विदेश पढ्न जाँदै हुनुहुन्छ, कुन बैंकले कति ब्याजमा ऋण दिन्छन् ?
काठमाडौं । नेपालबाट उच्च शिक्षाका लागि विदेशी भूमिमा पाइला राख्ने विद्यार्थीको संख्या वर्षेनी बढ्दो छ । स्वदेशी शिक्षाबाट टाढिएर विदेशमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा आर्जन हेतू वर्षेनी ७० हजारभन्दा बढी इच्छुक विद्यार्थीहरुले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिन्छन् ।
तर एनओसी लिने सबै विदेश जान्छन भन्ने हुँदैन, त्यससमध्ये भिसा पाउने विद्यार्थीहरु विदेश जान्छन् ।
नेपाली विद्यार्थीको रोजाइमा अष्ट्रेलिया, अमेरिका, भारत, यूके, युरोप, क्यानडा जापान, चीन, बंगलादेशलगायतका मुलुकमा धेरै विद्यार्थी जान्छन् । शिक्षामन्त्रालयको तथ्यांक अनुसार ७८ देशमा अध्ययन गर्नका लागि विद्यार्थीहरुले अनुमति माग गरेका छन् ।
तुलनात्मक रुपमा स्वदेशी शिक्षाको दाँजोमा विदेशी कलेज तथा विश्वविद्यालयको शिक्षा निकै महंगो पर्छ । ५÷७ लाख रुपैयाँले स्वदेशमा राम्रो कोर्स पढ्न पाउने विद्यार्थीका लागि एकै सेमेस्टरको १० लाखभन्दा बढी रुपैयाँ खर्चनु पर्छ ।
औसतमा अधिकांश नेपाली विद्यार्थीका अभिभावकले सम्पूर्ण रुपैयाँ खर्च गरेर विदेशी भूमिका सन्तान पढाउन सक्दैनन् । त्यसैले अभिभावकले सन्तानलाई विदेश पढाउनका लागि बैंकबाट एजुकेशन लोन लिनुपर्ने अवस्था छ ।
फेरि विभिन्न देशहरुले पनि अभिभावकको सम्पत्तिको तुलनामा बैंकको लोनलाई बढी विश्वास गरेको पाइन्छ । विद्यार्थी र उनीहरुका अभिभावकहरु एकपटक विदेश पुगिसकेपछि त्यतै कमाउँछन् र खर्च जुटाउँछन भन्ने सोचमा हुन्छन् । जसले सम्बन्धित देशका लागि भिसा अफिसरहरुलाई जेन्युन लाग्दैन र भिसा रिजेक्ट हुन्छ ।
कस्ले पाउँछन ऋण ?
विद्यार्थीका लागि एजुकेशन लोन दिनका लागि विभिन्न बैंकले आ–आफ्नै मापदण्ड बनाएका हुन्छन् । जसमा उनीहरुको मासिक आम्दानी कति छ ? त्यसका लागि आवश्यक धितो, कर चुक्ताको प्रमाणपत्र, अडिट रिपोर्ट आदि हेर्छन् । यसका साथै विद्यार्थीका लागि लाग्ने आवश्यक खर्च कति छ त्यसका आधारमा पनि लोन दिने गरेको पाइन्छ ।
जसका लागि बैंकहरुले औसतमा मासिक १ लाख ५० हजार रुपैयाँ आम्दानीको स्रोत तथा ऋणका लागि आवश्यक धितो र कर चुक्ताको प्रमाणपत्रा आधारमा ऋण उपलब्ध गराउँदै आएका छन् ।
कुन बैंकको ब्याजदर कति ?
शैक्षिक कर्जामा सबैभन्दा सस्तो ब्याजदर राष्ट्रिय वाणिज्य बैंकले तोकेको छ । उसले ६.६० प्रतिशतको बेस रेटमा अधिकतम ३.४० ब्याजदर जोड्दा १० प्रतशितमा ब्याद दिने उल्लेख गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकपछि नेपाल बंगलादेश बैंकले एजुकेशन लोनका लागि ११.८७ प्रतिशत तोकेको छ । त्यस्तै, नेपाल बैंकले १२.७६ प्रतिशत, नविल बैंकले १२.९४ प्रतिशत एजुकेशन लोन तोकेको छ ।
साथै, हिमालयन बैंकले १३.९३ प्रतिशतसम्म एजुकेशन लोन दिने उल्लेख गरेको छ भने सेञ्चुरी बैंकले एजुकेशन लोन१३.९५ प्रतिशत तोकेको छ । साथै, प्राइम र प्रभु बैंकले समान १४।२४ प्रतिशत, नेपाल इनभेस्टमेन्ट बैंकले १४.७३ प्रतिशत, नेपाल एसबीआई बैंकले १४.९४ प्रतिशत, सानिमा बैंकले १५.२२ प्रतिशत, एभरेष्ट बैंकले १५.३२ प्रतिशत, कृषि विकास बैंकले १५.३५ प्रतिशत, ग्लोवल आइएमई र सिभिल बैंकले समान १५.४४ प्रतिशत ब्याजदर तोकेका छन् ।
त्यस्तै, सिद्धार्थ बैंकले १५.५२ प्रतिशत, सनराइज बैंकले १५.९७ प्रतिशत, माछापुछ्रे र बैंक अफ काठमाण्डू बैंकले समान १६.०२ प्रतिशत शैक्षिक कर्जाका लागि ब्याजदर तोकेका छन् ।
साथ, मेगा बैंकले १६.१९ प्रतिशत, लक्ष्मी बैंकले १६.२४ प्रतिशत, एनआईसी एसिया बैंकले १६.५१ प्रतिशत, एनसीसी बैंकले १६.७७ प्रतिशत, एनएमबि बैंकले १८.४९ प्रतिशत र सबैभन्दा बढी कुमारी बैंकले १८.६२ प्रतिशत शैक्षिक कर्जाका लागि ब्याजदर तोकेको छ ।
कति बुझाउनुपर्छ शुल्क ?
