होटल रेष्टुरेन्टमा ३ लाख ८७ हजार व्यक्ति संलग्न, तलबमा खर्च गर्छन् वार्षिक २० अर्ब रुपैयाँ
काठमाडौं । नेपालको होटल तथा रेष्टुरेन्टमा ३ लाख ८७ हजार ७४७ व्यक्ति संलग्न भएका छन् । आतिथ्यता उद्योगमा सक्रिय रहेको व्यवसायी तथा साझेदारहरु, वेतलबी पारिवारिक सदस्यहरु र तलबी रोजगार व्यक्तिहरुलाई यो क्षेत्रमा संलग्न जनशक्तिका रुपमा केन्द्रीय तथ्यांक कार्यालयले विश्लेषण गरेको छ ।
कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार १ लाख ४२ हजार २२३ वटा आवास तथा भोजन सेवा प्रदान गर्ने होटल/रेष्टुरेन्ट (प्रतिष्ठान) सञ्चालनमा रहेका छन् । यी प्रतिष्ठानमा संलग्न ३ लाख ८७ हजार जनशक्तिमध्ये एक लाखा मात्रै नियमित तबल पाउने तथा ज्यालादारी कर्मचारी रहेका छन् ।
कार्यालयले बुधबार तथ्यांक दिवस २०८१ को अवसर पारेर सार्वजनिक गरेको होटल तथा रेष्टुरेन्ट सम्बन्धी उक्त सर्वेक्षण अनुसार देशैभरीका यो क्षेत्रमा काम गर्ने तलबी मजदुर भने जम्मा १ लाख ६ हजार ४५९ जना मात्रै रहेका छन् ।
तथ्यांक कार्यालयले २०७९/८० को एक आर्थिक वर्षलाई आधार बनाएर गरेको अध्ययनअनुसार होटल तथा रेष्टुरेन्टमा काम गर्ने मजदुरको लागि वार्षिक रुपमा खर्च भएको ज्याला वापतको रकम २० अर्ब ६१ करोड ५० लाख रुपैयाँ रहेको छ ।
यो रकम होटल तथा रेष्टुराँमा काम गर्ने मजदुरको ज्यालाका हिसावले प्रति मजदुर औषत ज्याला मासिक १६ हजार रुपैयाँमात्रै भएको पनि तथ्यांकले देखाउँछ ।
केन्द्रीय तथ्यांक विभागले होटल क्षेत्रको सर्वेक्षण २० वर्ष पछि गरेको हो । यस अघि २०६० सालमा यस्तो सर्वेक्षण भएको थियो । त्यतिबेला ‘होटल तथा लज सर्वेक्षण २०६०’मा तारे होटल, रिसोर्ट, गैर तारे होटललाई समावेश गरिएको थियो ।
२० वर्ष पछि सर्वेक्षण गरिएको यो पटकको ‘होटल तथा रेष्टुरेन्ट सर्वेक्षण २०८०’मा आवास सेवा प्रदान गर्ने तारे होटल, गैरतारे होटल, रिसोर्ट, लज, होमस्टे, अतिथि गृह/सेवा सदन, होस्टेल र भोजन सेवा प्रदान गर्ने समेतका सबै प्रकारका सेवालाई समावेश गरिएको छ । यो सेवामा रेष्टुरेन्ट तथा क्याटरिङ /पार्टी प्यालेसहरुसमेतलाई समावेश गरिएको पनि उल्लेख छ । तथ्यांक कार्यालयले यस पटकको सर्वेक्षणलाई पहिलो एकीकृत राष्ट्रिय होटल तथा रेष्टुरेन्ट सर्वेक्षण पनि भनेको छ ।
सर्वेक्षण अनुसार नेपालका आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरुले २ खर्ब १६ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ लागतको रुपमा खर्च गरेका छन । यसबाट यो सेवा क्षेत्रले ३ खर्ब २६ अर्ब १ करोड ४ लाख रुपैयाँ मूल्य बराबरको सेवा उत्पादन गरेको पनि तथ्यांकमा उल्लेख छ ।
यो क्षेत्रले नेपालको अर्थतन्त्रमा करिब १ खर्ब ९ अर्ब २७ करोड १ लाख रुपैयाँ बराबरको मूल्य अभिबृद्धि (भ्यालु एडेड) गरेको देखिएको छ ।
यी सेवा उद्योग अन्तर्गत होटल तथा रेष्टुरेन्टले मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा १.९६ प्रतिशतको योगदान दिनएको देखिएको छ ।
सर्वेक्षणको नतिजाले मुलुकको आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरुमा करिब ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रुैियाँ मूल्य बराबरको स्थायी सम्पत्ति रहेको देखाएको छ ।
यो उद्योगमध्ये आर्थिक वर्ष २०७९/८० सम्ममा जम्मा २८.४ प्रतिशतले मात्रै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सेवा प्रदान गरेका छन् । बाँकी ७१.६ प्रतिशतले ऋण बिना नै सेवा प्रखायन गरिरहेको पनि सर्वेक्षणको तथ्यांकले देखाएको छ ।
रेष्टुरेन्टको हिस्सा ८८ प्रतिशत
सरकारी अध्ययन प्रतिवेदनका अनुसार देशैभर आवास तथा भोवन सेवा दिन प्रतिष्ठानमध्ये रेष्टुरेन्टको मात्रै हिस्सा ८८ प्रतिशत रहेको छ । बाँकी रहेको १२ प्रतिशत प्रतिष्ठान मात्रै तारे होटल, लज र अरु भोजन सेवा गर्ने निकाय भएको पनि सर्वेक्षणको तथ्यांकमा उल्लेख छ ।
सर्वेक्षण अनुसार देशैभर रहेका १ लाख ४२ हजार प्रतिष्ठानमध्ये तारे होटल १२६ वटा, तार नभएको र लज ११ हजार ९१९ वटा, रिसोर्ट १२६ वटा, होमस्टे १ हजार ३४५ वटा, रेष्टुरेन्ट १ लाख २६ हजार ८५९ वटा र क्याटरिङ/पार्टी प्यालेस ८०१ वटालाई आधार मानेर तथ्यांक विश्लेषण गरिएको छ ।
हाल सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्ट मध्ये कोसी प्रदेशमा २५ हजार ८ सय ८७, मधेस ११ हजार ७ सय ४०, बागमती ५२ हजार १ सय २३, गण्डकी १६ हजार ९ सय ७६, लुम्बिनी २० हजार १ सय ५६, कर्णाली ७ हजार १ सय १० र सुदूरपश्चिम प्रदेशमा ८ हजार २ सय २८ छन् ।