एचआईडीसीएलको नगद लाभांश पारित



काठमाडौं । हाइड्रोलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेलभपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ५.२५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीको वार्षिक साधारणसभाले सञ्‍चालक समितिले प्रस्ताव गरे बमोजिम सेयरधनीहरुलाई चुक्ता पूँजीको ५.२५%  का दरले हुने एक अर्ब अठ्ठाइस करोड त्रियानब्बे लाख नब्बे हजार रुपैयाँ नगद लाभांश (कर सहित) नेपाल सरकारको स्वीकृति लिएर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बुधबार कम्पनी साधारणसभा सम्पन्न भएको हो । संस्थापक समूह अन्तर्गतको उपसमूह क-२ का अन्य संस्थापक सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरी भएको निर्वाचन प्रकृयाबाट अनुज्ञा सापकोटा सञ्‍चालक पदमा निर्वाचित गरिएको छ ।

कम्पनीको अधिकृत पुँजी ५० अर्ब रुपैयाँ र हालको चुक्ता पूँजी २४ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीबाट नयाँ आयोजनाहरुमा सेयर लगानी भएको र सहायक कम्पनीहरुमा समेत थप सेयर लगानी भएकोले अघिल्लो वर्षको तुलनामा सेयर लगानीको रकम २८.३% वृद्धि भएको छ । ४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

 आर्थिक वर्ष २०८०/८१ मा आयोजनाहरुमा भएको कुल ऋण प्रवाहमा २०.८ प्रतिशतले कमी भई जम्मा ७ अर्ब ३५ करोड रुपैयाँ ऋण बाँकी छ । यसैगरी, प्रवाहित ऋणको ब्याजदरमा गिरावट भएको र ऋणको साँवा कम हुँदै गएकाले समीक्षा अवधिमा ऋण लगानीबाट ब्याज आम्दानी अघिल्लो बर्षको तुलनामा ३.४% ले कम भई आर्थिक ८० करोड ८ लाख  रुपैयाँ छ । समग्रमा आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल आम्दानीमा अघिल्लो वर्षको तुलनामा ०.२% ले कमी भई २ अर्ब १७ करोड आम्दानी प्राप्त भएको छ ।

सो अवधिको कुल खर्चमा ४२.५% प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ मा खुद मुनाफा ५.६% ले बढेर १ अर्ब ४५ करोड खुद मुनाफा भएको छ । कम्पनीबाट सूचीकृत कम्पनीमा भएको सेयर लगानीमा सेयरको बजार मूल्यको कारणले सिर्जित आम्दानी समेत थप गर्दा कम्पनीको कुल मुनाफा २ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ मा प्रति सेयर आम्दानी ५.% ले वृद्धि भएको छ ।

कम्पनीबाट हालसम्म कुल ३ हजार ७३० मेगावाट क्षमताका ३४ जलविद्युत आयोजना, २५ मेगावाट क्षमताका दुई वटा सौर्य ऊर्जा , ४०० केभी क्रसबोर्डर प्रसारण लाइन र अन्य तीन वटा ऊर्जासँग सम्बन्धित कम्पनीहरुमा कुल ५४ अर्ब २६ करोड रुपैयाँ बराबरको ऋण तथा सेयर लगानी स्वीकृत भएको छ ।

१३ अर्ब ८५ करोड रुपैयाँ बराबरको लगानी रकम भुक्तानी भइसकेको छ । कम्पनीबाट लगानी भएका आयोजनाहरुमध्ये ८५० मेगावाट क्षमताका १३ जलविद्युत आयोजना र एउटा क्रसबोर्डर प्रसारण लाईन आयोजनाको निर्माण सम्पन्न भई व्यापारिक उत्पादा सुरु भएको छ ।

यसका अतिरिक्त कम्पनीमा सरकारी क्षेत्र तथा निजी क्षेत्रबाट अगाडि बढाइएका अध्ययन तथा निर्माणको विभिन्न चरणमा रहेका कुल २,४०० मेगावाट क्षमताका १६ वटा जलविद्युत तथा सौर्य आयोजनाहरु र २ वटा हाइभोल्टेज प्रसारण लाइन आयोजनाहरुमा करिब ३७ अर्ब रुपैयाँ बराबरको ऋण तथा सेयर लगानीका लागि प्रस्तावहरु उपर छलफल, अध्ययन तथा मूल्यांकनका कार्यहरु भइरहेका कम्पनीले जनाएको छ ।


क्लिकमान्डु