माघको पहिलो सातामा १८ वटा वाणिज्य बैंकको निक्षेप घट्यो, सबैभन्दा बढी प्रभु बैंकको घट्यो



काठमाडौं । एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन १० अर्ब रुपैयाँले घटेको छ । माघ २ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन ३७ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

जुन माघ ९ गतेसम्म आइपुग्दा ३७ खर्ब ६९ अर्ब रुपैयाँमा सीमित भएको छ । सो अवधिमा १८ वटा वाणिज्य बैंकहरुले निक्षेप संकलन घटेको हो ।

पछिल्लो समय बैंकहरुमा निक्षेप संकलनको तुलनामा कर्जाको माग न्यून छ । जसकारण विभिन्न मौद्रिक उपकरणमार्फत् ९१ अर्ब रुपैयाँ बजारबाट खिचेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी बताए । त्यसपछि पनि बैंकिङ प्रणालीमा ८० अर्ब रुपैयाँ अधिक तरलता रहेको उनले जानकारी दिए ।

नेपाल बैंकर्स संघद्वारा उपलब्ध तथ्यांकअनुसार माघ २ गतेदेखि ९ गतेसम्म अर्थात् एक सातामा १८ वटा वाणिज्य बैंकले निक्षेप घटाएका छन् । जसमा सबैभन्दा बढी प्रभु बैंकले १ अर्ब ९६ करोड रुपैयाँ र सबैभन्दा थोरै सिभिल बैंकले १९ करोड रुपैयाँले घटाएका हुन् । सो अवधिमा ९ वटा वाणिज्य बैंकले भने निक्षेप संकलन ९ करोड रुपैयाँदेखि १ अर्ब ८१ करोड रुपैयाँले बढाएका छन् ।

कर तिरिएको चेकको क्लियरिङ माघको पहिलो सातामा धेरै भएको कारणले बैंकहरुको निक्षेप घटेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

‘अहिले कर तिर्ने महिना हो, करका लागि बुझाइसकेको माघको पहिलो हप्तामा चेकहरुको क्लियरिङ भयो भन्ने लाग्छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘सरकारले पुस मसान्तमा ठुलो परिमाणमा राजश्व उठाएको छ त्यो भनेका करदाताले कि त निक्षेपबाट झिकेर तिर्नु भएको छ कि त कर्जा लिएर तिर्नु भएको छ ।’

प्रत्येक त्रैमासको अन्त्यमा बैंकहरुको निक्षेप घट्नु स्वाभिक नै भएको उनको बुझाइ छ । नेपाल इन्फास्ट्रक्चर बैंकको आइपीओ बाँडफाड पछि बैंकले संकलित रकम राष्ट्र बैंकमा राखेमा भने बैंकिङ प्रणालीबाट सो बराबरको निक्षेप बाहिरिने उनले जानकारी दिए ।

यता, केही बैंकरहरु भने निक्षेप संकलन र कर्जा प्रवाहको संतुलन मिलाउन बैंकहरुले योजना नै बनाएर निक्षेप घटाएको बताउँछन् ।

‘अहिलेपनि ठुलो लोनको माग प्राय बैंकहरुमा छैन तर ठुला परिमाणका निक्षेप राख्न भने ग्राहक आउँछन्,’ एक वाणिज्य बैंकका सीइओले क्लिकमाण्डूसँग भने, ‘कर्जाको माग नभएपछि त्यो बै.कमआ नै होल्ड हुन्छ तर, जति नै दरमा होस् निक्षेप लिएपछि त्यसको ब्याज बैंकले ग्राहकलाई दिनु पर्छ ।’

माघ लागेपछि निक्षेपकर्ताले व्यक्तिगत प्रयोजन तथा विभिन्न क्षेत्रमा लगानी गर्न निक्षेप झिकिरहेका तर सोही अनुसार बैंकहरुले भने ठुला परिमाणका निक्षेप नलिएको उनले जानकारी दिए ।

पछिल्लो समय बैंकहरुले आफ्ना शाखाहरुलाई संस्थागत निक्षेप नलिन निर्देशन नै दिएको एक बैंकका शाखा प्रवन्धकले बताए ।

‘माघ लागेपछि नै मेरो ब्राञ्चमा ग्राहकले जम्मा ५० करोड रुपैयाँ बढी र्फिता पठाएको छु,’ ती शाखा प्रवन्धकले क्लिकमाण्डूसँग भने, ‘त्यो १ वर्ष मुद्दतिमा ५ प्रतिशत ब्याजदरमा पैसा राख्न हेड अफिसलाई सोधेको केही समय ठुलो परिमाणमा निक्षेप नराख्ने निर्देशन आयो ।’

आफ्नो सरर्कलरमा रहेका अन्य बैंकका शाखा प्रवन्धकहरुलाई समेत उनीहरुको केन्द्रीय कार्यलयबाट केही समय ठुलो परिमाणमा निक्षेप नलिन निर्देशन दिएको उनले जानकारी दिए ।

माघ पहिलो सातामा निक्षेप घटाउने बैंकहरु

बैंकर्स संघद्वारा उपलब्ध तथ्यांक अनुसार १८ वटा वाणिज्य बैंकले निक्षेप घटाएका छन् । जसमा ८ वटा बैंकले १ अर्ब रुपैयाँदेखि १ अर्ब ९६ करोड रुपैयाँसम्म र १० वटा बैंकले १९ करोड रुपैयाँदेखि ९८ करोड रुपैयाँसम्म निक्षेप घटाएका हुन् ।

सो अवधिमा सबैभन्दा बढी प्रभु बैंक र नेपाल एसबीआइ बैंकले १ अर्ब ९६ करोड रुपैयाँले निक्षेप घटाएका छन् । साथै, कुमारी बैंकले १ अर्ब ८५ करोड रुपैयाँ र हिमालय बैंकले १ अर्ब ५२ करोड रुपैयाँले निक्षेप घटाएका छन् ।

माघको २ गतेको निक्षेपमा माघ ९ गतेसम्म एनसीसी बैंकले १ अर्ब ४२ करोड रुपैयाँले, स्ट्याण्डर्ट चार्डर्ड बैंकले १ अर्ब २७ करोड रुपौयाँले, नेपाल बैंकले १ अर्ब १२ करोड रुपैयाँ र एभरेष्ट बैंकले १ अर्ब ४ करोड रुपैयाँले निक्षेप संकलन घटाएका छन् ।

यसैगरी, सो अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकले ९८ करोड रुपैयाँले, माछापुच्छ«े बैंकले ७२ करोड रुपैयाँले, सनराइज बैंकले ५९ करोड रुपैयाँ र सेञ्चुरी बैंकले ५४ करोड रुपैयाँले निक्षेप घटाएका छन् ।

साथै, लक्ष्मी बैंकले ४९ करोड रुपैयाँले, एनएमबी बैंकले ४७ करोड रुपैयाँले, नबिल बैंकले ३४ करोड रुपैयाँले सिटिजन्स बैंकले २९ करोड रुपैयाँले, नेपाल बंगलादेश बैंकले २६ करोड रुपैयाँले र सिभिल बैंकले १९ करोड रुपैयाँले माघको पहिलो सातामा निक्षेप घटाएको छ ।


पुष्प दुलाल