दाउन्नेमा सुरुङमार्गः डेढ घण्टामा चितवनदेखि बुटवल पुग्न सकिने



काठमाडौं । सरकारले चितवन र बुटवलबीचको दूरी तय गर्न लाग्ने समय घटाउने योजना अनुसार सुरुङ निर्माणको काम अगाडि बढाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्मा सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै चितवन र बुटवलबीचमा पर्ने दाउन्नेमा सुरुङमार्ग बनाउने घोषाणा गरिन् ।

बुटवलदेखि अहिले चितवनसम्मको दुरी अहिले एक सय किलोमिटर रहेको छ । अहिले एशियाली विकास बैंकको सहयोगमा चितवनदेखि बुटवलसम्म सडकलाई ४ लेन बनाउने काम भइरहेको छ ।

भौतिक योजना तथा निर्माण मन्त्रालय स्रोतका अनुसार योजना आयोगले नै चितवन-बुटवलको यात्रालाई कम गर्नका लागि सुरुङमार्ग बनाउने प्रस्ताव राखेको हो ।

योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले उपाध्यक्ष बन्नु अगाडि दुईवटा प्रमुख सहरहरु चितवन र बुटवलकाे बीचमा पर्ने दाउन्नेमा सुरुङमार्ग बनाएर यात्रा कम गरेर दुई सहरबीच कनेक्टिभिटी बढाउनुपर्नेमा बिचार राख्दै आएका थिए ।

बुटवल क्षेत्र अहिले औद्योगिक सहरको रुपमा विकास हुँदै गएको छ । भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको छ । चितवन औद्योगिकसँगै मेडिकल हवको रुपमा विकास भएको छ ।

सरकारी योजना नवलपरासीको दुम्किबासबाट बर्दघाटसम्म सुरुङमार्ग बनाउने भन्ने छ । बर्दघाटदेखि दुम्किबासको सडक लम्बाई १८ किलोमिटरको छ । तर, सुरुङमार्ग बनाउदा कति किलोमिटर बनाउने हो भन्ने यसको टुंगो भने लागेको छैन ।

‘आगामी वर्षसम्म बुटवलसम्म सडक बिस्तारको काम सकिन्छ, त्यसपछि दुरी कम गर्नको लागि सुरुङमार्ग बनाउनुपर्छ भन्ने सोच हो,’ भौतिक योजना निर्माण मन्त्रालय स्रोतले भन्यो ।

चितवनबाट डेढ घण्टामा बुटवल पुग्ने गरेर सुरुङमार्ग बनाउने तयारी रहेको सरकारी अधिकारीले जानकारी दिए । स्रोतका अनुसार दातृ निकायसँग स्रोत सुनिश्चिताका लागि कुरा अगाडि बढाउने र दुईवर्षपछि निर्माण शुरु गर्ने लक्ष्य सरकारको छ ।

सरकारले सुरुङमार्गको योजना बनाएपछि चितवन–बुटवल सडकखण्डको काम भने निकै सुस्त गतिमा अगाडि बढेको छ । निर्माण शुरु भएको ३ वर्षमा २० प्रतिशतपनि काम सकिएको छैन । २०७५ सालको चैतमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सडक बिस्तारको उद्घाटन गरेका थिए ।

सडक विस्तारको काम सम्झौता भएको मितिले ४२ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएपनि काम नभएको कारण १०० किलोमिटर यात्रा गर्न ८ घण्टासम्म लाग्ने गरेको छ ।

तीन जिल्लामा पर्ने नारायणगढ-बुटवल खण्डलाई गैँडाकोट-दाउन्ने र दाउन्ने-बुटवल गरी दुई खण्डमा विभाजन गरेर ठेक्का दिइएको छ । दुईतर्फको नै निर्माण गर्ने जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङले पाएको छ ।

दुईखण्डमा गैँडाकोट-दाउन्ने ६५ किमी सडकलाई खण्ड १ (पूर्वी खण्ड) र दाउन्ने-बुटवल ४९ किमी सडकलाई खण्ड २ (पश्चिम खण्ड)मा छुट्याएर सँगसँगै दुवैतर्फ काम भएपनि निर्माण निकै सुस्त गतिमा अगाडि बढेको । बस्ती भएको ठाउँमा सबलेनसहित ६ लेन तथा बस्ती नभएको ठाउँमा ४ लेन सडक बनाउने योजना छ ।

सडक विस्तारका लागि एडिबीले १७ अर्ब रुपैयाँ ऋण दिएको छ । यसबाट ८५ प्रतिशत बजेट स्रोत सुनिश्चित हुने तथा १५ प्रतिशत स्रोत भने नेपाल सरकार आफैंले जुटाउने छ ।

नेपालमा अहिले अहिले नेपालमा जापानिज सहयोग नियोगसँग सहुलियत ब्याजदरमा ऋण लिएर नागढुंगामा सुरुङमार्ग बनाइरहेको छ ।

दहचोकदेखि-सिस्ने खोलासम्म सुरुङको लम्बाइ २.६८८ किलोमिटर चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुनेछ छ । जसको लागत १७ अर्ब लाग्ने बताइएको छ ।

नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्ने अनुमान छ । सडकको लम्बाइ आठ किमि कम हुनेछ । सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौबीसे पुग्न सकिनेछ ।

चिनियाँ राष्ट्रपति नेपाल आएको बेला टोखा छहरे सुरुङमार्ग बनाउने सम्झौता भएको थियो । यसको प्रगति भने भएको छैन । यसबाहेक अहिले सिद्धबाबामा सुरुङमार्ग बनाउन ठेक्का लागेको छ ।


क्लिकमान्डु