तिहार लक्षित सपिङ शुरु, भाइमसलाको मूल्य नबढ्ने



काठमाडौं । नेपालीहरूको महान चाडपर्व तिहारमा सबैभन्दा बढी व्यापार हुने सामग्री हुन्, झिलमिली बत्त, फूलमाला र मसला ।

तिहारमा बत्तिको झिलिमिली, फूलैफूल र भाइमसालाको चार्डपर्व भनेर पनि चिनिन्छ । तिहार नजिकिँदै गर्दा बजारमा तिहारको लागि चहलपहल शुरु भइसकेको छ ।

पुष्प व्यवसायीहरूले तिहारका लागि फूलको माला बनाउने तयारी गरिरहेका छन् भने किराना पसलहरूमा भाइमसला र झिलिमिली बत्ती बिक्री गर्नका लागि तयारी गरिसकेका छन् ।

त्यस्तै, तिहारमा अत्यावश्यक सवैभन्दा वस्तु हो भाइमसाला । तिहारको माहोलमा करिब वर्षभरीको ५० प्रतिशतभन्दा बढी बिक्री हुने गरेको किराना व्यवसायी तथा खुद्रा व्यापार संघले जनाएको छ ।

गत वर्ष कोरोना महामारीका कारण बिक्रीमा गिरावट आएको मसलाको व्यापार यो वर्ष भने बढ्ने अनुमान लगाएका छन् । यो वर्ष पनि कोरोना महामरीकै समय भएपनि अधिकांश अर्थतन्त्र पूर्ण चलायमान भएकाले व्यापार बढ्ने व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले जानकारी दिए ।

हाल होलसेल व्यापारीहरूले तिहारमा आवश्यक भाइमसला बिक्री गर्नका लागि प्याकिङ भई बजारमा पठाउन थालिसकेको होलसेल व्यवसायीहरू बताउँछन् ।

विगतको दिनमा होलसेलबाट ल्याएर आफै घरमा प्याकिङ गथ्र्यो भने अहिले बजारमा धेरैजसो रेडिमेड पाउने गर्दछ । यसका लागि कुलेश्वर र कालीमाटीको व्यापारीले नै भाइमसला प्याकेट बनाउने गरेको केन्द्रले जनाएको छ ।

तिहारमा भाइमसलाको २० रुपैयाँदेखि एक हजारसम्म मूल्यको भाइमसला बढी तयार गर्न कामदार खटाएर प्याकिङ गर्ने गरेका छन् । जसले गर्दा खुद्रा बजार व्यापारीलाई सहज भएको व्यवासायीहरूले बताएका छन् ।

विगतको दिनमा खुद्रा व्यापारीहरुले आफैले ल्याएर प्याकिङ गरेर बेच्दा बिक्री नभएको खण्डमा व्यापारीको खर्च बढी हुने र घाटा व्यहोर्नुपथ्यो । तर, अहिले तिहारका लागि विशेष प्याकेजिङ गर्ने भएकाले होलसेल व्यापारीहरूले खुद्रा व्यापारीलाई तिहार समयवधिमा बिक्री भए हुन्छ नत्र बिक्री नभएको आफै फिर्ता लिने गर्दछ । त्यसैले, बजारमा सहजताका साथ आपूर्ति हुने गरेको महासचिव तुलाधारको भनाइ छ ।

तिहारमा सबैभन्दा बढी मसलाको रुपमा प्रयोग हुने काजु, आल्मोन्ड, पिस्ता, किसमिस, नरिवल, छोकडा, सुपारी, ओखर, मखना र मिश्री हो । विगतका वर्षमा जस्तो मसालाहरूको मूल्य यो वर्ष भने नबढ्ने भएको छ ।

तुलाधारकाअनुसार यो वर्षको गत वर्षको तिहारमा कायम भएको मूल्यमा केही वस्तुको मूल्य बढेको छ केही वस्तुको मूल्य घटेको छ । तर, खासै मूल्यमा धेरै भिन्नता नपाउने उनले बताए । जसमा सुकमेल, ओखरलगायतको मूल्य घटेको छ भने छोकडा र सुपारीको मूल्य बढेको बताए ।

