…त्यसपछि ताराचन खेतान कालो कोट दराजमा थन्क्याएर व्यापार गर्न विराटनगरतिर लागे
विराटनगर । सन् १९६४ मा ताराचन खेतानले त्रिभुवन विश्वविद्यालयबाट बीएल उत्तीर्ण गर्दा सम्भवत उनी मारवाडी समुदायका पहिलो कानूनका विद्यार्थी थिए । त्यसबेला उनका पिता सागरमल र ठूलोबा कालुराम नगरमल काठमाडौंको झोंछे टोलमा बसेर कपडाको थोक व्यापार गर्थे ।
वि सं २००० तिर काठमाडौंमा व्यापार सुरु गर्ने सीमित मारवाडी व्यापारीमध्ये खेतान परिवार पनि थिए । त्यसवेला उनीहरु भारतको प्रख्यात बकिङघम कर्णाटक मिल्सबाट उत्पादन हुने सेना, प्रहरी र स्कलुले खागीको पोशाक अनि न्यानो कपडा कट्स उलको थोक विक्रेता थिए ।
२४ वर्षको हुँदा बीएल उत्तीर्ण गरेपछि वकालत पेशामा रमाएर मारवाडी समुदायबाट पहिलो न्यायाधीश बन्ने रहर साँचेका ताराचन यतिबेला ८२ वर्ष पुगे । तर चारकोरी उमेरको उचाइबाट हेर्दा उनको कानुनी पेशाको रुमानी रुची मात्रै देखिन्छन् । यथार्थमा त उनी अहिले पनि उद्योग र व्यापारको नियमित रेखदेख गर्दै आएका छन् ।
त्यसो त कानुनी पेशामा प्रभाव जमाउन केही समयसम्म कालोकोट लगाएर काठमाडौंका अदालतहरुमा वकालत पनि गरे । त्यसैवेला वरिष्ठ अधिवक्ताका लागि बेलायतमा ६ महिने प्रशिक्षण लिन नेपालबाट उनी छनोट पनि भए । तर प्रशिक्षण लिन उनी गएनन् । त्यो प्रशिक्षण लिएपछि कम्तीमा ५ वर्ष सरकारी सेवामा अनुबन्ध हुनुपर्ने प्रावधान उनका लागि अवरोध बनिदियो ।
सरकारी सेवामा प्रवेश गर्नुपर्ने त्यही सर्तले ताराचनलाई कालो कोट लगाउने कि फुकाल्ने दोधारमा पारिदियो । त्यसको दुई वर्ष पहिला राजस्थान विश्वविद्यालयको विरला कलेज पिलानीबाट वाणिज्यशास्त्रमा मा स्नातक (बीकम) पनि उत्तीर्ण गरेका थिए उनले।
‘त्यसबेला अहिले जस्तो वकिल, न्यायधिश र अदालतको चल्ती अनि आकर्षण पनि थिएन । त्यसबेलाको न्यायलय राणाहरुको अंश मुद्दा मिलाउनेमा मात्र सीमित थियो,’ ताराचन स्मरण गर्छन् ।
वकालत र व्यापारको दोधारमा दौडिरहँदा ताराचनलाई जेठा दाजु जगदिशप्रसाद खेतानले भने व्यापारमै सक्रिय बन्न सल्लाह दिए । त्यसपछि नै उनले कालो कोटसँगै बीएलको सर्टिफिकेट दराजमा थन्क्याएर मारवाडी समुदायको पुर्ख्यौली पेशा मानिएको व्यापारलाई आफ्नो पेशा बनाउन थालेका हुन् ।
अनि त उनको वकालत गर्ने र न्यायाधिश बन्ने सपना व्यापारको मूलबाटोमा बिलय भइगयो । र यही व्यापारको बाटोसँगै उनले गरेका सतकर्म र समाजसेवाका कारण आज उनै ताराचन विराटनगरको मारवाडी समुदायमा परोपकारी उद्यमी र आर्दश पुरुषमा कहलिन्छन् ।
