भन्सार बिन्दु बाहिरबाट तस्करी बढ्दा तनाबमा अर्थ, गृह मन्त्रालयले नरोकेको भन्दै असन्तुष्टि



काठमाडौं । भन्सार बिन्दु बाहिरबाट तस्करी बढ्दा अर्थ मन्त्रालय दबाबमा आएको छ । अर्थ मन्त्री तथा गृह मन्त्री सहभागी भएको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले भन्सार बिन्दु बाहिरबाट हुने चोरी तस्करी नियन्त्रण गर्ने निर्णय गरेको थियो ।

गत भदौ १२ गते बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट नियन्त्रण गर्दै लक्ष्यअनुसार राजस्व उठाउने प्रतिवद्धता जनाएको थियो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गृह मन्त्री रमेश लेखकसहित राजस्व संकलनमा भूमिका हुने विभिन्न निकायका प्रमुख सहभागी बैठकले राजस्व संकलनको लक्ष्यलाई राजस्व प्रशासनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरूको कार्य सम्पादन मूल्याङ्कनको महत्वपूर्ण आधार बनाउने निर्णय गरेको थियो ।

तर, उक्त निर्णयको प्रभाव जमिनितहमा नदेखिएको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

‘राजस्व चुहावट नियन्त्रण समितिको बैठकपछि हाम्रा साथीहरुले बिभिन्न भन्सार कार्यालयको स्थलगत अनुगमन गरेका थिए,’ स्रोतले भन्यो, ‘पछिल्लो समय कर्मचारीको मिलेमतोमा भन्सार बिन्दुबाटै हुने तस्करीमा गिरावट आए पनि भन्सार बिन्दु बाहिरबाट हुने तस्करी ह्वात्तै बढेको पाइएको छ । विशेष गरी प्रहरी र प्रशासनले प्रभावकारी काम गर्न नसक्दा तस्करी बढेको बुझिएको छ ।’

भारतसँग सीमा जोडिएको केही भन्सार कार्यालयका अधिकारीहरु पछिल्लो समय भन्सार बिन्दु बाहिरबाट हुने तस्कारी बढेको बताउँछन् ।

‘भन्सार बिन्दुमा कर्मचारीले मात्रै कडाइ गरेका छैनन्, भन्सार जाँचपासपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीले राजस्व अनुसन्धान कार्यालयले समेत गाडी छड्के गर्दै चेकजाँच गर्ने गर्छन्,’ तराईको एक भन्सार कार्यालयका अधिकारीले भने, ‘जसले गर्दा भन्सार एजेन्ट र जाँचकीको मिलेमतोमा हुने तस्करी धेरै हदसम्म रोकिएको छ । तर, भारतसँगको खुला सीमाको कारण विभिन्न ठाउँबाट खुद्रामा हुने तस्करी बढेको छ । त्यसलाई रोक्न आन्तरिक राजस्व विभागले बजार अनुगमन बढाउनुको साथै जिल्ला प्रशासन कार्यालयले प्रहरीले भन्सार क्षेत्र वरीपरी कडाइ गर्नु पर्छ ।’

सीमा क्षेत्रमा सामान तस्करीको काम गर्दै आएका व्यक्तिहरु पछिल्लो समय क्यारिङको काम बढेको बताउँछन् ।

साइकल वा मोटरसाइकलमा साना साना पोका बनाएर सीमावर्ती क्षेत्रमा सामान ओहरदोहर गर्नुलाई क्यारिङ भनिने गर्छ ।

‘भन्सारमा कडा भएकाले क्यारिङबाट सामान ल्याउनु परेको भन्ने सुनिन्छ,’ सीमावर्ती क्षेत्रमा क्यारिङको काम गर्दै आएका एक व्यक्तिले भने, ‘हामीले सामान ल्याउनु ठाउँ र पुर्याउने ठाउँको जानकारी हुन्छ । पोका के सामान हुन्छ थाहा हुँदैन ।’

न्युरोडमा लत्ताकपडाको काम गर्दै आएका एक व्यवसायी क्यारिङबाट सामान ल्याउनु पर्दा लागत बढेको बताउँछन् ।

‘भन्सारबिन्दुबाटै सामान आउँदा लागत केही कम लाग्थ्यो,’ ती अधिकारीले भने, ‘क्यारिङमा व्यवस्थापन खर्च बढी लाग्ने गरेको छ।’

जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले कडाइ नगर्दासम्म भन्सार प्रशासनले चाहेर पनि तस्करी रोक्न नसक्ने अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

‘हाम्रो प्राथमिकता भन्सार बिन्दुबाट गलत हुनु हुँदैन भन्ने हो,’ एक अधिकारीले भने, ‘भन्सार बिन्दुबाहिरको तस्करी गृहले मात्रै रोक्न सक्छ ।’


क्लिकमान्डु