मोटरसाइकल एसेम्बलिङ उद्योगलाई नयाँ मापदण्ड



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको मातहतमा रहेको उद्योग विभागले मोटरसाइकल एसेम्बलिङ उद्योगलाई नयाँ मापदण्ड ल्याएको छ ।

विभागले गत बुधबार सचना जारी गर्दै मोटरसाइकल एसेम्बलिङ उद्योग स्थापनाका लागि नयाँ मापदण्ड ल्याएको हो ।

विभागले नेपालमै मोटरसाइलको पार्टपुर्जामात्र आयात गरी नेपालमै जडान (एसेम्बल) गर्ने उद्योगका निमित्त सो मापदण्ड ल्याएको जनाएको छ ।

विभागले उक्त उद्योग सञ्चालन गर्नको लागि नयाँ चार वटा मापदण्ड तयार गरेको छ । जसमा आन्तरिक उद्योगले पहिलो वर्षमा कम्तमा १० प्रतिशत र पाँच वर्षमा कम्तीमा ३० प्रतिशतको आन्तरिक मूल्यवृद्धि गर्नुपर्ने मापदण्ड तय गरेको छ ।

त्यस्तै, विभागले पहिलो वर्षमा कम्तीमा ५० जनाले र ५ वर्षमा कम्तीमा २ सय जना श्रमिकले प्रत्यक्ष रोजगारी दिनुपर्ने विभागको भनाइ छ ।

त्यसैगरी, सो उद्योगहरूले पाँच वर्षभित्र कम्तीमा १० प्रतिशत घरेलु सामग्री प्रयोग गर्नुपर्ने नयाँ मापदण्ड तोकेको छ ।

साथै, विभागका अनुसार वातावरण विभाग, यातायात व्यवस्था विभाग, उद्योग विभागलगायत अन्य सरोकारवाला निकाय सम्मिलित समितिले वातावरण र सुरक्षाको सम्बन्धमा परीक्षण गर्ने जनाइएको छ ।

उद्योग विभागका हाल सबैप्रकारका गरी २५ वटा एसेम्बलिङ कम्पनी दर्तामा रहेका छन् । तीमध्ये दुई वटाले मात्र एसेम्बलिङ गरेका छन् । नेपालमा सवारीसाधनको बजार बढ्दो छ । स्वदेशमै सवारीसाधन उत्पादन गर्न सकिए रोजगारीको अवसर सिर्जना हुनेछ ।

नेपालमा करिब ४० लाखको हाराहारीमा सवारीसाधन आयात भएका छन् । स्वदेशमै एसेम्बलिङ उद्योग स्थापना गर्न सकिए निकट भविष्यमा आयातलाई पनि प्रतिस्थापन गर्न सकिने सम्भावना रहने उद्योगीहरूको भनाइ छ ।

नेपालमा धेरै सवारीसाधन कमपिल्टली विल्ड यूनिट (सीबीयू) आयात भइरहेको छ । बजाज र टीभएसले कमपिल्टली नक डाउन (सीकेडी) बाट एसेम्बलिङ गरिरहेका छन् । एसेम्बलिङ सम्बन्धी आवश्यक नीति नहुँदा स्वदेशमा उत्पादन भइरहेका सवारीसाधनको मूल्य आयातित सवारीसाधन जत्तिकै छ ।


क्लिकमान्डु