भीम रावलले किन खोलेनन् नयाँ पार्टी ?



काठमाडौं । एमालेबाट निष्कासित भएपछि पूर्वउपाध्यक्ष भीम रावलले बुधबार पत्रकार सम्मेलन गरे ।

पत्रकार सम्मेलनमा करिब दुई घण्टा सम्बोधन गरेका रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि गालीको फोहोरा वर्षाए ।

ओलिविरुद्ध खनिएका रावलले आज नयाँ पार्टीको घोषणा गर्ने भन्दै चर्चा भइरहे पनि उनले पार्टीको घोषणा भने गरेका छन् ।

तर उनले सम्बोधनको अन्तिममा उनले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरे र राष्ट्रवादीहरु एक ठाउँमा भेला हुनु पर्ने बताए ।

उनले विभिन्न राजनीतिक दल, व्यक्ति र समूहसँग मिलेर आफू अघि बढ्ने उनले बताए । त्यसक्रममा उनले नेपाली कांग्रेस विपीको नाम भने लिए । केही दिनअघि उनले उक्त समूहका नेतासँग छलफल गरेको समाचार बाहिरिएका थिए ।

पत्रकारको प्रश्नमा उनले बालेन शाह, हर्क साम्पाङ, दुर्गा प्रसाईं, गोपी हमाल, रवि लामिछाने मात्र नभइ अन्य व्यक्ति तथा पार्टी मुद्दा मिल्नेसँग मिलेर अघि बढ्न सक्ने बताए ।

संगठन बनाउन आफू नडराएको उनको भनाइ छ । यो अभियान भविष्यको सशक्त संगठन निर्माणको आधार हुने उनले बताए।

देशभक्तहरुको उद्देश्य एकै हुने भन्दै उनले देशको लागि जनताको लागि समर्पित भएर आउँछ भने हातेमालो गर्न नपर्ने कारण के छ र? भन्दै प्रश्न गरे ।

संगठन निर्माणको प्रक्रिया हतारहतारमा हुने कुरा नभएको उनको भनाइ छ ।

उनको पत्रकार सम्मेलन नयाँ पार्टीको घोषणाभन्दा पनि आफूलाई पार्टीबाट निष्कासन गरेको भन्दै एमाले र त्यसका अध्यक्ष ओलीविरुद्ध आरोप लगाए । उनले एमाले अध्यक्षले आफ्ना प्रश्नहरुको जवाफ दिनुपर्ने बताए ।

नेकपा एमालेले गरेको कारबाही पुनरावलोकन गरे एमालेमा फिर्ता हुनुहुन्छ भन्दै पत्रकारको प्रश्नमा उनले कथा सुनाए ।

रावलले आफ्नो गाउँतिर प्रचलित कथा भन्दै त्यसको जवाफ दिए र कार्यक्रमस्थलबाट हिँडे ।

रावलले सुनाएको कथा

चेलीको विहेपछि धेरै टाँढा पठाउने चलन हुन्थ्यो । खोला तरेर जानुपर्थ्यो तर पुल हुँदैन थियो । बुबाआमा भेट्न नपाएर घरमा छोरी धेरै रुन्थिन् भने यता आमाबुबा छोरी भेट्न नपाएर धेरै रुन्थे रे । छोरीले सोध्थिन् रे बुबाआमा म कहिले फर्कन्छु ?

बुबा आमाले सल्लाह गर्थे-यसलाई त आशामा बच्न दिनुपर्छ

छोरी जहिले त्यो लेकको उन्यू फूल्छ, त्यहीँ दिन तँलाईं बोलाउला ।

तर, न लेकको उन्यू फूल्यो न बाबुआमाले बोलाए !

