ट्रम्पले यस्तो बनाउँदैछन् टिम, एलन मस्कले के भूमिका पाउलान् ?



एजेन्सी । विश्वकै सर्वाधिक धनी उद्यमी एलन मस्कले अमेरिकामा हालै सम्पन्न राष्ट्रपति चुनामा राष्ट्रपति डोनाल्ड ट्रम्पको जितका लागि लाखौं डलर खर्च गरेका थिए ।

कुनै बेला ट्रम्पसँग दुश्मनीपूर्ण सम्बन्ध रहेका मस्क यतिबेला ट्रम्पका निकट पात्र बनेका छन् । मस्कले खुलेरै ट्रम्पको पक्षमा मत मागेका थिए । त्यसो त ट्रम्पले पनि राष्ट्रपतिमा जित हासिल गरेपछि मस्कको खुलेर प्रशंसा गरे ।

उनै मस्कलाई ट्रम्पले नयाँ कार्यकालमा कुनै महत्त्वपूर्ण जिम्मेवारी दिनसक्ने अपेक्षा गरिएको छ । जवकि युक्रेनका नेता भोलोदोमिर जेलेन्स्कीसँग भेटवार्ताको क्रममा पनि ट्रम्पले मस्कलाई नै सँगै राखेका थिए । विश्लेषकहरुका अनुसार ट्रम्प र मस्कको ध्यान डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सीको नेतृत्व गर्ने सवालमा केन्द्रित हुनसक्ने देखिन्छ ।

यसरी मस्कले विश्व कुटनीतिमा महत्त्वपूर्ण भूमिका निभाउन सक्ने बताइएको छ । यद्यपि हालसम्म ट्रम्पले उनलाई कुनै जिम्मेवारी दिने विषयमा कुनै अभिव्यक्ति भने दिएका छैनन् । यतिसम्म कि ट्रम्पसँग पछिल्लो समय विकास भएको सम्बन्धको आधारमा मस्कलाई रिपब्लिकन पार्टीको तर्फबाट भविष्यको नेताको रुपमा पनि हेर्न थालिएको छ ।

मस्कले भने आफ्नो सम्बन्ध र क्षमतालाई लिएर आफ्नो कम्पनी टेस्ला, स्पेस एक्स र एक्सलाई प्रभावित प्रभावित गर्ने नीतिहरुमा काम गर्नसक्नेमा धेरैले आशंका गरिरहेका छन् ।

तर यसबीचमा ट्रम्पले ह्वाइट हाउसको प्रशासन सम्हाल्नुभन्दा पहिले नै पहिलो आधिकारिक नियुक्तिको रुपमा सुसन समरोल वाइल्सलाई आफ्नो चिफ अफ स्टाफ बनाइसकेका छन् । सुसन २०२४ को ट्रम्पको चुनावी अभियानको सहअध्यक्ष थिइन् । यसैबीच ट्रम्पले आफ्नो पहिलो कार्यकालमा काम गरेका कतिपय व्यक्तिहरुलाई फेरि नियुक्ति दिने बुझिएको छ ।

एटर्नी जनरलको रुपमा भने पहिलो कार्यकालमा तीन महिना मात्रै काम गरेका म्याथ्यु विकेटरको नाम पनि बाहिर आएको छ । उनीबाहेक अन्य केही व्यक्तिहरुको नाम चर्चामा छ । यस्तै राइटविङ एक्टिभिस्टको रुपमा चिनिने मार्क पाओलेटाको नाम धेरै चर्चामा रहेको छ ।

यस्तै सेक्रेटरी अफ होमल्यान्ड सेक्युरिटीको जिम्मेवारी टम होमनलाई दिनसक्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । २०१९ देखि २०२० सम्म पनि उनले सेक्रेटरीको भूमिका निभाएका थिए । जवकि उनको नियुक्ति अवैध घोषणा गरेपछि उनले राजीनामा दिएका थिए ।

यसैगरी सेक्रेटरी अफ स्टेट अर्थात् विदेशमन्त्रीको रुपमा मार्को रुबियोको नाम धेरै चर्चामा छ । यो पदलाई अमेरिकामा विशेष महत्त्वको रुपमा हेरिन्छ । विदेशमन्त्रीले राष्ट्रपतिको विदेश सम्बन्धी मामिलामा प्रमुख सल्लाहकारको भूमिका निभाउनुपर्ने हुन्छ । विभिन्न देशमा गएर वा अन्य देशका नेताहरुलाई अमेरिकी प्रतिनिधिको रुपमा भेटेर लबी गर्ने विदेशमन्त्रीको जिम्मा हुन्छ ।