केही समय वकालत र झण्डै तीन दशक विभिन्न वस्तु व्यापार गरेका उनी पछिल्लो समय भगवती ग्रुप अफ कम्पनिजका अध्यक्ष र आधा दर्जन उद्योगका संस्थापक पनि हुन् । सुप्रसिद्ध प्रवल गोरखा दक्षिणवाहु चौथो, प्रवल जनसेवाश्री चतुर्थ लगायतका पदकबाट सम्मानित उनी १ सयभन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाबाट सम्मानित भइसकेका छन् । र त्यति नै संस्थाहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आबद्ध छन् ।
काठमाडौंबाट विराटनगरको यात्रा
वि सं १९९९ मा काठमाडौंको झोंछे टोलमा जन्मिएका खेतान २०२४ सालसम्म कपडाको व्यापार गर्दै काठमाडौंका गल्लीहरु डुले । त्यसबेला उनी नेपाल चेम्बर अफ कमर्स काठमाडौंका कोषाध्यक्ष पनि थिए । तर उनी काठमाडौंमा धेरै वर्षहरु बस्न चाहेनन् । उनले व्यापारका लागि नयाँ बजार देखेका थिए विराटनगर । र काठमाडौंको व्यापारबाट हात परेको केही रकम बोकेर उनी २०२५ तिर पहिलो पटक विराटनगर हानिए ।
त्यसबेला विराटनगरको रानी क्षेत्रमा विराटनगर जुट मिल, रघुपति जुट मिल, शाह उद्योग, जुद्ध म्याचफ्याक्ट्री, गणपति कटन मिल, अशोक टेक्सटाइल र हुलास मेटल लगायतका सीमित उद्योग मात्रै स्थापना भए पनि विराटनगरमा जुटको व्यापार खुब चलेको उनको स्मरण छ ।
खेतान सम्झछन्,’मैले त्यसबेलासम्म जुट देखेकै थिइनँ । तर पनि २०२५ सालमा भगवती ट्रेडिङ कम्पनी खोलेर २०४३ सालसम्म मैले पनि जुटकै व्यापार गरेँ ।’ उनको त्यही कम्पनी अहिले पनि अस्तित्वमा छ ।
‘त्यसबेला नेपाली कच्चा जुट र त्यसबाट बनेका तयारी वस्तुले भारत र यूरोपियन मुलुकमा ख्याती कमाएको थियो । त्यसबेला जुट निकासी गर्न सरकारबाट लाइसेन्स लिनुपर्थो । त्यो लाइसेन्स मैले पनि लिएर जुट निकासी गरेँ ।’ तर सरकारले २०३४ सालमा जुट निकासी गरे वापत दिने बोनस (आयात सुविधा) खारेज गरेपछि जुटको व्यापार उद्योगतिर गएको उनको भनाइ छ ।
जुट निकासी गर्दा सरकारले आयातमा सुविधा दिएको थियो । त्यही सुविधामा आफू लगायतका अन्य व्यापारीले भारत र तेस्रो मुलुकबाट सुपारी, लवाङ, कपडा, जुत्ताचप्पल, छाता, मरिच साथै क्यानडा तथा अष्ट्रेलियाबाट तोरी, मटर, चना र दाल आयात गरेर ती सामानको नेपालमा व्यापार सुरुवात गरेको खेतानको स्मरण छ ।
२०२४ सालमा कपडाको व्यापार छाडेर जुटको व्यापार सुरु गरेका खेतानले २०४३ सालमा जुटको कारोवार चटक्कै छाडेर विरगञ्जको चाचन ग्रुपसँग मिलेर सिमेन्टको कारोवार सुरु गरे । त्यसबेला उनी भारतको विरला ग्रुप अन्तर्गत सतना सिमेन्टको नेपालको पहिलो थोक विक्रेता बनेका थिए ।
