ब्याजदरबारे निर्णय गर्न बैंकर्स संघ, विकास बैंक र फाइनान्स संघको बैठक बस्ने



काठमाडौं । नेपाल बैकर्स संघको पूर्णबैठकले ब्याजदरको विषयमा निर्णय गर्नका लागि विकास बैंक र फाइनान्स कम्पनी एशोसियनसँग बस्ने निर्णय गरेको छ ।

संघका अध्यक्ष अनिल उपाध्यायले विकास बैंक र फाइनान्स कम्पनी एशोसियनसँग बसेर निर्णय गर्ने सहमति भएको बताए ।

बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव छ । पुसमा सरकारलाई कर तिर्नको लागि पैसा प्रणालीबाट सरकारको ढुकुटीमा जाने भएकोले अझै तरलता अभाव हुने छ ।

संघले शुक्रबार बोलाएको बैठकमा अब कसरी अघि बढ्ने भन्ने बारेमा गहन छलफल भएको थियो ।

‘आजको बैठकले ब्याजदर बढाउने वा नबढाउने भनेर कुनै पनि निर्णय गरेको छैन, निर्णय गर्ने समय अझै केही दिन बाँकी नै छ,’ अध्यक्ष उपाध्यायले क्लिकमाण्डूसँग भने, ‘केही दिनभित्रै हामी विकास बैंक र फाइनान्स कम्पनी एशोसिएशनसँग पनि बस्छौं र निर्णयमा पुग्छौं ।’

संघको पूर्णबैठकमा अधिकांश सीइओहरुले ब्याजदर बढाउँदैमा निक्षेप नबढ्ने राय राखेका थिए । उनीहरुले बैंकिङ प्रणालीमा तरलता बढाउनका राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई थप आग्रह गर्नुपर्ने र बैंकहरु पनि संयमित भएर अघि बढ्नुपर्ने धारणा राखे ।

शुक्रबारको बैठकले निर्णय केही नगरे पनि अहिले ब्याजदर बढाउनु हुन्न भन्ने निष्कर्श निकालेको बैंकरद्धय ज्ञानेन्द्र ढुंगाना र सन्तोष कोइरालाले जानकारी दिए ।

‘यसै गर्ने भन्ने निष्कर्श निस्किएको छैन तर अहिले ब्याजदर बढाउनु हुन्न भन्ने बैंकरहरुको निष्कर्श छ,’ ढुंगाना र कोइरालाको भनाइ छ ‘अहिलेकै ब्याजदरलाई निरन्तरता दिनुपर्छ भन्ने अधिकांश बैंकरको राय आएको छ ।’

आइतबार विकास बैंक र फाइनान्स कम्पनीसँग बसेपछि एउटा निर्णय लिने सहमति भएको अध्यक्ष उपाध्यायले जानकारी दिए ।

बिहीबार अर्थसमितिको बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुसमा ब्याजदर बढ्ने बताएका थिए ।

बैंक तथा वित्तीय संस्थाले पुस १ देखि लागू हुने गरेर नयाँ ब्याजदर प्रकाशित गर्ने छन् । राष्ट्र बैंकले अघिल्लो महिना ब्याजदरमा १० प्रतिशतमात्र ब्याज बढाउन पाउने नीति लिएको छ ।

ब्याजदरका बारेमा राष्ट्र बैंकले लिएका विभिन्न नीतिले बैंकरहरु अलमलमा परेका छन् ।


क्लिकमान्डु