मदारीको पछि नलागौं, सेयर बजार निकै निर्मम छ विचार गरौं



सेयर बजारका अंकहरु प्रभावित हुने कारकहरुमध्ये माग र आपूर्ति, सम्बन्धित कम्पनीको वित्तीय अवस्था र समग्ररुपमा देशको आर्थिक अवस्था नै प्रमुख हुन् ।

तथापी ती कारकहरुलाई प्रभावित पार्ने तत्वहरु भनेका कम्पनीको आयव्यय र भविष्यको मार्गचित्रसम्बन्धी सूचना, त्यस्तै लाभांशको घोषणा, कम्पनीको उत्पादन वा उत्पादकत्वमा आउने परिवर्तन, सम्भावित अधिग्रहण (टेकओभर) वा विलय (मर्जर), व्यवस्थापनमा आउने परिवर्तन, आर्थिक धोखाधडी वा भनौं कम्पनीहरुको तर्फबाट हुनसक्ने त्रुटी विशेष गरी लेखासम्बन्धीका गल्तीहरु ईत्यादी ।

यसका साथै विभिन्न बाह्य अवस्था जस्तै विश्व आर्थिक गतिसँगै देशको अर्थतन्त्रमा पर्ने आकस्मिक प्रभाव पनि सधै अध्ययनको विषय हुन्छ । साथै, सेयर बजारको मूल्य चलायमान हुने कारकहरुमध्ये महत्वपूर्ण र अकस्मात आउन सक्ने भनेको नीतिगत परिवर्तन पनि प्रमुख हो । तसर्थ नीतिगत जोखिमलाई नजरअन्दाज गर्न सकिँदैन । यो कुने पनि समय आउनसक्छ ।

यसकारण नीतिगत परिवर्तनका विषयसँग जोडिएर सेयर बजारको अंकमा हुने असर (सकारातक वा नकारात्मक) का लागि सधै तयार रहनुपर्छ । यसका साथै, लगानीकर्ताहरुको भावना वा विश्वासले पनि बजारका अंकहरुलाई चलायमान बनाउँछ ।

फलस्वरुप सेयरका मूल्य घट्ने वा बढ्ने हुनसक्छ । तर बलियो टेवा महशुस भएको बुल मार्केटमा मात्र लगानीकर्ताहरुको भावना सकारात्मक हुनु यथार्थपरक हो भन्दै गर्दा त्यो सँगसँगै प्रतिउत्पादक पनि बन्न पुग्छ भन्ने कुराको हेक्का राख्न जरुरी देखिन्छ । बजारका मूल्यहरु माथि उल्लेखित कारकहरु र लेख्न छुटेका अन्य कारकहरुका कारण पनि सधै प्रभावित भइरहन्छन् ।

त्यसैकारण कुनै अमूखलाई आफ्नो नोक्सानीको जिम्मेवारी बनाउनु सेयर बजार नबुझ्नु हो । यस्ता लगानीकर्ताहरुले सेयरबजारमा कारोबार नगर्नु राम्रो हुन्छ । बजारमा जोखिम सधै रहन्छ, त्यसैकारण आफ्नो जोखिम बहन क्षमताका आधारमा कारोबार गर्नुपर्ने विकल्प यस बजारमा छैन ।

यही कारण सेयर बजार सबैका लागि उपयुक्त बजार होइन । सिनिकल ओभर ट्रेडिङका कारण कम समयको कारोबार वा भनौं अनुभवका आधारमा नै आफू विज्ञ हो भन्ने अहम् लगानीकर्ताहरुमा आउने गर्छ । यसैका कारण लगानीकर्ताहरु आ–आफ्नो जोखिम बहन क्षमताको निक्र्यौल नगरी लहडमा बजार प्रवेश गर्छन् । र, यो सधै प्रतिउत्पादक सावित भइरहेको छ र सधै हुनेछ ।

त्यस्तै अन्य आर्थिक कारकहरु जस्तै ब्याजदर, सरकार तथा प्रमुख विपक्षी दलको आर्थिक दृष्टिकोण, मुद्रास्फिती, विभिन्न समयमा आउन सक्ने अप्रत्याशित आर्थिक र राजनीतिक झट्का त्यस्तै आर्थिक नीतिमा परिवर्तनआदि ।

