विश्व बैंकले काेरोना रोकथाम र खोपका लागि नेपाललाई ८.७ अर्ब अनुदान दिने



वासिङ्गटन  ।  विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत ७.५ करोड अमेरिकी डलर ( करिब ८.७ अर्ब नेपाली रूपैंया) बराबरको वित्तीय सहयोग अनुमोदन गरेको छ ।

बैंकको कार्यकारी निर्देशक बोर्डको आज बसेको बैठकले नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड विरूद्धका खोपहरूको समतामुलक वितरणमा सहयोग गर्ने निर्णय गरेको हो । यो वित्तिय सहयोगद्वारा समतामुलक वितरण योजनाको माध्यमबाट कम्तिमा एक तिहाई जनसंख्यासम्म खोप को सुविधा विस्तार गर्नसकिने अपेक्षा गरिएको छ ।

यस महामारीले हाम्रासामू विशाल चुनौती र अनिश्चित वातावरण खडा गरेको छ, विशेष गरी खोपको खरीद, आपूर्ति र वितरणको सन्दर्भमा,’ मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक  फारिस हदाद-जर्भोसले भने ।

उनले कम्तीमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्वाकांक्षी योजनालाई सघाउनका लागि हामीले चालेको यस शीघ्र कदम नेपाल र विश्व बैंकको बलियो साझेदारीको प्रमाण  भएको बताए ।

गत वर्ष चैतमा विश्व बैंकद्वारा स्वीकृत गरिएको २.९ करोड अमेरिकी डलर ( ३.३ अर्ब नेपाली रूपैयाँ) बराबरको कोभिड-१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी मूल आयोजना तथा सरकारको समग्र कोभिड-१९ प्रतिकार्यमा विकासका अन्य साझेदारहरूको सुनिश्चित सहयोगको सन्दर्भमा टेकेर यस अतिरिक्त वित्त सहयोग आएको हो ।

यस नविन वित्त सहयोगको अधिकांश हिस्सा (९० प्रतिशत) कोभिड-१९का खोपहरूको खरिद र कोभ्याक्स सुविधामार्फत् प्राथमिकतामा परेका २० प्रतिशत जनसङ्ख्या बाहेकका अन्य समुहमा खोप विस्तार गर्नमा परिचालित हुनेछ ।

बाँकी रकमले कोभिड-१९ खोपका पहलहरूलाई सघाउन र कोभिड-१९सँग सम्बन्धित आपूर्तिहरू जस्तै निदान परीक्षणहरू, प्रयोगशाला उपकरणहरू र चिकित्सकीय सामग्रीहरू खरिद गर्न मद्दत पुर्‍याई नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ पार्न सहयोग गर्नेछ ।  साथै यस अतिरिक्त वित्तपोषणले सामुदायिक संलग्नता र जोखिम संचारमा पनि सहयोग पुर्‍याउनेछ र हाल मौजूद डिजिटल प्रविधिमा आधारित महामारी सम्बन्धि तथ्यांक, निगरानी तथा अनुगमन प्रणालीलाईपनि सुदृढ तुल्याउनेछ ।

‘यो सहयोग नेपाली जनताका लागि शारीरिक स्वास्थ्य र नेपाल राष्ट्रका लागि आर्थिक स्वास्थ्यको रक्षा गर्न निकै महत्वपूर्ण हुनेछ,” विश्व बैंकको स्वास्थ्य, पोषण र जनसंख्या सम्बन्धी विश्वव्यापी अभ्यास अन्तर्गत दक्षिण एशियाका लागि अभ्यास प्रबन्धक, गेल रिचर्डसनले भन्नुभयो। “कोभिड-१९को अनुमोदित खोपको पहुँच सबैभन्दा जोखिममा रहेका समुदायमा द्रुत र न्यायसंगत रूपमा विस्तार गर्नाले जनसंख्याव्यापी प्रतिरक्षा सुनिश्चित हुन्छ, जुन कोभिड-१९को विनाशकारी प्रभावबाट उत्थानशिल पुनर्लाभ प्राप्त गर्नका लागि मुख्य शर्त हो ।’


क्लिकमान्डु