्जा लिँदा नै ब्याजदरलाई स्थिर राखेकी छन् । तर, केही खरिदकर्ताहरुका लागि भने खरिद गर्ने योजनामा बजेट अपुग हुने देखिएको छ ।

द नेशनल एसोसिएसन अफ रियलेटर्स विज्ञहरु खर्च बढी हुँदा अमेरिकामा घर बिक्री ९ प्रतिशतले घट्ने प्रक्षेपण गरेका छन् ।

खस्कँदो घर बिक्रीको असर उपभोक्तामा देखिने छ । हालैका वर्षमा दोहोरो अंकमा वृद्धि भएको घर बिक्री भएपछि सन् २०२२ मा कुल प्राइस ग्रोथ ५ प्रतिशतसम्म पुग्ने अनुमान समेत गरिएको छ । यदि यो भयो भने मुद्रास्फीति घट्नेछ ।

२) साना पेन्सनर

जब ब्याजदर उच्चरुपमा बढ्यो यसले लगानीलाई नाटकीयरुपमा फेरदबल गरिदिएको छ । अर्थतन्त्रमा सामान्य जोखिमसँगै सेयर बजारमा पनि यसले असर गर्नेछ । लगानीकर्ताले सेयर बजारमा गरेको लगानी केही घट्ने देखिएको छ । गत जनवरी महिनायता द स्ट्यान्डर्ड एण्ड पुअर (एसएण्डपी ५००) २० प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । जसलाई बियरिस मार्केटको ट्रेन्डकारुपमा समेत अर्थ लगाइएको छ ।

जोखिमयुक्त सम्पत्ति जस्तैः क्रिप्टोकरेन्सीको मूल्य समेत घटेको छ । अमेरिकाभन्दा अन्यत्र देशमा पनि सेयर बजार ओरालो लाग्ने क्रममा छ । उबरजस्ता कम्पनी पनि लामो समयदेखि घाटामा सञ्चालनमा रहँदा यसको असर लगानीकर्तामा देखिएको छ ।

यसको अर्थ मानिसहरुका लागि ट्याक्सी चढ्नु महंगो हुनेछ भने छिटो डेलिभरीहरु गर्ने कम्पनीहरुको पनि शुल्क बढाउने छन् ।

‘अनिश्चितताको समयमा लगानीकर्ताहरु सुरक्षित क्षेत्रमा लगानी गर्न खोज्छन्,’ उबर बोस डारा खोस्रोसासीले कर्मचारीहरुका गत महिना लेखेको पत्रमा भनेका छन्, ‘बजारमा एक प्रकारको भूकम्प जस्तै आएको छ, हामीहरुले बजार अनुसार चल्न सक्नुपर्छ ।’

३) सुस्त जब मार्केट र मन्दीको जोखिम

कोरोना महामारीपछि बढ्दो मागका कारण रोजगारी बढ्दो क्रममा थियो । कम्पनीहरुले नयाँ कर्मचारी भर्ना लिइरहेका थिए । साथै, ती कम्पनीहरुले कर्मचारीलाई उच्च पारिश्रमिक समेत दिइरहेका थिए । तर, अहिले कम्पनीहरुले कर्मचारी कटौती गरिरहेका छन् । प्रपर्टी जायन्ट रेडफिन र कम्पासले यसै साता सयौंको संख्यामा कर्मचारी कटौती गर्ने घोषणा गरिसकेका छन् ।

साथै, ठूला कम्पनीहरु उबर, अमेजन, वालमार्ट, टेस्ला र स्पोटिफाइलगायतले नयाँ कर्मचारी भर्नालाई केही समयका लागि रोकिसकेका छन् ।

अमेरिकाका केन्द्रीय बैंकका प्रमुख जोरेमो पावेल आफू अमेरिकी अर्थतन्त्रमा रोजगारी कटौती कम हुनेमा भने आशावादी छन् । अमेरिकाको अर्थतन्त्र निकै बलियो र प्रतिष्पर्धी भएकाले त्यसो नहुनेमा उनी आशावादी छन् ।

तर, अर्थतन्त्रमा चुनौतीहरु देखा परिसकेको छ । मुद्रास्फीति बढ्दा कम्पनीहरुले जनशक्तिमा गर्ने खर्च कटौती शुरु गरिसकेका छन् । यस वर्षको पहिलो त्रैमासमा रोजगारी वृद्धिदर बढेको भए पनि अन्तर्राष्ट्रिय ट्रड डाटा, अन्य सूचकांकजस्तै रिटेल सेल्स यसअघि नै ओरालो लाग्न शुरु गरिसकेका छन् ।

अर्थतन्त्र कमजोर बन्द जाँदा विश्लेषकहरु बैंकहरुमा जोखिम बढ्ने र आर्थिक मन्दी आउने संकेत देखिएका छन् ।

४) बलियो डलर

यो वर्ष अमेरिकी डलर १० प्रतिशतले बलियो भएको छ । फेड्सले लगानीकर्तालाई बढी प्रतिफलका लागि उनीहरुको लगानी अमेरिकै गर्नका लागि प्रोत्साहन गरिरहेको छ । र, यसले गर्दा डलरको भाउ बढेको छ ।

बेलायतमा पाउण्डको भ्यालु यसैसाता १.२० डलरले आरोलो लागेको अवस्थामा अमेरिकीहरु त्यहाँ जान अन्योलमा परेका छन् । डलरको भाउ बढ्नुको अर्थ उर्जा, खाद्यान्नको आयात महंगो हुनेछ । यी वस्तुहरुको आयात डलरमा हुँदै आएको छ । यसले गर्दा पनि अर्थतन्त्रमा मन्दी छाउने देखिएको छ । साथै सरकारले पनि धेरै ऋणहरु डलरमै लिइरहेको छ ।

‘इमर्जिङ मार्केटले यसलाई ठूलो असर गर्ने छ,’ सिटी इन्डेक्सकी बजार विश्लेषक फिओना किन्कोटाले भनिन् ।

५) अन्य देशको बढ्दो ब्याजदर

अमेरिकाले मात्रै ब्याजदर बढाएको छैन । अन्य कैयन देशहरुले समेत हालैका महिनामा ब्याजदर बढाएका छन् । जसमा बैंक अफ इंग्ल्याण्ड, स्विजरल्याण्ड । अष्ट्रेलिया र क्यानडाका बैंकहरु समेत छन् ।

धेरैजसो देशका केन्द्रीय बैंकहरु बढ्दो मुद्रास्फीतिसँग आ-आफ्नै ढंगले जुधिरहेका छन् । तर, उनीहरुले विश्वको अर्थतन्त्रमा देखिएका संकेतहरु समेत हेरिरहेका छन् ।

कुवेत, साउदी अरेबियाजस्ता देशहरुमा जहाँ त्यहाँको मुद्रा डलरसँग बाँधिएको छ, उनीहरुको हकमा पनि अमेरिकामा बढेको ब्याजदरको असर तत्कालै देखिनेछ ।


क्लिकमान्डु