रुस-युक्रेन संकटः विश्वभर बियरदेखि इन्धन र ग्याँसको संकट



युद्ध लड्नेलाई जितको प्रतिक्षा हुन्छ भने त्यसबाट पीडितमाथि परेको पीडाको निकै कहालिलाग्दो हुन्छ । यी दुई देशबीचको युद्धकै कारण लामो समय लगाएर निर्माण गरिएको भौतिक संरचना ध्वस्त भएका छन् भने सयौं मानिसको अकालमै ज्यान गुमाइरहेका छन् । युद्ध यी दुई देशबीच भए पनि त्यसको असर विश्वका कैयन देशले भोगिरहनु परेको छ ।

रुस र युक्रेनबीचको युद्धकाका कारण विश्वको आपूर्ती श्रृंखला नराम्रोसँग प्रभावित भएको छ । इन्धनको चरम मूल्यवृद्धिका कारण कोरोनापछि उठ्न लागेको विश्व अर्थतन्त्रमा अर्को कहर थपिएको छ ।

पश्चिमी प्रतिबन्धका कारण मात्रै नभई युक्रेनमा रुसी आक्रमणले पनि आपूर्ती श्रृंखलामा परेको नकारात्मक असरले वस्तु बजारमा मूल्य अकाशिएको छ ।

युक्रेनमा रुसी आक्रमणपछि उक्त क्षेत्रबाट धातु र अन्नको आपूर्ती अवरुद्ध भएको छ । धेरै पश्चिमी देशहरूले यसअघि नै रुसी तेल र ग्याँस आयातमा प्रतिबन्ध लगाएका छन् । त्यसबाट नेपाल समेत नराम्ररी प्रभावित भएको छ ।

रसिया र युक्रेनले विश्वको कमोडिटी बजारमा प्रमुख रणनीतिक भूमिका खेल्छन् । दुबै ठूला मुलुक पनि हुन् । दुबै देश आधारभूत कच्चा पदार्थका प्रमुख निर्यातकर्ताका रुपमा चिनिएका छन् । गहुँ बाहेक तेल, ग्याँस, कोइलालगायत अन्य बहुमूल्य धातुको ठूलो आपूर्तीकर्ता समेत उनीहरु नै हुन् ।

त्यसैले रुस र युक्रेनबीचको युद्धका कारण यी वस्तुको आपूर्तीमा लगातार अवरोध भइरहेको छ । यसले कोभिडबाट पुनः प्रभावित भएको विश्वको अर्थतन्त्रलाई आर्थिक मन्दीको चपेटामा धकेलिदिएको छ ।

त्यसमा खास गरी ४ वटा कुरा महत्वपूर्ण छन् र एक आपसमा जोडिएका छन् । ती वस्तुको आपूर्ती लामो समयसम्म अवरुद्ध भयो भने विश्व अर्थतन्त्रमा नसोचेको समस्या आउन सक्ने अनुमानहरु पनि सार्वजनिक भएका छन् ।

रूसको अर्थतन्त्रको प्रमुख जिम्मेवारी कच्चा तेल र ग्याँसको निर्यातमा निर्भर गर्दछ । युक्रेनमा आक्रमण हुनुअघि विश्वमा प्रयोग हुने कच्चा तेलको झण्डै एक चौथाई रुसबाट उपलब्ध हुन्थ्यो । तर अहिले युद्धका कारण अमेरिका, क्यानडा र बेलायतले रुसी तेल र ग्याँस आयातमा प्रतिबन्ध लगाएका छन् । सोही प्रतिबन्धको प्रभाव अन्य देशमा समेत परेका छन् ।

यस क्षेत्रसँग जोडिएका विज्ञहरू भन्छन्– यो लडाईले तेल र ग्याँसको मूल्यमा अस्वाभाविक बृद्धि भएको छ । किनभने रूसले हरेक दिनमा मात्रै ५० लाख ग्यालन तेल निर्यात गर्दथ्यो । त्यसको आपूर्ती ठप्प हुँदा विश्व बजारमा क्षतिपूर्ती उपलब्ध गराउन गाह्रो भएको छ ।

तेल निर्यात गर्ने देशहरूको संगठन ओपेकका महासचिव मोहम्मद बारकिन्डोले रुसी उत्पादनको क्षतिपूर्ति दिन गाह्रो भएको बताएका छन् ।

रूसबाट कम तेल आयात गर्ने देशहरूले पनि समस्या महसुस गरिरहेको वर्ल्ड आयलले जनाएको छ । विश्व बजारमा तेलको भाउ अझै बढ्न सक्ने र त्यसले कमजोर अर्थतन्त्र भएका देशलाई अझै समस्यामा पार्ने देखिन्छ ।

दुई देशबीचको युद्धसँगै विश्व बजारमा हल्का पेय पदार्थको रुपमा रहेको बियरको मूल्यमा समेत बृद्धि भएको छ । दुबै देशलाई युरोपको ‘ब्रेड बास्केट’ अर्थात् रोटीको टोकरीका रुपमा लिइन्छ । विश्व बजारमा जाने गहुँमा युक्रेन र रुसको २९ प्रतिशत र मकैको १९ प्रतिशत हिस्सा रहने गरेको छ । रुस र युक्रेनको पठाहरुका लाखौ टन गहुँ उत्पादन हुन्छ ।

