जीवन बीमा कम्पनीहरूको लगानी साढे ४ खर्बमाथि, मुद्दती निक्षेपमा ६८%, कुन क्षेत्रमा कति ?



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिसम्ममा जीवन बीमा कम्पनीहरूले साढे ४ खर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् ।

बीमा समितिका अनुसार १९ जीवन बीमा कम्पनीहरूले ४ खर्ब ५८ अर्ब ३० करोड ६ लाख रूपैयाँ लगानी गरेका गरेका हुन् ।

जीवन बीमा कम्पनीहरूको कुल लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा केन्द्रित भएको छ । कुल लगानीको ६८.४६ प्रतिशत लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप छ ।

जीवन बीमा कम्पनीहरूले कुल लगानीमध्ये ६६.६५ प्रतिशत वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा लगानी गरेका छन् ।

यस्तै विकास बैंकहरूको मुद्दती निक्षेपमा जीवन बीमा कम्पनीहरूले कुल लगानीको १.५५ प्रतिशत, फाइनान्स कम्पनीहरूको मुद्दती निक्षेपमा ०.२१ प्रतिशत र नेपाल पूर्वाधार बैंकको निक्षेपमा ०.५ प्रतिशत गरी गरी ६८.४६ प्रतिशत लगानी गरेका हुन् ।

समितिको तथ्यांक अनुसार जीवन बीमा कम्पनहरूले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ३ खर्ब ५ अर्ब ४६ करोड ७१ लाख रूपैयाँ, विकास बैंकहरुको मुद्दती निक्षेपमा ७ अर्ब ९ करोड ५५ लाख रूपैयाँ, फाइनान्स कम्पनीहरूको मुद्दती निक्षेपमा ६ करोड ९९ लाख रूपैयाँ र नेपाल पूर्वाधार बैंकको निक्षेपमा २५ करोड रूपैयाँ लगानी गरेका छन् ।

कृषि तथा पर्यटन क्षेत्रमा ४१ अर्ब १४ करोड ४१ लाख रूपैयाँ, घरजग्गामा ३६ करोड २४ लाख रूपैयाँ र अन्य क्षेत्रमा ३७ अर्ब ९४ करोड ४० लाख रूपैयाँ लगानी गरेका छन् ।

जीवन बीमा कम्पनीहरूले सेयर बजारमा ६५ अर्ब ५ करोड रूपैयाँ मात्रै लगानी गरेका छन् ।

जुन कुल लगानीको १४.१९ प्रतिशत मात्रै हुन आउँछ। जीवन बीमा कम्पनीहरूले शेयर बजारसँग सम्बन्धित क्षेत्र सूचीकृत पब्लिक कम्पनीहरूको साधारण शेयरमा, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्र, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेन्चर, सरकारी बचतपत्र तथा ऋणपत्र, म्युचुअल फण्ड तथा नागारिक लगानी कोष लगायतमा सो बराबरको रकम लगानी गरेका हुन् ।

जीवन बीमा कम्पनीहरूले सूचीकृत पब्लिक कम्पनीहरूको साधारण शेयरमा ८ अर्ब ५४ करोड ९७ ला रूपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्र २८ अर्ब ७० करोड ६१ लाख रूपैयाँ, सूचीकृत पब्लिक सुरक्षित डिबेन्चरमा २१ अर्ब ५१ करोड ४२ लाख रूपैयाँ, नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा २ अर्ब ४ करोड ५३ लाख रूपैयाँ, म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ४ अर्ब २५ करोड ३० लाख रूपैयाँ गरी सो बराबरको रकम लगानी गरेका हुन् ।

कुन कम्पनीको लगानी कति ?
यस अवधिमा १९ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै लगानी नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । कम्पनीले समितिले तोकिदिएको विभिन्न क्षेत्रमा १ खर्ब ३८ अर्ब ८२ करोड ४७ लाख रूपैयाँ लगानी गरेको छ ।

आईमई लाइफ इन्स्योरेन्सले ५ अर्ब २८ करोड ९७ लाख रूपैयाँ, एशियन लाइफले २९ अर्ब ७७ करोड ३० लाख रूपैयाँ, गुराँस लाइफले १२ अर्ब ९५ करोड, ज्योति लाइफले नेशनल लाइफले ७ अर्ब ९२ करोड, नेशनल लाइफले ४५ अर्ब ७६ करोड, प्रभु लाइफले ५ अर्ब २५ करोड, प्राइम लाइफले १८ अर्ब ३४ करोड, मेट लाइफले २३ अर्ब ३२ करोड र महालक्ष्मी लाइफले ३२ अर्ब ४ करोड ४० लाख रूपैयाँ लगानी गरेका छन् ।

समितिद्वारा जारी बीमकको लगानी निर्देशिकाअनुसार जीवन बीमा कम्पनीहरूले नेपाल सरकारका बचपत्रमा न्यूनतम ५ प्रतिशत, ‘क’ वर्गको बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, घर जग्गामा बढिमा ५ प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बढीमा १० प्रतिशत, ‘क’, ‘ख’ र ‘ग’ वर्गको बैंक तथा वित्तीय संस्थाको सेयर र ऋणपत्रमा बढीमा २० प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेञ्चरमा बढीमा २० प्रतिशत, कृषि, पर्यटन र जलस्रोतलगायतका पूर्वाधारमा बढीमा २० प्रतिशत, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा बढिमा ५ प्रतिशत, ‘ख’ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बढीमा २० प्रतिशत र ‘ग’ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बढीमा १० प्रतिशत लगानी गर्न सक्ने व्यवस्था छ ।

बीमा कम्पनीहरूमा लगानीयोग्य रकम थुप्रिँदै गएपछि लगानीका क्षेत्रहरू पनि बिस्तार गर्नुपर्ने कम्पनीहरूले माग गर्दै आएका थिए ।

सोहीबमोजिम बीमा समितिले लगानी निर्देशिका जारी गरेको थियो । समितिले जीवन, निर्जीवन तथा पुनर्बीमा कम्पनीहरुले लगानी गर्ने क्षेत्रहरू तोकिदिएको थियो । निर्देशिकाले कम्पनीहरूको गणना योग्य सम्पत्तिमा सीमा तोकी लगानीको क्षेत्र र दायरा तोकिदिएको छ ।


क्लिकमान्डु