भारतको नीतिले बैंकहरुको साढे ६ अर्ब ऋण जोखिममा, निकासी करिब ठप्प



काठमाडौं । भारत सरकारले लिएको नीतिसँगै बैंकहरुले खाने तेल उद्योगमा दिएको साढे ६ अर्ब रुपैयाँ कर्जा समेत जोखिममा परेको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्ममा बैंकहरुले खाने तेल उद्योगलाई ६ अर्ब ४० करोड रुपैयाँ कर्जा दिएका छन् ।

भारत सरकारले नेपाल बाहेक देशबाट आयात गर्दा भट्मास,सुर्यमुखी र कच्चा पाम आयलको आयातमा लाग्ने शुल्क घटाएको हो । नेपालबाट हुने निर्यातमा भने भन्सार शुल्क कम थियो । भारत सरकारले नेपाल बाहेक देशबाट आउने तेलको भन्सार दर घटाएपछि नेपालबाट हुने खाने तेलको निर्यात प्रभावित भएको हो ।

कात्तिक महिनामा पुरानो अर्डरमात्र निर्यात भएपनि नयाँ अर्डर नआएको व्यवसायीहरु बताउँछन् । नेपालले साफ्टा अन्तर्गतको सुविधा पाएको हुँदा नेपाली व्यवसायीले तेस्रो मुलुकबाट भट्मास तेल ल्याएर भारततर्फ निकासी गर्दै आएका थिए । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २२ अर्बको मात्र भट्मासको तेल निर्यात गरेको थियो । पाम आयाल १३ अर्बको तथा सुर्यमुखीको तेल डेढ अर्बको निर्यात भएको थियो । भारत सरकारले भन्सारदर नघटाएको भए चालु आर्थिक वर्षमा ८० अर्बजतिको खानेतेल निर्यात हुने थियो । नेपाली व्यवसायीले अर्जेन्टिनाबाट भट्मास तेल आयात गरेर नेपालमा केही प्रोसेस गरेर निर्यात गर्दै आएका थिए ।

खाने तेल उत्पादकले पाम आयलबाट भारततर्फ निकासी सुरु गरेका थिए । भारतले दिएको भन्सार सहुलियत अन्तर्गत मलेसिया र इन्डोनेसियाबाट पाम आयल आयात गरेर भारत निकासी गरेका थिए । भारत सरकारले पाम आयलमा कोटा तोकपछि यसको निर्यात कम भएको थियो । पामको स्थान भट्मासले लिएको थियो ।

भारततर्फ खाने तेलको निकासी बढेपछि उद्योगहरुले बैंकबाट लिने ऋण समेत बढेको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ । आर्थिक वर्षको २ महिनामा मात्र ७८ करोड रुपैयाँले खाने तेल उद्योगमा जाने ऋण बढेको छ । २ वर्ष अगाडि ४ अर्ब २७ करोड रुपैयाँ ऋण खाने तेल उद्योगमा गएको थियो । जुन भदौ मसान्तमा आइपुग्दा ६ अर्ब ४० करोड पुगेको छ । दुईवर्षमा २ अर्बभन्दा बढी ऋण खाने तेल उद्योगमा बढेको थियो ।

भारततर्फको निकासीको बजार देखेर खाने तेल उद्योगमा नयाँ व्यवसायीले समेत लगानी गर्न थालेका थिए । तर,भारतले भन्सार दरमा गरेको परिवर्तनपछि व्यवसायीका योजना समेत स्थगित भएका छन् । केही उद्योगले भारत तर्फको निकासीको बजार सम्भावना देखेर नै बैंकबाट लिने ऋण समेत बढाएका थिए । आउने दिनमा भारततर्फको निकासी व्यापार प्रभावित भएपछि बैंकबाट गएको ऋण समेत जोखिममा पर्ने छ ।

यद्यपी खाने तेल उद्योगमा गएको ऋण कुल ऋणमा न्यून रहेको र अरु व्यवसाय चलाउने उद्योगीले नै खाने तेल उद्योग चलाएको हुँदा ऋण भने उठ्ने बैंकरहरु बताउँछन् ।

भारततर्फको निकासीले बढेको व्यापार

त्रिवेणी ग्रुप अन्तर्गतको अन्नपूर्ण भेजिटेबल प्रालिले आर्थिक वर्ष २०७५/७६ मा ५ अर्ब ४३ करोडको व्यापार गर्यो । जबकी आर्थिक वर्ष २०७४/७५ मा यस्तो व्यापार ३ अर्ब ११ करोड तथा आर्थिक वर्ष २०७३/७४ मा २ अर्ब ५६ करोड थियो ।

उद्योगले आर्थिक वर्ष २०७५/७६ मा ईगुणाले व्यापार बढाउन सफल हुनुको कारण पाम आयलको व्यापार थियो ।

पामको व्यापार फस्टाएको अन्नपूर्ण भेजिटेबलमात्र होइन केडिया अग्रनाइजेशनले संचालन गर्ने उद्योग शुसील बनस्पतीको व्यापार आर्थिक वर्ष २०७४/७५ सम्म १ अर्ब ९४ करोड रुपैयाँको थियो । आर्थिक वर्ष २०७५/७६ मा पामको व्यापारसँगै शुसील बनस्पतीले ३ अर्ब ३४ करोड रुपैयाँको व्यापार गर्न सफल भयो । गतवर्ष ४ अर्ब २२ करोडको व्यापार भयो । यसरी व्यापार बढ्नुको कारण भारत तर्फ पाम आयल निकासी गर्न सफल भएको कारणले गर्दा भएको हो ।

लक्की ग्रुपले संचालन गर्ने गणपति बनस्पती प्रालिले आर्थिक वर्ष २०७४/७५ मा गरेको नाफा जम्मा १ करोड १० लाख रुपैयाँ थियो । आर्थिक वर्ष २०७५/७६ मा आइपुग्दा १३ करोड ९० लाख रुपैयाँ नाफा गणपति बनस्पतीले गर्न सफल भएको छ । बागमति ग्रुप अन्तर्गतको बागमती आयलले गतवर्ष २ अर्ब ५० करोडको व्यापार गरेको छ । जसको प्रमुख हिस्सा भारततर्फको निर्यात थियो ।


क्लिकमान्डु