‘खुद्रा बजारमा मसलाको मूल्यमा समिष्टिगत रुपमा हेर्दा गत वर्षकको मूल्य बराबरनै कायम भएको छ । त्यसमा, गुणस्तरको हिसाबले मूल्य तय हुने भएकाले साही अनुसार मूल्य थपघट हुन्छ,’ उनले भने ।

छोकडा र सुपारीको मूल्य अत्यधिक बढ्यो
बजारमा छोकडा र सुपारीको मूल्य भने अत्यधिक बढेको छ । गत वर्षको तिहारमा भारतीय सुपारी प्रतिकेजी ८५० रुपैयाँदेखि ९०० रुपैयाँ मूल्य कायम भएको थियो । साथै, सिङ्गापुरे सुपारी प्रतिकेजी ४ सय रुपैयाँमा बिक्री भएको थियो ।

तर, सरकारले गत वर्ष छोकडा र सुपारी आयातमा प्रतिबन्ध गरेपछि सो वस्तुको मूल्यभने आकासिएको तुलाधारले बताए । अहिले उक्त सुपारीको मूल्य प्रतिकेजी १ हजारदेखि १२ सय रुपैयाँसम्म पुगेको बताए ।

‘सरकारले प्रतिबन्ध गरेपनि व्यापारीहरूले चोरबाटोबाट छोकडा र सुपारीको आयात गर्दै आएका छन् । जसले गर्दा व्यवसायीहरूले पर्याप्त उपलब्ध नहुँदा मूल्य बढाएका छन्,’ तुलाधारले क्लिकमान्डूसँग भने ।

त्यस्तै, छोकडाको मूल्य गत वर्ष २ सय रुपैयाँमा प्रतिकेजी पाउने छोकडा यो वर्ष प्रतिकेजी २४० रुपैयाँदेखि २६० रुपैयाँ कायम भएको छ ।
तर, यता सुकमेलको मूल्य भने अप्रत्याशित रुपमा घटेको छ । गत वर्ष प्रतिकेजी ५७ सय रुपैयाँसम्म कायम भएको सुकमेलको मूल्य यो वर्ष ४२ सय रुपैयाँसम्म कायम भएको तुलाधारको भनाइ छ ।

साढे ८१ करोड बढीको मसला आयात
भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको असोज महिनामा साढे ८१ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको भाइमसला आयात भएको छ । जसमा असोज महिनामा मात्रै ८१ करोड ६९ लाख रुपैयाँ बराबरको ३४ लाख १३ हजार केजी मसला आयात भएको छ ।

त्यसैगरी, तीन महिनाको अवधिमा नेपालले ४ अर्ब ४ करोड ८ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ५३ हजार केजी मसला आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

कहाँबाट आयात हुन्छ ?
तिहारको लागि चाहिने मसला नेपालमा केही प्रकारका मात्रै उत्पादन हुने गर्दछ । तर, उक्त उत्पादन भएको ड्राइ फ्रुट्ले नेपाली बजारमा धान्न सक्दैन ।

त्यसैले अधिकांश ड्राइ फ्रुट्स विदेशबाट आयात हुने गर्दछ । त्यस्तै, मखना र ओखर बढीजसो चीनबाट आयात हुने गरेको छ । आलमण्ड (हाडे बदाम) भारत, अमेरिका र अस्ट्रेलियालगायतका देशबाट आयात गर्दछ ।

त्यसैगरी, अन्य देशहरू अफगानिस्तान, भियतनाम, कतार, थाइल्यान्ड, अमेरिकालगायत अन्य मुलुकबाट विभिन्न प्रकारका ड्राई फ्रुट्स अर्थात भाइमसला आयात हुने गर्दछ । तर, आयात भई तिहारको समयवधिमा बिक्री हुने भाइमसलाको भने हालसम्म संघसँग यकिन तथ्याङ्क नभएको संघले जनाएको छ ।


क्लिकमान्डु