कर्जा विवरण संकलन गर्दै राष्ट्र बैंक, अनुत्पादक क्षेत्रको कर्जा सीमा मौद्रिक नीतिले घटाउला ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेका कर्जा बिस्तृत विवरण खोज्न थालेको छ । जेठ मसान्तसम्म प्रवाहित कर्जाको प्रकार क्षेत्रअनुसार विवरण पठाउन राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको हो ।

आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माणका क्रममा रहेको केन्द्रीय बैंकले सम्बन्धित बैंक सुपरीवेक्षणमार्फत् यस्तो विवरण माग गरेको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

‘बैंकहरुले कारोबारको सबै विवरण सम्बन्धित सुपरिवेषणमा नियमित नै पठाउनु पर्ने हुन्छ तर, अहिले १ करोड रुपैयाँभन्दा माथिको विवरण कार्जको प्रकार र क्षेत्र छुट्याएर माग गरिएको छ,’ ती अधिकारीले क्लिकमाण्डूसँग भने, ‘गभर्नर कार्यलयबाटै प्रवाहित कर्जाको विवरण असार मसान्त अगावै तोकिएको खाकामा पठाइसक्न निर्देशन आएको थियो, त्यहीअनुसार सम्बन्धित सुपरिवेक्षणले तथ्यांक संकलन गरिरहेका छन् ।’

बैंकहरुलाई विषेश गरी घर÷जग्गा कर्जा, सेयर कर्जा, सवारी कर्जा, ट्रम लोन ओभरड्राफ्ट शीर्षकमा प्रवाहित कर्जाको बिस्तृत विवरण माग पेश गर्न भनिएको ती अधिकारीले जानकारी दिए । साथै, व्यवसायिक प्रयोजनका लागि र अन्य उत्पादमूलक क्षेत्रमा प्रवाहित कर्जाको समेत पछिल्लो तथ्यांक माग गरिएको उनले बताए ।

‘पछिल्लो समय अनुत्पादक क्षेत्रमा बढी कर्जा प्रवाह भएको देखिन्छ,’ उनले थपे, ‘कोभिडका कारण नयाँ व्यवसाय शुरु गर्नको कर्जा खास्सै गएको देखिदैँन तर सेयरधितो, घरजग्गा, सवारी कर्जा ओभरड्राफ्ट शिर्षशमा भने बैंकहरुको कर्जा वृद्धि अत्यधिक  छ ।’

आगामी मौद्रिक नीतिमार्फत् उत्पादन मुलक क्षेत्रमा जाने कर्जालाई प्रोत्साहन गर्ने तथा अनुत्पादक क्षेत्र र शिर्षक नखुलेका कर्जा प्रवाहमा केही कडाइ हुने उनको भनाइ छ । साथै, कतिपय बैंक तथा वित्तीय संस्था कुल कर्जा प्रवाह बढाए पनि प्राथमिकता प्राप्त क्षेत्रमा भने तोकिएको सीमाभन्दा थोरै कर्जा प्रवाह गरेको हुँदा त्यसमा समेत सम्बोधन मौद्रिक नीतिमा गरिने तयारी रहेको उनले जानकारी दिए ।

‘केही बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको सीमासम्म कर्जा प्रवाह गरेका छैनन्, तर अन्य क्षेत्रमा गएको कर्जाको वृद्धिदर भने अपत्यासिलो छ, वास्तवमै समस्यामा परेर तोकिएको क्षेत्रमा कर्जा प्रवाह गर्न नसक्ने बैंक र नियतपूर्वक व्यवसायिक फाइदाको लागिमात्रै कर्जा प्रवाह गर्ने बैंकहरु फिल्टर हुन्छन्, निक्र्यौल आएपछि ती बैंकलाई सोही अनुसारको काम कारवाही राष्ट्र बैंकले गर्छ,’ ती अधिकारीले भने ।

बैक तथा वित्तीय क्षेत्रको कर्जा प्रवाहको अवस्था
राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ४१ खर्ब ८ अर्ब २७ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

जुन गत आवको सोही अवधिको तुलनामा २६.७३ प्रतिशतको वृद्धि हो । गत आवको जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ३२ खर्ब ४१ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

चालु आवको जेठ मसान्तसम्म वाणिज्य बैंकहरुले मात्र ३६ खर्ब ५२ करोड ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा २९ प्रतिशतले बढी हो । गत आवको जेठ मसान्तसम्म वाणिज्य बैंकहरुले २८ खर्ब ३० अर्ब ९९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

यसैगरी, विकास बैंकहरुले गत आवको जेठ मसान्तसम्म ३ खर्ब ३६ अर्ब ३७ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसमा चालु आवको सोही अवधिमा आइपुग्दा १०.४३ प्रतिशतले वृद्धि गरी ३ खर्ब ७१ अर्ब ४५ करोड ८० लाख रुपैयाँ पुर्याएका छन् ।

साथै, वित्त कम्पनीहरुले गत आवको जेठ मसान्तसम्म ७४ अर्ब १४ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । चालु आवको सोही अवधिमा आइपुग्दा १३.८७ प्रतिशतले थप गरी ८४ अर्ब ४३ करोड ५० लाख रुपैयाँ पुर्याएका छन् ।


क्लिकमान्डु