६ वर्षमा ४ अर्ब ३० करोडको ५६ लाख किलो काजु आयात, भियतनाम विश्वकै सबैभन्दा ठूलो उत्पादक



काठमाडौं । पछिल्लो ६ वर्षको अवधिमा साढे ४ अर्ब रुपैयाँ बराबरको काजु नेपालमा आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८१/८२ सम्मको अवधिमा ४ अर्ब ३९ करोड ८८ लाख ७९ हजार रुपैयाँबराबरको ५६ लाख १७ हजार ८ सय ७९ किलो काजु आयात भएको हो ।

यसमा चालु आर्थिक वर्षको ३ महिनाको तथ्यांक पनि समावेश गरिएको छ । चालु आर्थिक वर्षको ३ महिना (साउनदेखि असोज) को अवधिमा मात्रै २६ करोड १ लाख मूल्यबराबरको २ लाख ९८ हजार ९ सय ४६ किलो काजु आयात भएको छ ।

नेपालमा काजुको उत्पादन नहुँदा मागको सम्पूर्ण हिस्सा आयात नै हुँदै आएको छ । नेपालमा आयात हुने काजुमध्ये तीन चौथाई भारतबाट आयात हुन्छ भने दोश्रोमा मोजाम्बीयुबाट आयात हुने गरेको छ ।

यस्तै केहि परिमाणमा भियतनाम, नाइजेरिया, कुवेतलगायत आधी दर्जन मुलुकबाट पनि काजु आयात हुन्छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा ३६ करोड १५ लाख ६३ हजार रुपैयाँबराबरको ५ लाख ४५ हजार ७ सय ३२ किलो काजु आयात भएको थियो । भन्सारको तथ्यांकअनुसार सबैभन्दा बढी आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब १७ करोड २५ लाख ७९ हजार रुपैयाँबराबरको १४ लाख ३४ हजार २ सय १० किलो काजु नेपालमा आयात भएको थियो ।

यसपछि आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब १७ करोड २३ लाख १९ हजार रुपैयाँबराबरको १४ लाख ३१ हजार ४ सय ९० किलो काजु आयात भएको थियो ।

स्वास्थ्यको लागि काजु उत्कृष्ठ सुख्खा फल मानिन्छ । काजुको मूल्य भएकाले निम्न आर्थिक अवस्था भएका व्यक्तिले नियमित काजु खान सक्दैनन् । महँगो भए पनि काजुका फाइदा भने अनगिन्ती छन् । ड्राइ फ्रुटको राजा मानिने काजु सबै उमेर समूहको मानव जीवनलाई फाइदा पुर्‍याउने खाद्य पदार्थ हो ।

काजुमा कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ । त्यसैले मधुमेहको समस्या भएका व्यक्तिले काजु सेवन गर्नु उपयुक्त हुने पोषणविद्हरुको भनाई छ ।

नेपाली बजारमा काजुको दैनिक कारोबार भएपनि तिहारले छप्पक बजार छोपेपछि यसको बजार गुलजारमय बन्ने गरेको छ । वर्षदिनको तुलनामा तिहार, भाइटिका र छठका कारण यसको कारोबार निक्कै बढ्ने गर्छ ।

तिहारमा प्रसादको रुपमा, भाइटिकामा भाइमसलाको रुपमा र छठमा पनि प्रसादमा उपभोग हुने भएकाले यो वेला काजुसहित किसमिस, ओखर, आलमण्ड(बदाम), छोकडा, पेस्ता र नरिवलको माग बजारमा उच्च हुन्छ ।

नेपाली भान्छामा काजुको उपभोग पनि निक्कै हुने गरेको छ । साकाहारी खानादेखि माँसाहारी खानामा काजुको प्रयोग गरिएको हुन्छ भने मिठाई पनि काजुको तयार हुने भएकाले तिहारको समयमा यसको माग निक्कै बढेको हो ।

कबाब, मिठाइ, खिर तथा केकमा पनि काजुको मात्रा प्रसस्त मिसाइन्छ । काजुको पेस्टले खानालाई अतिरिक्त स्वाद थप्ने काम गर्छ । यसबाहेक पछिल्लो समयमा कर्पोरेट हाउसहरुले दसैं र तिहारको समयमा शुभचिन्तकहरुलाई काजुसहितको ड्राइफ्रुट नै उपहारमा पठाउने चलनले गर्दा पनि नेपालमा यसको खपत दर बढेको हो ।