त्यसअघि विराटनगरमा गोयल हार्डवेयरले सिमेन्टको कारोवार गर्दा मदनलाल, चिरञ्जीवी लाल अग्रवाल तथा चैनवाला ब्रदर्सले दक्षिण कोरियामा उत्पादन हुने स्टार ब्राण्डको सिमेन्ट आयात गर्ने गरेको खेतानले क्लिकमान्डुसँग सेयर गरे । उनले सतना सिमेन्टको थोक विक्रेताको काम २०६५ सम्म गर्दा आफ्नो लगानीमा त्रिशक्ति सिमेन्ट उद्योग स्थापना गरेर थोक विक्रेताको काम भने छाडिदिए ।
उद्योगी व्यवसायीहरुको मुलुकको जेठो संस्था मोरङ व्यापार संघका पूर्वअध्यक्ष समेत रहेका ताराचनले उद्योगमा फड्को मारेको चाहिँ २०५० सालमा हो । जतिबेला उनले भगवती ग्रुप अफ कम्पनिज अन्तर्गत टर्चलाइट र रेडियोमा प्रयोग हुने ब्याट्री उद्योग भगवती कारवाइड इण्डष्ट्रि प्रालि खोलेका थिए ।
यो कम्पनिजमा भगवती ट्रेडिङ कम्पनी, तारचन्द एण्ड सन्स, नारायणी सिमेन्ट प्रालि नेपालगञ्ज, नोवेल इन्भेष्टमेण्ट प्रालि काठमाडौं, भगवती कार्वाइड प्रालि, भगवती सोप इण्डष्ट्रिज प्रालि र भगवती कन्फेसनरी उद्योग प्रालि समेटिएका छन् । तीमध्ये भगवती कार्वाइड, भगवती सोप र भगवती कन्फेसनरीका लागि खेतान यतिबेला संस्थापक मात्र हुन् ।
ताराचनका दुई दाजु र चार भाई छन् । भगवती ग्रुप अफ कम्पनिज अन्तर्गतका ती उद्योगमा करिब ७ सय जनाले रोजगारी पाएका छन् । ती उद्योग अचेल उनका दाजुभाईका सन्तानले हेर्दै आएका छन् । ती उद्योगको वार्षिक कारोवार केकति छ, ताराचनलाई पनि हेक्का छैन । भन्छन्, ‘अर्बौंको कारोवार होला तर म यकिन छैन ।’ उनी अचेल त्रिशक्ति सिमेन्टको कारोवार मात्र हेर्छन् । उनका दुई छोराहरु भने ट्रेडिङको कारोवार गर्छन् ।
देशभर तारचनहरु धेरै होलान् । तर उनलाई नजिकबाट चिन्ने भीखमचन सरलले क्लिकमान्डुसँग भने, ‘औद्योगिक नगरी विराटनगरमा ६ दशकदेखि निस्कलंक बनेर निरन्तर उद्योग, व्यवसाय, समाजसेवा, वैदिक धर्मसंस्कृतिको संरक्षण, शिक्षा सेवा र विपन्न एवं अशक्तको सेवामा लागिरहने ताराचन एक्लै हुन् ।’
सरलका अनुसार ताराचन विराटनगरका लागि उद्योग व्यवसाय गरेर देश, समाज र वातावरण उज्यालो बनाउने उद्योगी मात्रै नभएर मानव सेवाबाट कीर्ति कमाउने एक परोपकारी पनि हुन् ।
यही उपलब्धिलाई ताराचन भने आफ्ना पितापुर्खाकै आशीर्वाद ठान्छन् । भन्छन्,‘म जे छु पितापुर्खाकै आशीर्वादले तयार भएको हुँ । मैले मेहनत गरेँ तर प्रभाव र प्रेरणा त उनै पूर्खाको ग्रहण गर्दै यो जीवन यात्रा यहाँसम्म ल्याउन सफल भएको छु ।’