अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ११५ डलर पुग्यो, भारतमा ४० रुपैयाँले महंगो हुँदै, नेपालमा के होला ?



काठमाडौं । नेपाल आयल नियमका अनुसार अहिले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ५२ पैसा घाटा छ । त्यसैगरी डिजल र मट्टितेलमा प्रतिलिटर क्रमशः १६ रुपैयाँ ८ पैसा र १४ रुपैयाँ ६९ पैसा घाटा छ ।

साथै, आन्तरिकतर्फको हवाई इन्धनमा १४ रुपैयाँ ४१ पैसा र बाह्य हवाई इन्धनतर्फ प्रतिलिटर ४८ रुपैयाँ ४४ पैसा निगमलाई घाटा छ । र, एलपी ग्याँसमा प्रतिसिलिण्डर ६६५ रुपैयाँ ३४ पैसा घाटा छ ।

अन्तर्राष्ट्रि बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा निगमको यो घाटा अझै बढ्दै जाने देखिन्छ । अर्थात् अहिले उपभोक्ताले प्रतिलिटर १४५ रुपैयाँमा पाइरहेको पेट्रोलको मूल्य कम्तीमा १५० रुपैयाँभन्दा बढी हुने देखिएको छ । यसअघि पनि निगमले घाटा पूर्ती गर्नका लागि बचतमा भएको, सञ्चितीरकम तथा मूल्य स्थिरिकरण कोषमा भएको रकम खर्च गरिसकेको छ । अब बढ्दो घाटा पूर्तीका लागि कि बैंकबाट ऋण लिनुपर्छ । होइन भने उपभोक्ताले तिर्ने मूल्य बढाउनुपर्छ ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेशनले इन्धनको नयाँ मूल्य पठाएसँगै अब निगमलाई १५ दिनमा ३ अर्ब ९ करोड रुपैयाँ घाटा भइरहेको छ । यस्तो अवस्थामा मूल्य बढाउनुको विकल्प निगमसँग छैन ।

यदि सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको अत्यधिक कर कटौती गर्ने हो भने अहिले आयल निगमले बेहोर्दै आएको घाटा कम गर्न सहज हुनेछ ।

भारतमा के छ ?
भारतमा पेट्रोल–डिजलको मूल्य तत्कालका लागि बढाइएको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकार विधानसभा चुनावभन्दा ठिक अगाडि पेट्रोल तथा डिजलको मूल्य बढाउन उचित मानेको छैन । यद्यपि चुनाव सकिने वित्तिकै निश्चित रुपमा बढ्ने भन्दै भारतीय सञ्चारमाध्यमले समाचार प्रकाशित गरिरहेका छन् ।

अहिले भारतको उत्तर प्रदेशलगायत ५ राज्यमा चुनाव हुँदैछ । जसको नतिजा मार्च १० सम्म आइपुग्नेछ । भारतीय सञ्चारमाध्उमका अनुसारमा भारतमा पेट्रोलको मूल्य २० देखि २५ भारु अर्थात् करिब ४० रुपैयाँसम्म मूल्य बढ्न सक्छ ।
अहिले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य ११५ डलर प्रतिब्यालरेल पुगेको छ । यो भनेको पछिल्लो समयमा प्रतिब्यारेल ४० डलरको बढोत्तरी हो ।

अहिले भारतका विभिन्न सहरमा पेट्रोलको मूल्य प्रतिलिटर १५२ रुपैयाँदेखि १७३ रुपैयाँसम्म पुगेको छ ।

भारतमा पनि यतिबेला कर कटौती गरेर भए पनि उपभोक्तालाई पर्ने भार कम गर्ने विषयमा छलफल शुरु भइसकेको छ ।

रुस–युक्रेन युद्धको असर
रुसले युक्रेनमा सैन्य आक्रमण गरेसँगै विश्वको सेयर बजार घट्न शुरु गरेको छ । साथै सुनको मूल्य मात्रै नभइ क्रुड आयलको मूल्य पनि रेकर्ड स्तरमा पुगेको छ । रुस आयल तथा नेचुरल ग्याँसको ठूलो उत्पादक कम्पनी हो ।


क्लिकमान्डु