समग्रमा भन्दा आर्थिक पाटोभित्र समेटिएको नीतिगत जोखिमलाई सेयर बजारमा सम्बन्धित सबैले कारोबार गर्नुपूर्व बुझ्नु जरुरी हुन्छ ।

यही बुझाइको कमी भएर नै ठालुहरुले आम लगानीकर्ताहरुको पुँजीलाई आफू खुसी दिशा दिने प्रयत्न गर्ने गर्छन् । तर, तिनीहरु पनि कुनै न कुनै बेला भासिन्छन् र त्यही प्रयोग हुने लगानीकर्तामार्फत् रोइलोको एकालाप शुरु गर्छन् । जुन प्रकारान्तरले सामूहिक हुनपुग्छ । त्यसबेला उनीहरु यही नीतिगत जोखिमलाई बुँदागत रुपमा अस्त्रको रुपमा प्रयोग गर्छन् ।

माथि उल्लेखित विचारहरुलाई थप पुष्टि गर्न व्यापारी र मदारीको कथा कथ्नु उपयुक्त होला ।

कुनै एउटा गाउँमा एकजना चतुर व्यापारी उसको कर्मचारी जो पूर्व पेशाले मदारी थियो । उसैलाई साथ लिएर गाउँ पस्छ र गाउँमा भएको बाँदरहरु प्रतिगोटा २ सय रुपैयाँका दरले किन्ने घोषणा गर्छ ।

फलस्वरुप गाउँलेहरु सबै बाँदर खोज्ने धन्दामा लाग्छन् । गाउँलेले समातेका बाँदरहरु क्रमिकरुपमा व्यापारीले किन्दै जान्छ र सँगै क्रमिकरुपमा मूल्य पनि वृद्धि गर्दै जान्छ । बाँदरको प्रतिगोटाको मूल्य ३ सय रुपैयाँ पुग्छ । गाउँलेले समाएका बाँदरहरु व्यापारीले गाउँको एक ठाउँमा बनाएको पिँजडामा जम्मा हुँदै जान्छन् ।

गाउँका धेरै बाँदरहरु व्यापारीको पिँजडामा कैद हुँदै जान्छन् र गाउँमा बाँदर न्यून मात्रामा मात्रै बाँकी रहन्छन् । एकदिन व्यापारीले सबै गाउँलेहरुलाई भेला गरेर भन्छ कि ऊ केही दिनका लागि व्यापारका सिलसिलामा गाउँ बाहिर जानुपर्ने हुन्छ र आएपछि गाउँलेले समाएका बाँदरहरु ७ सय रुपैयाँ तिरेर किन्न बाचा गर्छ ।

यहीबेला मदारीले गाउँलेहरुलाई पिँजडामा कैद बाँदरहरु प्रतिगोटा ५ सय रुपैयाँमा बेच्ने र पछि व्यापारी बाँदर किन्न आएको बेला प्रतिगोटा ७ सय रुपैयाँमा बिक्री गर्ने प्रस्ताव राख्छ ।

मुनाफाको लोभमा गाउँलेहरुले केही नसोची सबै बाँदर प्रतिगोटा ५०० रुपैयाँमा किन्छन् । त्यसदिनपछि न त त्यो व्यापारी न त उसको मदारी गाउँमा देखिन्छन् । देखिन्छन् त मात्रै क्रोधित बाँदरहरु यत्रतत्र ।

तसर्थ, यस्ता आहानहरुलाई सत्य सावित हुन नदिन सेयरबजारमा कारोबार आफ्नै विवेकका आधारमा गरौं । जोखिम बहन क्षमताको आधारमा गरौं । यो बजार जति रोमान्टिक छ त्यति नै निर्मम छ । यसले जो कोहीलाई पनि रेट्ने औकात राख्छ । त्यसैले वाल स्ट्रिटमा यो भनाइ लोकप्रिय छ, ‘साँढेले पैसा कमाउँछ, भालुले पैसा बनाउँछ, सुँगुरहरु रेटिन्छन् (Bulls make money, bears make money, pigs get slaughtered)।’


क्लिकमान्डु