यस्तै भारतीय मूलका काश पटेलको नाम भने सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी अर्थात् सीआईए प्रमुखको रुपमा चर्चामा आएको छ । उनले पनि ट्रम्पसँग पहिलो कार्यकालमा नै छोटो समय काम गरेका थिए । ट्रम्पले २०१७ मा नै पटेललाई चुनेका थिए । तर एफबीआईका निर्देशक क्रिस रेसँगको मतभेदका कारण पटेलले राजीनामा दिएका थिए । यसपटक ट्रम्पले फेरि सीआईए प्रमुखमा पटेललाई ल्याउने तयारी गरेका छन् ।

यस्तै डिफेन्स सेक्रेटरी अर्थात् रक्षामन्त्रीको रुपमा ट्रम्पले पहिलो कार्यकालमा माइक पोम्पियोलाई नियुक्त गरेका थिए । यसपटक भने फ्लोरिडाका सांसद माइक वाल्ट्जको नाम चर्चामा छ । यस्तै युएनको राजदूतको रुपमा एलिज स्टेफेनिकलाई नियुक्त गर्ने चर्चा छ।

प्रेस सेक्रेटरी अर्थात् ट्रम्प प्रशासनको प्रवक्ताको रुपमा भने ट्रम्पले क्यारोलिन लेभिटलाई नियुक्त गर्ने तयारी गरेका छन् । ट्रम्पको चुनावी अभियानको क्रममा लेभिटले नेसनल प्रेस सेक्रेटरीको भूमिकामा रहेर काम गरेकी थिइन् । उनी यसअघि ह्वाइट हाउसमा प्रेस सेक्रेटरी असिस्टेन्टको रुपमा काम गरिसकेकी थिइन् ।

२०२० को निर्वाचनमा दोस्रो कार्यकालको तयारी गरिरहेका बेला डेमोक्रेटका जो बाइडेनबाट पराजित भएपछि ट्रम्पले निर्वाचनको नतिजा नै स्विकार गरिरहेका थिएनन् । त्यसबेला नै ट्रम्पले २०२४ मा आफू फेरि ह्वाइट हाउसमा फर्किने घोषणा गरेका थिए ।

२०२४ को निर्वाचनमा भने डेमोक्रेटिकका जो बाइडेनले दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा गरिसकेपछि प्रेसिडेन्सियल डिबेटमा बाइडेनको प्रस्तुती कमजोर भयो । त्यसपछि नै बाइडेन उम्मेदवारी फिर्ता लिन बाध्य भए र डेमोक्रेट्सले पूर्वउपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवार बनायो । तर ट्रम्पले ह्यारिसविरुद्ध सजिलै जित हासिल गरेका छन् ।

विरोधीहरुप्रति कठोर रुपमा प्रस्तुत हुने ट्रम्प दोस्रो कार्यकालमा भने विरोधीको आलोचना गर्ने मात्रै नभएर उनीहरुविरुद्ध कस्ता नीति अवलम्बन गर्ने भनेर योजना बनाउन सक्ने व्यक्तिहरुको पनि खोजीमा छन् ।

यससँगै अरुलाई प्रभावित पार्नसक्ने व्यक्तिहरु पनि उनको रोजाइमा छन् । यसबीचमा एलन मस्क लगायत कतिपय व्यक्तिले ट्रम्पलाई सशक्त रुपमा साथ दिँदैआएका छन् । पराजित बनेपछि आफूसँग नजिक रहेर काम गरेका प्रभावशाली व्यक्तिहरुलाई ट्रम्पले यसपटक चयन गर्नसक्ने बुझिन्छ ।

विदेशी सामानमा महंगो भन्सार शुल्क लगाउने योजना अगाडि सार्दै आएका ट्रम्पले कर सम्बन्धी धेरै नीति परिवर्तन गर्ने देखिन्छ । यससँगै आप्रवासन मुद्दा प्रत्यक्ष रुपमा प्रभावित हुनसक्ने आकलन गरिएको छ । यसबाहेक उनको दोस्रो कार्यकालमा अमेरिकामा महंगी र कर बढ्ने साथै आप्रवासन घट्ने धेरैको आकलन छ । तर प्रमुख मुद्दामध्ये एक रहेको रोजगारी वृद्धिको क्षेत्रमा भने ट्रम्पले धेरै अपेक्षाकृत काम गर्नसक्ने अपेक्षा गरिन्छ ।


क्लिकमान्डु