विदेशबाट फर्केका श्रमिकको हक सुनिश्चित गर्न सरकारसँग एनएनएसएमले राख्यो १९ बुँदे माग



काठमाडौं । प्रवासी श्रमिकको सम्मानजनक स्वदेश फिर्ती र दिगो पुनर्एकीकरण सम्मेलनमा श्रमिकको हक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्चाल (एनएनएसएम) ले आयोजना गरेको ‘प्रवासी श्रमिकको स्वदेश फिर्ती र दिगो पुनः एकीकरण सम्मेलन २०७८’ मा विदेशबाट फिर्ता आएका श्रमिकले पाउने हक अधिकार सुनिश्चित गर्न जोड दिएको हो ।

एनएनएसएमले आप्रवाशन क्षेत्रमा क्रियाशिल संघ, संस्था, विज्ञ, सरकारका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थितिमा २ दिने सम्मेलन आयोजना गरेको थियो । जसमा सो सम्मलेनमा एनएनएसएमले श्रमिकको हकअधिकार सुनिश्चित गर्नका लागि सरकारसँग १९ बुँदे माग गरेका छन् ।

एनएनएसएमले श्रमिकको पहिलो प्राथमितामा पुनर्एकीकरण गर्नुपर्नेमा जोड दिएका छन् । पुनर्एकीकरणका लागि तीनै तहका सरकारहरूको पुनर्एकीकरणको स्पष्ट परिभाषा र अवधारणागत स्पष्टतासहितको विशेष विषयगत नीति र दिर्घकालिन योजना तथा आवश्यक कार्यविधि तत्काल जारी गरी लागु गर्न माग गरेको छ । साथै, नीतिगत व्यवस्थाको तयारीमा स्वदेश फिर्ती श्रमिकहरूको प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक रहेको जनाएको छ ।

त्यसैगरी, एनएनएसएमले नीति तथा योजना आयोगको प्रभावकारी भूमिकामा स्वदेश फिर्ती श्रमिकको पुनःएकीकरण विशेष कार्यक्रम तथा योजना तयार, कार्यक्रम तथा योजना तयार, कार्यान्वयन र अनुगमन गर्नुपर्ने उल्लेख गरेको छ ।

एनएनएसएमले पुनर्एकीकरणलाई आर्थिक कार्यक्रमसँग मात्र सीमित नगरी स्वदेश फर्की आएका श्रमिकलाई सामाजिक तथा राजनैतिक, सामाजिक सुरक्षा र गुणस्तरीय जीवनको पक्षलाई समावेश गर्न अनुरोध गरेको छ । साथै, प्रदेश तथा स्थानीय तहहरूमा स्वदेश फिर्ता श्रमिकहरूको पुनःएकीकरण लागि विशेष कोषको व्यवस्था गर्न जोड दिएका छन् ।

एनएनएसएमले भारतबाट फर्किएका श्रमिकको खण्डीकृत तथ्याङ राख्नुपर्नेमा जोड दिएका छन् । जसमा प्रदेश र स्थानीय तहमा अद्यावधिक भई सोही अनुसारको वार्षिक योजना, विषयगत योजना र आवधिक योजनामा बजेटको सुनिश्चित हुनु पर्दछ । साथै, पुनःएकीकरण कार्यक्रममा विविधिकरण गर्दै रोजगार, स्वरोजगार, उद्यम, व्यवसाय, सहभागिता, नेतृत्वलगायतका विभिन्न क्षेत्रहरूमा समेटिनुपर्ने माग गरेका छन् ।

एनएनएसएमले सहुलियत कर्जा, स्वरोजगार, सहुलियतपूणर् कर्जा, वैदेशिक रोजगार बचतपत्र, सामाजिक सुरक्षा र सीप विकास तालिमजस्ता कार्यक्रमको सहजै सुचना पाउनको लागि सूचनाको सहज व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ ।

त्यस्तै, एनएनएसएमले विदेश जाने श्रमिकको सामाजिक सुरक्षा योजना, आपत्कालिन अवस्था र जोखिममा परेका श्रमिकको द्रुत उद्धार गर्नुपर्ने, घरले कामदारको सम्मानजनक घरफिर्ती, अपाङ्ग भई फर्किएका श्रमिकको सामाजिक सुरक्षा, महिला श्रमिकका बालबालिकाको जन्मदर्ता तथा पहिचानको अधिकार र मानव अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।


क्लिकमान्डु