विद्यार्थीले अध्ययनका लागि विदेश पठाउँदा २ प्रतिशत कर राजस्व बुझाउनुपर्छ । ‘आर्थिक विधयेक २०७६’ मा भनिएको छ, विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्क वापत विदेशी मुद्राको सटही सुविधा दिँदा त्यस्तो सटही रकममा २ प्रतिशत शिक्षा सेवा शुल्क लगाइने र असुल गरिनेछ ।’
सरकारलाई बुझाउने यो रकम सम्बन्धित बैंकमै जम्मा गरिदिनुपर्छ भने बैंकले सरकारलाई बुझाउनुपर्छ ।
जस्तै, तपाईले १० लाख रुपैयाँ विदेश पठाउँदै हुनुहुन्छ भने त्यसवापत सरकारलाई २ प्रतिशत अर्थात् २० हजार रुपैयाँ बुझाउनुपर्छ ।
त्यसबाहेक पनि बैंकले आफूले दिएको सेवा वापत केही शुल्क लिन सक्छन् । जसमा जति रकम पठाउने हो त्यसको औसतमा १ प्रतिशतसम्म बैंकले लिँदै आएका छन् । यस प्रकारले हेर्दा १० लाख रुपैयाँ विदेश पठाउने हो भने कम्तीमा ३० हजार रुपैयाँ राजस्व र बैंकको सेवा शुल्कवापत अतिरिक्त बुझाउनुपर्छ ।
बैंकबाट उच्च शिक्षाका लागि लोन दिँदा औसत ४० लाख रुपैयाँको लोन लिनुपर्छ । जसमध्ये ४० लाख रुपैयाँको १ प्रतिशत अर्थात ४० हजार रुपैयाँ बैंकलाई नै सेवा शुल्कवापत बुझाउनुपर्छ ।
विद्यार्थीका लागि प्रत्येक पटक बैंकमार्फत् नै लोन जाने भएकाले बढी विश्वस्नीय हुन्छ । र, यसरी प्रत्येक पटक बैंकले रकम विदेश पठाउँदा पठाएको रकमको २ प्रतिशत राजस्व र १.२ प्रतिशतसम्म बैंकले सेवा शुल्क लिन्छन् ।
पुतलिसडकस्थित ग्लोवल च्वाइस एजुकेशन कन्सलटेन्सीका सञ्चालक तथा कन्सलट्यान्ट थीरलाल भट्ट नगदभन्दा पनि बैंकको लोनलाई नै बढी विश्वास गर्ने अनुभव सुनाए ।
‘नगद देखाउने हो भने स्रोत पनि देखाउनु पर्छ, अष्ट्रेलियाको हकमा त्यो नभएको हकमा कम्तीमा ३ महिना क्यास राखेको बैंक स्टेटमेन्ट चाहिन्छ, तर पनि बैंकको लोनलाई बढी विश्वस्नीय मानिन्छ’ भट्टले भने ।
बैंकको हकमा पनि अहिले सबै २७ वटा बैंकको लोनलाई नै मान्छन । यद्यपि कुमारी बैंक र प्राइम बैंकको लोन खासै प्रचलनमा भने छैन् । सन् २०१४ तिर कुमारी र प्राइम बैंकबाट कागजी लोन बनाएको भन्दै २००० विद्यार्थीको भिसामा समस्या देखिएपछि अष्ट्रेलियाले नविल बैंक र नेपाल एसबीआई बैंकको लोन मात्रै लिन्थ्यो । तर पछि सबै वाणिज्य बैंकले एजुकेशन लोन दिन पाउने नियम बनाएको थियो ।
के-के चाहिन्छ कागजपत्र ?
एजुकेशन लोन लिनका लागि बैंकमा नागरिकता, पासपोर्टसँगै फोटो चाहिने नै भयो । साथमा कसले कसका लागि लोन लिन लागेको हो नाता प्रमाणित प्रमाणपत्र, विवाह गरेको त्यसको पनि प्रमाणपत्र, कुनै कम्पनी वा संस्था भए त्यसको कागजपत्र, प्यान/भ्याटको दर्ता कागज, विश्वविद्यालय वा कलेजको सीईओ, शिक्षामन्त्रालयबाट प्राप्त एनओसी आवश्यक पर्छ ।
साथै, धितोका रुपमा जग्गाको लालपुर्जा पनि चाहिन्छ । कर चुक्ता प्रमाणपत्र पनि चाहिन्छ । त्यस्तै, आम्दानीको स्रोत चाहिन्छ । यती कागजपत्र बुझाएपछि बैंकको नियमअनुसार केही समयपछि लोन स्वीकृत हुन्छ ।