सार्वजनिक ऋण जोखिमपूर्ण अवस्थामा पुग्यो, २०२४ मा १ हजार खर्ब डलर माथि पुग्छ: आईएमएफ



काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२४ को अन्त्यसम्ममा विश्वको सार्वजनिक ऋण १ हजार खर्ब अमेरिकी डलर पुग्ने अनुमान गरेको छ ।

कोषको वित्तीय मामिला विभागका निर्देशक भिटोर ग्यास्पारले विश्वभर सार्वजनिक ऋण निरन्तर बढिरहेको तथा जोखिमपूर्ण अवस्थामा पुगेको बताएका छन् ।

मंगलबार फिस्कल मनिटर मनिटर सार्वजनिक गर्दै कोरोना महामारीपछि बिभिन्न देशको सार्वजनिक ऋण बढिरहेको उनले जानकारी दिए ।

अमेरिका, चीन, ब्राजिल, फ्रान्स, इटाली, साउथ अफ्रिका, संयुक्त अधिराज्य लगायतका विश्वभरको जिडिपीको ७० प्रतिशत हिस्सा भएका देशमा समेत सार्वजनिक ऋण बढी रहेको कोषले जानकारी दिएको छ ।

‘सार्वजनिक उच्च छ, निरन्तर बढीरहेको छ तथा जोखिमपुर्ण अवस्थामा छ । सम्भावना अनुमान गरिए भन्दा खराब देखिएको छ,’ ग्यास्पारले भनेका छन्, ‘हामीले अनुमान गरे भन्दा सार्वजनिक ऋण २० प्रतिशत माथी पुगिसकेको छ । सार्वजनिक ऋणको पुनर्संरचना गर्नु पर्ने अवस्था पनि आउन सक्छ ।’

सार्वजनिक ऋणको प्रभावकारी उपयोग गर्ने रणनीति तत्काल बनाउन पर्ने कोषले जोड दिएको छ ।मौद्रिक नीति लचिलो भइसकेको अवस्थामा वित्त नीति थप जिम्मेवारीपुर्वक बनाउने पर्नेमा कोषले जोड दिएको छ ।

सार्वजनिक खर्च घटाउन आर्थिक वृद्धिमा असर गर्ने भएकाले सार्वजनिक खर्च प्रभावकारी रुपमा गर्दै वित्तिय क्षेत्रमा सुधार गर्न कोषले सुझाव दिएको छ ।

कोषको वित्तिय मामिला विभागकी उपनिर्देशक इरा डब्ला नोर्रिसले सरकारले कहाँ र किन खर्च गर्ने भन्ने विषयमा प्राथमिकिकरण तय गर्नु पर्ने बताइन् ।

‘सरकारले १ रुपैयाँ खर्च गर्दा प्रतिफल कति प्राप्त भइरहेको हेरिनु पर्छ । सार्वजनिक खर्च र समाजिक खर्च जोगाउनु पर्नेछ । प्रतिफल नहरी खर्च गर्ने छुट सरकारलाई छैन्’ डब्लाले भनिन्, ‘राजस्व परिचालन क्षमता बढाउनु पर्छ । त्यो भन्दा बढी सार्वजनिक पदमा रहेका व्यक्तिले आम जनताबाट विश्वास आर्जन गर्न सक्नु पर्छ ।’


क्लिकमान्डु