निषेधाज्ञामा हिँड्न बैंकका कर्मचारीलाई थप कडाइ, यस्तो छ नयाँ व्यवस्था



काठमाडौं । निषेधाज्ञा अवधिभर तोकिएको शाखाका कर्मचारी बाहेकलाई बाहिर हिँड्ने बैंक तथा वित्त कम्पनीका कर्मचारीलाई प्रहरीले कारवाही गर्ने भएको छ ।

बैंकिङ सेवा दिने र लिने बाहनामा कोरोना संक्रमण थप बढेको भन्दै राष्ट्र बैंकले अनावश्यकरुपमा बाहिर हिँड्ने बैंकका कर्मचारी र सेवाग्राहीलाई कारवाही गर्न प्रहरीलाई सहजिकरण गरेको हो ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरुलाई उपत्यकाका ३ जिल्लामा आइतबारदेखि केन्द्रिय कार्यालयबाहेक ६ वटा शाखा कार्यालयबाट मात्रै सेवा सुचारु गर्न निर्देशन दिइसकेको छ ।

साथै बैंक तथा वित्त कम्पनीहरुले समेत सो निर्देशनको कार्यान्यवन गर्न थालिसकेका छन् । सो निर्देशन अनुसार बैंक तथा वित्त कम्पनीहरुले साताभर सुचारु गरिने कार्यालयलको नामावाली शुक्रबारै आफ्नो वेवसाइटमा सार्वजनिक गर्नु पर्नेछ ।

सुचारु गरिने शाखा र कार्यालयमा खटिने कर्मचारी नामावाली बैंकहरुले शुक्रबार नै राष्ट्र बैंक र जिल्ला प्रसाशन कार्यालयमा पठाउनु पर्नेछ । तोकिएको शाखा कार्यालयभन्दा बाहेकका कर्मचारी परिचयपत्र देखाएर बाहिर निस्किएमा प्रहरी प्रशासनले कारवाही गर्ने राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले बताए ।

‘बैंकहरुले आइतबारदेखि शुक्रबारसम्म उपत्यकाका ३ जिल्लामा कुन शाखा खुल्छन्, वेवसाइटमा राख्नुका साथै, सोको सूची सीडिओ कार्यालय र राष्ट्र बैंकमा समेत पठाउनु पर्नेछ,’ ढकाललेले क्लिकमाण्डूसँग भने, ‘तोकिएको बैंकका शाखादेखि बाहेकका कर्मचारी बाटोमा हिँडेको छ भने प्रहरीले बाटैमा रोकेर कारवाही गर्छ, त्यसमा बैंक वा राष्ट्र बैंक कोही पनि जवाफदेही हुँदैन ।’

हाल जिल्ला प्रशासनले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कार्यालयको परिचयपत्रको आधारमा निषेधाज्ञा हिँड्न पाउने व्यवस्था गरेको छ । बैंकले तोकेको शाखाका कर्मचारीसमेत कार्यालय समयभन्दा बाहेकमा हिँडेको भएमा प्रहरीलाई कारवाही गर्न रोकछेक नभएको उनले जानकारी दिए ।

‘कुन बैंकको कुन शाखा खुलेका छन्, त्यस क्षेत्रमा खटिएका प्रहरी प्रशाशनलाई थाहा हुन्छ,’ उनले थपे, ‘बन्द रहेका शाखामा जान्छु भन्ने ग्राहक र बन्द भएको शाखा कार्यालयको कर्मचारी प्रहरीले कारवाही गर्छ, त्यसमा व्यक्ति स्वयम् जवाफदेही हुनु पर्छ ।’

बैंकिङ कारोबार गर्ने र गराउने बाहनामा अनावश्यक आवजावत तथा भिडभाड गराएर कोरोना संक्रमण बढ्न थप मद्दत गरेको भन्दै जिल्ला प्रशासनले गुनासो गरेको हुँदा समस्या सावधानमा सहजिकरण गरिएको उनको भनाइ छ ।

निषेक्षाज्ञामा १/२ हजार रुपैयाँको चेक गोजीमा राखेर बाहिर हिँड्ने र बैंकको परिचयपत्र देखाएर आधा रातिसम्म बाहिर हिँड्ने कर्मचारीले संक्रमण बढाउन मद्दत गरिरहेका उनको भनाइ छ । प्रहरी प्रशासनको कारवाहीले सबैमा जनचेतना फैलिने र यस्तो समस्या बिस्तारै हट्ने उनले बताए ।

राष्ट्र बैंकले उपत्यकाका ३ जिल्लामा आइतबारदेखि वाणिज्य बैंकहरुले आफ्ना शाखा कार्यालयहरु भक्तपुरमा १ वटा, ललितपुरमा २ वटा र काठमाण्डौंमा ३ वटामात्र, विकास बैंकहरुले भक्तपुरमा १ वटा, ललितपुरमा १ वटा र काठमाण्डौंमा २ वटा, फाइनान्स कम्पनीले भक्तपुरमा १ वटा, ललितपुरमा १ वटा र काठमाण्डौंमा १ वटा मात्रै सञ्चालन गर्नु पाउने निर्देशन जारी गरेको छ ।

तोकिएको शाखा कार्यालय आलोपालो गरी सञ्चालन गर्न बैंकहरुलाई केन्द्रिय बैंकले निर्देशन दिएको हो । बैंकले तोकिएको शाखाभन्दा बाहेक अन्य शाखा सञ्चालन गरेन गरेको राष्ट्र बैंक नियमन विभाग र सुपरिवेक्षण विभागले निगरानी गर्ने छ ।

साथै, नामवाली अनुसारको बैंकका शाखा कार्यालय सुचारु भए नभएको र कर्मचारी सोही अनुसार बाहिर हिडेको प्रहरी प्रशासनले निगरानी, अनुगमन तथा गल्तीमा कारवाहीसमेत गर्ने प्रवक्ता ढकालले जानकारी दिए ।


पुष्प दुलाल