ओलीमाथि प्रश्नै प्रश्न

रावलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो निष्कासनको विषयमा कडा प्रतिवाद गरे । बुधबार आयोजित पत्रकार सम्मेलनमा रावलले आफूलाई दसौँ महाधिवेशनमा अध्यक्ष पदमा उठेको भन्दै प्रश्न गरेको ओलीको भनाइप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे ।

रावलले भने, ‘मलाई अध्यक्ष पदमा किन उठेको भनेर प्रश्न गर्दा प्रतिप्रश्न गर्न मन लाग्यो— के तपाईंले पनि आठौँ महाधिवेशनमा झलनाथ खनाल र नवौँ महाधिवेशनमा माधवकुमार नेपालसँग प्रतिस्पर्धा गर्नुभएको होइन?’

उनले थपे, ‘के कुनै विशेष ठाउँमा जन्मेको, कुनै थर भएको, वा अरू कुनै कारणले मात्र अध्यक्ष पदमा उठ्न पाइन्छ? पार्टीभित्र सुशासन, पारदर्शिता, र लोकतान्त्रिक मान्यताका आधारमा प्रतिस्पर्धा गर्नु अपराध हो?’

भीम रावलले आफ्नो ५१ वर्षे राजनीतिक योगदानलाई बेवास्ता गर्दै पार्टीबाट निष्कासन गर्नु अन्यायपूर्ण भएको बताए । उनले एमाले नेतृत्वले पार्टी सदस्यसमेत नरहने गरी गरिएको कारबाहीलाई गुटबन्दी र अधिनायकवादी मानसिकताको परिणाम भने।

‘मलाई महाधिवेशनमा अध्यक्षमा उठेको कारण कारबाही गर्ने ओलीले भ्रष्टाचार, दलाली, र अनैतिक काममा संलग्नहरूसँग साँठगाँठ गरेर सुशासन र समाजवादको कुरा गर्नु पत्याउन नसकिने अवस्था छ,’ रावलले भने।

रावलले ओलीसँग संवादका लागि पटक-पटक प्रयास गरे पनि ओलीले समय नदिएको गुनासो गरे। उनले ओलीले आफ्नो बारेमा ‘भीम रावलले कुरा गर्न चाहँदैन’ भन्ने कुप्रचार गरेको दाबीसमेत गरे।

‘पार्टीभित्रै छलफल र सहमति खोज्ने मेरो प्रयासलाई नजरअन्दाज गर्दै पार्टीलाई गुटबन्दीमार्फत चलाइएको छ,’ उनले भने।

रावलले पार्टीभित्र गुटबन्दी चलाएर जनताको हितमा काम गर्नेलाई निषेध गर्ने र प्रतिनिधिसभा चुनावमा टिकटसमेत नदिने ओलीको शैली जवजको सिद्धान्तविपरीत भएको बताए ।

‘जनताको पक्षमा उभिएका नेताहरूलाई पन्छाएर पार्टीलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्नु देशको लोकतन्त्र र पार्टीका मूल्यमान्यतामाथि प्रहार हो,’ उनले भने ।

उनले ओलीको ‘मिसन ०८४’ लाई ‘मिसन पतन’मा परिणत हुने चेतावनीसमेत दिए । उनले थपे, ‘यदि यी प्रश्नहरूको उत्तर दिन नसक्ने हो भने आगामी निर्वाचनमा एमालेको पतन हुनेछ ।’

रावलले महाधिवेशनका क्रममा आफ्ना समर्थक प्रतिनिधिहरूलाई धम्की दिएको, मतदानमा अवरोध पुर्‍याएको, र सदस्यता खारेज गर्ने निर्णय विधिसम्मत नभएको दाबी गरे । साथै, उनले प्रतिनिधिहरूलाई दुई दिनसम्म अलपत्र पार्ने र एक-एक गरेर धम्क्याउने ओलीको शैलीप्रति कटाक्ष गर्दै प्रश्न गरे, ‘चुन्ने र चुनिने अधिकारको प्रयोग गर्नु गलत हो ?’


क्लिकमान्डु