चिनियाँ सामान आयातकर्ताले नाका परिवर्तन गर्दा जोगवनीबाट १९ अर्बको पैठारी र साढे ८ अर्बको निकासी घट्यो



विराटनगर । २०७२ सालको भूकम्पपछि उत्तरी नाकाबाट पैठारी प्रभावित हुँदा चिनियाँ सामान भित्रिने प्रमुख नाका बन्यो विराटनगरको जोगवनी । त्यसपछि यो नाकाबाट विशेषगरी चिनियाँ तयारी कपडा, रबर र प्लाष्टिकका जुत्ता-चप्पलको आयातमा ओइरो लाग्न थाल्यो ।

विराटनगर, विर्तामोड, काठमाडौं, विरगञ्ज र भैरहवाका आयातकर्ताबीच यो नाका प्रयोग गरेर चिनियाँ तयारी कपडा, रबर र प्लाष्टिकका जुत्ताचप्पल आयत गर्न प्रतिस्पर्धा नै चल्यो । आयतकर्ताले चाइनीज सामान जोगवनी नाकाबाट आयात गर्न रुचाउनुलाई त्यसबेलाका भन्सार अधिकारी र भन्सार एजेन्टको मिलोमतामा खुकुलो भन्सार चेकजाँचसँग जोडेर अर्थ लाग्यो ।

किनकि भन्सारबाट छुटेका चाइनीज तयारी कपडा, रबर र प्लाष्टिकका जुत्ताचप्पल प्रहरीले समाउने अनि त्यही सामान छुटाउन भन्सार कर्मचारी, एजेन्ट र तस्कर प्रहरीसँग जाइलाग्ने क्रम बढ्यो । त्यसै क्रममा दुई वर्षअघि ती सामान बोकेको ट्रक साँझ भन्सारबाट छुटे लगत्तै भन्सारको दोस्रो ढाटमा प्रहरीले रोक्यो ।

त्यसपछि भन्सार अधिकारी, एजेन्ट र तस्करले प्रहरीलाई छाड्न दबाब दिए । प्रहरीले छाड्न मानेन अनि रातभर तीन पक्षबीच ढुङ्गा हानाहान नै भयो । ट्रक भन्सार परिसरमै फर्कियो । भोलिपल्ट पुर्नमूल्याङकनका नाममा त्यो ट्रक छुट्यो ।

यो खबर भन्सार विभागसम्मै पुग्यो । विभागका प्रतिनिधि आएर छानबिन गर्ने नाममा झारो टारेर फर्कियो अनि यो घटनालाई गुपचुप राखियो । दुई वर्षदेखि जोगवनी नाकाबाट चाइनीज तयारी कपडा, रबर र प्लाष्टिकका जुत्ताचप्पलको आयात झण्डै ७५ प्रतिशतले घटेको छ । यसको मुख्य कारण भन्सार चेकजाँचमा कडाइ गर्दा चोरी खान नपाएपछि आयातकर्ताले नाका नै परिवर्तन गरेको प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्र ढकालको दाबी छ ।

दुई वर्षअघिसम्म मुलुकभरका दर्जनबढी आयातकर्ताले यो नाकाबाट चाइनीज तयारी कपडा, रबर र प्लाष्टिकका जुत्ताचप्पल आयात गरेको सूची छ । पछिल्लो समय भन्सार चेकजाचमा कडाइ गरेपछि ती आयतकर्ताले यो नाकाबाट सामान ल्याउन छाडेर अन्यत्र नाका सरेको पाइएको ढकालले बताए ।

२०७९/८० मा जोगवनी नाकाबाट ५ अर्ब ५ करोड २१ लाख ८५ हजार मूल्यको चाइनीज तयारी पोशाक आयात भएको थियो । गत वर्ष झण्डै ७४ प्रतिशतले आयात घटेको छ । गत वर्ष यो नाकाबाट १ अर्ब ६२ करोड ४८ लाख ३८ हजार मूल्यको तयारी कपडा आयात भएको भन्सारको तथ्याङक छ ।

त्यसैगरी २०७९/८० मा यो नाकाबाट १ अर्ब ६ करोड ९५ लाख ९७ हजार मूल्यका चाइनीज रबर र प्लाष्टिकका जुत्ता चप्पल आयात भएकोमा गत वर्ष २१ करोड ४३ लाख ३३ हजार मूल्यका आयात हुँदा झण्डै ८० प्रतिशतले आयात घटेको तथ्याङक छ । भूकम्पपछिका झण्डै ७ वर्षसम्म यो नाकाबाट चाइनीज तयारी पोशाक वार्षिक सरदर ६ अर्ब र चाइनीज रबर तथा प्लाष्टिकका जुत्ताचप्पल हरेक वर्ष सरदर दुई अर्ब मूल्यका आयात भएको भन्सार तथ्याङक देखिन्छ ।

आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा जोगवनी नाकाबाट समग्रमा १९ अर्बले आयात घटेको छ । अघिल्लो वर्ष यो नाकाबाट १ खर्ब ८६ अर्बको आयात हुँदा गत वर्ष १ खर्ब ६७ अर्ब मूल्यको मात्र भएको प्रमुख भन्सार अधिकृत ढकालले बताए । यसको मुख्य कारणमा चाइनीज सामान आयात गर्नेले नाका परिवर्तन गर्नु र अन्य सामान आयातमा आर्थिक मन्दीको प्रभाव परेको उनको दाबी छ ।

जोगवनी नाकाबाट आयात हुने मुख्य १९ वस्तुमध्ये अघिल्लो वर्षको तुलनामा गत वर्ष चाइनीज तयारी कपडा ७३.७८, रबर र प्लाष्टिक जुत्ताचप्पल ७९.४३, एमस्टील सिट एस ९५.८१, स्टील वायर रड इन क्वायल र ८ एमसम्म एस ३६.६८, मोटर साइकल ७४.९२, भटमासको कच्चा तेल ३१.५१ एमएसविलेट.एस ४१.९७, पोलिथिन दानाको आयात ६.८६ प्रतिशतले घटेको भन्सारको आंकडा छ ।

त्यसैगरी जंक इन्गट ४१.५६, फलामे संरचना ५४. २३, पूर्वनिर्मित भवनहरु ८७.३१, सुती कपडा ३७.७९, विस्कुट ७०, लिनोलीयम फलोर कभरिङग ८६ .४७, फलाम वा इस्पातका सिमलेस पाइप ६७. ९८, एलपी ग्यास ३.७८, क्याप टोपी ९२.३८, एमस्टील स्ट्रिप्स.एस ९८.५४ र पिग आइरनको आयात ३९.२० प्रतिशतले घटेको भन्सार तथ्याङक छ ।

साढे ८ अर्बले घट्यो निकासी

आर्थिक वर्ष २०७९/८० को तुलनामा गतवर्ष जोगवनी नाकाको निकासी पनि साँढे ८ अर्बले घटेको छ । अघिल्लो वर्ष यो नाकाबाट ३९ अर्ब ३३ करोड बराबरका सामान निकासी हुँदा गत वर्ष ३० अर्ब ८१ करोडमा झरेको भन्सारको तथ्याङ्क छ ।

यो नाकाबाट निकासी हुने मुख्य २० वस्तुमध्ये सबैभन्दा बढी प्रशोधित पाम तेल, भटमासको तेल र सूर्यमुखीको प्रशोधित तेलको निकासी ह्वात्तै घटेको पाइएको छ । यसको मुख्य कारणमा भारतले यसको कच्चा पदार्थ आयातमा भन्सार महसुल न्यून गरेर स्वदेशी उत्पादनलाई प्राथामिकता दिनुलाई मानिएको छ ।

आर्थिक वर्ष २०७९/८० मा यो नाकाबाट ९ अर्ब ४० करोड ३९ लाख ४६ हजार मूल्यको प्रशोधित पाम तेल निकासी हुँदा गत वर्ष ८९ करोड २४ लाख ९७ हजार मूल्यको निकासी भएको छ । यो समग्रमा ९०.५१ प्रतिशतले कम हो । त्यसैगरी अघिल्लो वर्ष ३ अर्ब १० करोड ८८ हजारको भटमासको प्रशोधित तेल निकासी हुँदा गत वर्ष ७४ करोड ५४ लाखको मात्र निकासी भएको तथ्याङ्क छ । यो ७५.९६ प्रतिशतले कम हो । त्यस्तै अघिल्लो वर्ष ९ करोड ४५ लाख १८ हजारको सूर्यमुखीको प्रशोधित तेल निकासी भएकोमा गत वर्ष ८ हजारको मात्र निकासी भएको छ । यो ९९.९९ प्रतिशतले न्यून हो ।

त्यसैगरी सेन्थेटिक यार्न ६.३२, जुटका झोला र बोरा १२.७१, चाउचाउ, नुडल्स र पास्ता १८.९१, जुटका कपडा ३.४९, गहुँको पिठो ८८.३०, सनपाटको धागो ३३.७२, स्टेपलफाइबरको सिउने धागो ७५.४२, कोरुगोरेटेड सीट जस्तापाता १६.४०, चोकर भुस ९९.६५, कोटेट नगरिएको क्राफ्ट पेपर र पेपर बोर्ड ८५.४१, अदुवा र सुठो ४६.४, काउली, बन्दकोभी र ब्रोकाउली ४५.१७, चिया १८.७१, राँगाभैँसीको तयारी छाला १२.६१, फ्याटी एसीड आयल्स १५.१८, चकलेट ६३.३४ र लेख्ने छाप्ने कागजको निकासी ३९.८५ प्रतिशतले घटेको भन्सारको तथ्याङक छ ।


विनोद भण्डारी