म भागेको छैन, फोन स्विच अफमात्र गरेको हुँः दिपक मनाङे
काठमाडौं । दिपक मनाङे भनेर चिनिने गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङले आफूले मोबाइल फोन अफ गरेर बसेको बताएका छन् । सञ्चारमाध्यमबाट तारन्तार फोन आएकाले केही समयका लागि मोबाइल बन्द गरेको जानकारी गराएका हुन् ।
पछिल्लो समय सञ्चारमाध्यमममा मनाङे सम्पर्कबिहीन रहेको समाचार आइरहेका छन् । तर, मनाङले शुक्रबार प्रदेश सभा सदस्यको लेटरहेडमा एक विज्ञप्ति जारी गर्दै फैसला आउँदाको दिनदेखि सञ्चार माध्ययमबाट तारन्तार कल आइरहेको हुँदा केही समयका लागि आफूले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको जानकारी गराएका हुन् । यही विषयलाई लिएर विभिन्न सञ्चार माध्ययममा सम्प्रेषण भइरहेको समाचारप्रति आफ्नो आपति रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘विगत केहि दिनयता विभिन्न अखबार र सामाजिक सञ्जालमा मेरो विषयमा लेखिएका समाचार र टिकाटिप्पणी प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । सम्मानीत सर्वोच्च अदालतमा विचाराधिन मेरो मुद्दाको गत कात्तिक २० गते फैसला भएको विषय मैले मेरो तर्फबाट बहस पैरवी गरिरहेका कानुन व्यवसायीमार्फत थाहा पाएको हुँ ।’ सो पश्चात उनले आफ्ना कानून व्यवसायीलाई फैसलाको नक्कल सार्न पठाएको तर अदालतबाट फैसलाको संक्षिप्त पाठ तयार नभएको भन्ने जानकारी आएको दाबी गरेका छन् ।
गुरुङले सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा स्वयम् उपस्थित हुने पनि जानकारी गराएका छन् ।
गुण्डा पृष्ठभूमीका सांसद मनाङेलाई सर्वोच्च अदालतले गत मंगलबार ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय तोकेको थियो ।
२०६१ सालमा अर्का गुण्डा नाइके चक्रे मिलनमाथि कुटपिट गरेको घटनामा मनाङेलाई अदालतले दोषी ठहर गरेको हो । उच्च अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर गरेकोमा उक्त फैसलाविरुद्ध मनाङेले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।
तर मनाङेको मागदाबी नपुगेपछि सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेलाई दोषी ठहर गरेको हो । उच्च अदालतले मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । सोही फैसलालाई सर्वोच्चले सदर गरिदिएको हो ।
मनाङ प्रदेश सभा–२ बाट २०७४ र २०७९ को चुनावमा स्वतन्त्रबाट निर्वाचित मनाङे प्रदेशसभामा भएको सत्ता फेरबदलको फाइदा उठाउँदै पटकपटक मन्त्री बनेका थिए । गठबन्धन बदल्दै मन्त्री बन्दै गरेका मनाङेले केही महिनाअघि मन्त्री बन्न अल्छी लागेको भन्दै राजनीतिक प्रणालीमाथि नै व्यंग गरेका थिए ।
उक्त घटनामा संलग्न मनाङे समूहविरुद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । तर, काठमाडौं जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दा नभई कुटपिटको मुद्दा ठहर गरी मनाङेलाई २ वर्ष जेल सजाय सुनाएको थियो ।