इन्डोनेसियामा पाम तेल अभाव, नेपालको निर्यात घट्न सक्ने



काठमाडौं । विश्वकै नम्बर एक पाम तेल उत्पादन गर्ने देश इन्डोनेसियामै अहिले पाम तेलको अभाव देखिन थालेको छ ।
विश्वकै सबैभन्दा बढी पाम तेल उत्पादन गरी नम्बर एक निर्यात गर्ने देशमा स्थापित देश इन्डोनेसियामा अहिले आफ्नै आन्तरिक बजारमा पाम तेलको अभाव देखिएको हो ।

इन्डोनेसियामै उच्च रुपमा उत्पादन हुने पाम तेल सोही देशमा खाने पाम तेल किन्नका लागि लामो लाइन बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।

सन् २०२१/२२ को अक्टोबरदेखि सेप्टेम्बरसम्ममा इन्डोनेसियाले ४ करोड ५५ लाख मेट्रिक टन पाम तेल उत्पादन गरेको थियो । इन्डोनेसियापछि सबैभन्दा बढी पाम तेल उत्पादन गर्ने देश मेलेसियाको तुलनामा ६० गुणा बढी उत्पादन गर्दै आएको छ ।

मलेसियाले सोही अवधिमा १ करोड ८७ लाख मेट्रिक टन पाम तेल उत्पादन गरेको थियो । तर, विश्वकै सबैभन्दा बढी पाम तेल उत्पादन गर्ने सोही देशमा अहिले आम सर्वसाधारणले तेल पाउन मुस्किल भएको छ ।

सन् २०२१ मार्चमा इन्डोनेसियामा एक लिटर पाम तेलको मूल्य प्रतिलिटर इन्डोसियन मूल्य १४ हजार रुपैयाँ रहेकोमा अहिले २२ हजार रुपैयाँ पुगेको जनाएको छ ।

इन्डोनेसिया सरकारले गत फेब्रुअरी १ मा खुद्रा बजारका लागि सिलिङ लगाउने निर्णय गरेको थियो । उक्त व्यवस्थामा सरकारले १४ हजार इन्डोनेसियन मूल्यभन्दा बढी मूल्यमा बिक्री गर्न नपाउने व्यवस्था गर्यो ।

उक्त व्यवस्थाले गर्दा कृषक तथा व्यवसायीहरूले उत्पादित पाम तेल बिक्री गर्न चाहेका थिएनन् । जसले गर्दा बजारमा पाम तेलको अभाव भई लाइन लाग्नुपर्ने अवस्था सिर्जना भएको थियो ।

यससँगै, इन्डोनेसियन सरकारले पाम तेल निर्यातकर्ताहरूले निर्यात गर्नेमध्ये ३० प्रतिशत आन्तरिक बजारमा बिक्री गर्नुपर्ने निर्णय गर्यो । निर्यातसँगै आन्तरिक बजारमा पनि खपत गर्ने उद्देश्यका साथ इन्डोनिया सरकारले सो व्यवस्था लागू गरेको थियो । तर, सो व्यवस्थाले पनि अभाव भने हटेन ।

अहिले इन्डोनेसियामा पाम तेल अभाव हुनुको मुख्य दु्ई कारण औंल्याइएको छ । सञ्चारमाध्यमका अनुसार इन्डोनेसियामा आपूर्तिको समस्या (सप्लाई डिस्रप्सन) छ । जसमा विभिन्न कारणले निम्त्याएको समस्या र अर्को भनेको प्राकृतिक रुपमा देखाएको अभाव ।

आपूर्ति समस्या आउनुको मुख्य कारण रुस र युक्रेनबीचको युद्धलाई मानिएको छ । युक्रेन र रुसले मात्रै ८० प्रतिशत सन्फ्लावर तेलको व्यापार गर्ने भएकाले आपूर्ति सहज हुन सकेन ।

त्यस्तै, दक्षिण अमेरिकाभित्र सोयाबिन तेल उत्पादनमा कमी आएको छ । ब्राजिल, अर्जेन्टिना र परुग्वे देशमा सबैभन्दा बढी सोयाबिन तेल उत्पादन गर्ने देशमा ९.४ प्रतिशतले कम उत्पादन भएको छ । सो तथ्याङ्क भनेको विगत ६ वर्षको नै सबैभन्दा कम उत्पादन हो ।