काजु विभिन्न मुलुकबाट आयात हुने भएकाले यसको आकार र गुणस्तरको आधारमा बजार मूल्य पनि फरक फरक तोकिएको हुन्छ । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यकाका अनुसार काजुसहित ड्राइफ्रुटको वर्षभर हुने कारोबारमध्ये झण्डै ८० प्रतिशत दसैंदेखि तिहारको समयमा हुने गर्छ ।

‘पछिल्लो १० वर्षयता काजुसहित ड्राइफ्रुटको बजार निक्कै ग्रुमिङ्ग भएको छ, बिरामीले प्रयोग गर्ने, खानाको विभिन्न प्रकारको परिकारमा प्रयोग हुने, सामान्य रुपमा सबैले उपभोग गर्ने र उपहारमासमेत दिने भएकाले यसको आयातसँगै ब्यापार पनि बुम भएको छ,’ उनले भने ।

कोभिड पछि यसको कारोबारमा झण्डै २० प्रतिशतले कमी आएको उनको कथन छ ।

उनका अनुसार गत् वर्षको तुलनामा यो वर्षको तिहारमा काजुको मूल्यमा २५ प्रतिशतले मूल्य बढेको छ । यस्तै आलमण्ड(बदाम)मा २० र अन्यमा १० प्रतिशतले मूल्य बढेको उनको भनाई छ ।

बाढिपहिरोले बाटोघाटो क्षति पुगेको र आयातमा समस्या हुँदा मूल्य बढेको बज्राचार्यको भनाई छ ।

काजु खानुको फाइदा यस्तो

थोरै खादा पनि धेरै फाइदा पुर्‍याउने काजुमा मेग्नेशियम, कपर, आइरन, पोटासियम लगायतका तत्व भरपुर मात्रामा पाइन्छ । यी तत्वले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

त्यसैले दैनिक दुई–तीन पिस काजुको सेवन स्वास्थ्यका निक्कै लाभदायक मानिन्छ । काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुँदा काजु खानाले शरीरमा ऊर्जा प्रदान गर्छ ।

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यसैले काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र बनेको लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ । काजुमा एक प्रकारको तरल पाइन्छ, जसमा भिटामिन–बी प्रचुर मात्रामा हुन्छ ।

यसले दिमाग तेजिलो बनाउँछ । काजु खानाले शरीरमा युरिक एसिड फर्मेसन हुँदैन । युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन । तर त्यस्ता मानिसले पनि निर्धक्कसँग काजु खान सक्छन् ।

काजुमा सोडियमको मात्रा कम हुन्छ र पोटासियमको मात्रा बढी हुन्छ । त्यसैले काजु खाने गर्नाले रक्तचाप नियन्त्रित अवस्थामा रहन्छ । हरेक बिहान काजु खाने गर्नाले कोलेस्टेरोलको मात्रा नियन्त्रितमा रहन्छ ।

यस्तो छ विश्वको टप ५ उत्पादनकर्ता मुलुक

विश्वभर उत्पादन हुने काजुको कूल परिमाणमध्ये झण्डै ४४.९ प्रतिशत भियतनामले ओगटेको छ । भियतनाममा ४४.९ प्रतिशतका दरले वार्षिक २६ लाख ६३ हजार ८ सय ८५ मेट्रिक टन काजु उत्पादन हुन्छ ।

यस्तै दोश्रो भारतले १३ प्रतिशतका दरले ७ लाख ८५ हजार ९ सय २५ मेट्रिक टन, तेश्रोमा कोटे डीलभोरेले ११.५ प्रतिशतका दरले ६ लाख ८८ हजार मेट्रिक टन, चौथोमा फिलिपिन्सले ३.८ प्रतिशतका दरले २ लाख २८ हजार ६ सय १२ मेट्रिक टन र बेनिनले ३.६ प्रतिशतका दरले २ लाख १५ हजार २ सय ३२ मेट्रिक टन काजु उत्पादन गर्छ ।

यहि ५ मुलुक संसारको सबैभन्दा ठूलो काजु निर्यातक मुलुक पनि हो । विश्वभर ९ खर्ब ४१ अर्ब ९४ करोड १० लाख नेपाली रुपैयाँबराबरको ६ अर्ब किलो काजुको उत्पादन हुँदै आएको छ । काजुको मुख्य खरिदकर्ता मुलुकहरु अमेरिका, युरोपियन युनियन, जापान र कोरिया हुन् ।


राजेश बर्मा