यस्तै, युक्रेन सूर्यमुखी तेलको सबैभन्दा ठूलो उत्पादक हो । त्यसमा रुस दोस्रो नम्बरमा छ । ग्लोबल प्लाट्सका अनुसार सूर्यमुखी तेल उत्पादनको ६० प्रतिशत बढीको योगदान यी दुई देशको मात्रै छ । नेपालमा बिक्री हुने सूर्यमुखी तेलको प्रमुख योगदानकर्ता पनि युक्रेननै रहेको जानकारहरुको भनाइ छ । तर रुसको हस्तक्षेपपछि कमोडिटीको मूल्य पछिल्लो १४ वर्षको तुलनमा चरम सीमामा पुगेको छ ।

द्वन्द्वका कारण खाद्यान्न उत्पादनमा ठूलो असर पर्ने विज्ञहरूको भनाइ छ । विश्व खाद्य कार्यक्रमले त्यसको संकेत गरिसकेको छ । रुस र युक्रेनबीचको युद्धका कारण खाद्य आपूर्ती अवरुद्ध भएकाले अन्तर्राष्ट्रिय बजारमा गहुँको मूल्य दोब्बरले बढ्न सक्छ । त्यसबाट विश्व बजारमा बियर, पाउरोटी तथा अन्य हल्का खाद्य वस्तुको उत्पादनमा ठूलो असर पर्न जान्छ ।

टर्की र इजिप्टले आफ्नो आवश्यकताको ७० प्रतिशत गहुँ रुस र युक्रेनबाट आयात गर्ने गरेका छन् । यस्तै, युक्रेन चीनको मुख्य मकै आपूर्तीकर्ता रहेको चिनियाँ सञ्चारमाध्यम साउथ चाइना मर्निङ पोष्टको समाचारमा उल्लेख छ ।

विश्व खाद्य कार्यक्रमका निर्देशक डेभिड बिस्लेका अनुसार युद्धका कारण विश्वभर खाद्यान्नको मूल्यमा भएको वृद्धिले विश्वका गरिब देशहरूलाई निकै ठूलो असर पार्नेछ । त्यसबाट भोकमरीको चर्को समस्या सामाना गर्नुपर्नेछ ।

रसिया आल्मुनियमदेखि तामा र कारसम्मका धातुको प्रमुख निर्यातकर्ता हो । यो विश्वको चौथो ठूलो आल्मुनियम निर्यातक देश हो । यो स्टील, निकल, प्यालेडियम र तामाको शीर्ष पाँच निर्यातकर्तामा पर्ने अन्तराष्ट्रिय विवरणमा उल्लेख छ ।

युक्रेन पनि औद्योगिक धातुहरूको प्रमुख उत्पादकको रुपमा चिनिन्छ । प्यालेडियम र प्लेटिनमको निर्यात बजारमा पनि यसको महत्वपूर्ण हिस्सा छ । यसको अर्थ आगामी दिनहरुमा आल्मुनियमको डिब्बा र तामाको तार अझै महंगो हुने बेलायतको एक अध्ययन फर्मको प्रारम्भिक अध्ययनले जनाएको छ ।

लन्डन मेटल एक्सचेन्जका निर्देशक म्याथ्यु चेम्बरलेन सीएनन र बीबीसीलगायतका अन्तर्राष्ट्रिय संस्थासँग भनेका छन्- युद्ध शुरु नहुँदै यस वर्ष एल्युमिनियम र निकलको मूल्य ३० प्रतिशतले बढेको छ । तामाको तार महँगो भएको छ ।

विश्व गोल्ड काउन्सिलका अनुसार रुस अष्ट्रेलिया र चीनपछि तेस्रो ठूलो सुन उत्पादन गर्ने देश हो । गत वर्ष रुसले ३५० टन सुन उत्पादन गरेको थियो । केही समययता अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दै गएको छ । यदि रुस–युक्रेन युद्ध जारी रह्यो भने, सुनको मूल्य अझै बढ्न सक्छ ।

रसिया र युक्रेनबाट आपूर्ती हुने निकेल र प्यालेडियम पनि मूल्य बढेको छ ।

प्यालेडियमको आपूर्ती अवरुद्ध भयो भने विश्वभरका अटोमेकर सामू समस्या आउन सक्छ । निकेल लिथियम–फलाम ब्याट्री बनाउन प्रयोग हुन्छ । मार्चको शुरुमा यसको मूल्य ७६ प्रतिशतले बढेको थियो ।

प्यालेडियम पनि महँगो हुँदै जाँदा कारमा उत्प्रेरक बनाउन प्रयोग गरिन्छ । रसियाले विश्वको प्यालेडियम उत्पादनको ३८ प्रतिशत योगदान गर्दछ ।

यस्तै सन् २०१४–१५ को जुन महिनामा पनि क्रिमिया आक्रमणको समयमा पनि नियोनको मूल्य धेरै गुण वृद्धि भएको थियो ।


क्लिकमान्डु