एकातिर रुस र युक्रेनबीचको द्वन्द्वले सन्फ्लावर तेलको आपूर्ति सहज हुन सकेको छैन भने अर्कोतर्फ सोयाबिन तेलको उत्पादन घटेको छ । यी दुई तेलको दबाब पूर्णरुपमा पाम तेलको आपूर्तिमा देखिएको छ । अहिले पाम तेलको उच्च माग र आपूर्ति कम भएको अवस्था रहेको छ । यसले, गर्दा प्रत्यक्ष रुपमा पाम तेलको माग बढेको हो ।

त्यसैगरी, पछिल्लो केही वर्षदेखि पेट्रोलियम पदार्थ डिजेल र पेट्रोलमा तेलको प्रयोग हुन थालेको छ । जसमा इन्डोनेसियन सरकारले सन् २०२० मा ३० प्रतिशत पाम तेलको मिश्रण डिजेल तथा पेट्रोलमा उपभोग गर्नुपर्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्थाले डिजेलमा ३० प्रतिशत पाम तेलको मिश्रण हुने गर्दछ । त्यसैले, पनि आन्तरिक बजारमा खपत गर्नका लागि तेलको अभाव भएको देखेको छ ।

तर, गत मार्च १६/१७ मा भने इन्डोनेसिया सरकारले निर्यातकर्ताले ३० प्रतिशत उत्पादन आन्तरिक बजारमा बेच्नुपर्ने र खुद्रा बजारमा लागू गरिएको सिलिइङ हटाइएको छ । उक्त व्यवस्था गरे पनि निर्यातकर्ताले निर्यात गर्न चाहेमा बढी कर तिर्नुपर्ने व्यवस्था गरेको छ । कर बढाउँदा पाम तेल निर्यातमा प्रतिटन नै १७५ डलरदेखि ३७५ डलर रुपैयाँसम्म मूल्यवृद्धि भएको छ ।

रुस र युक्रेनबीचको द्वन्द्वले नै पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेकाले पनि सो क्षेत्रमा बढीभन्दा बढी पाम तेल उपयोग गर्ने भएकाले पनि अभाव देखिएको हो ।

नेपालले पनि वार्षिक अर्बौ रुपैयाँको पाम तेल आयात गरेर भारततर्फ निकासी गर्दै आएको छ । तर, इन्डोनेसियामै पाम तेलको अभाव देखिएपछि आयात गरी निर्यात गर्ने व्यवसायीलाई भने प्रत्यक्ष असर पर्ने देखिन्छ ।

नेपालले पाम तेल आयात गरेर प्रशोधन गरी भारततर्फ उल्लेख्य रुपमा निकासी गर्दै आएको छ । तर, सोही अवधिमा इन्डोनेसियामै पाम तेलको अभाव देखिएसँगै नेपाली उद्योगीहरूले आयात गर्न नसक्ने भएपछि यसको प्रत्यक्ष असर निर्यातमा देखिने छ ।

नेपालले ८ महिनाको अवधिमा ३२ अर्ब ३४ करोड ७३ लाख रुपैयाँ बराबरको पाम तेलसहित कच्चा पाम तेल आयात गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । उक्त आयातित तेलमध्ये इन्डोनेसियाबाट मात्रै २५ अर्ब ८१ करोड ९७ लाख रुपैयाँको आयात भएको देखिन्छ । बाँकी कच्चा पाम तेल भारत, मलेसिया र फिलिपिन्सबाट आयात गरेको छ ।

आयातित पाम तेलमा इन्डोननेसियाको मात्रै हिस्सा नै बढी रहेको छ । त्यस्तै, उक्त आयाति पाम तेलबाट नेपालले प्रशोधन गरेर ३५ अर्ब ३३ करोड ८० लाख रुपैयाँ बराबरको पाम तेल निर्यात गर्न सफल भएको छ ।

उक्त रकम बराबरको पाम तेल निर्यातले पनि नेपालको निर्यात मूल्य धेरै बढ्न गएको छ । त्यसैले, आगामी दिनमा आयातसँगै निर्यात घट्न सक्ने व्यवसायीहरूको भनाइ छ ।

विगतको दिनमा उच्च रुपमा आयात गरी भारततर्फ निर्यात गर्ने पाम तेल अभाव भएसँगै मूल्य अत्यधिक वृद्धि भएकाले प्रत्यक्ष रुपमा निर्यात घट्ने व्यवसायीहरूले बताएका छन् ।


क्लिकमान्डु