२ वर्षयता अधिकांश अटो व्यवसायी मुस्किल दिन काट्दै: बिवाइडीको मालामाल, कसको व्यापार कति ?



काठमाडौं । १६औं संस्करणको नाडा अटो शो सम्मुखमै छ । यसपालीको अटो शोबाट व्यवसायीहरु सिथिल भइसकेको व्यापार एकपल्ट उकास्ने दाउमा छन् । देशमा अटो र अटोसँग सम्बन्धित व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी एक पछि अर्को वर्ष निरन्तरत खुम्चिएको व्यवसायलाई पुनर्जीवन दिने सोचमा छन् ।

नाडा अटो शोको मुखैमा अटो व्यवसायीले नयाँ नयाँ मोडलका कार ल्याइरहेका छन् । कोहीले सार्वजनिक नै गरिसकेका छन् भने कोहीले अटोको महाकुम्भमै सर्वसाधारणमाझ प्रस्तुत गर्ने तयारी गरेका छन् ।

नाडाको पुर्वसन्ध्यामा तयार यो विशेष अंकको आजको श्रृंखलामा हामी अटो व्यवसायी आर्थिक सुस्ततका कारण कुन हदसम्म प्रभावित छन् भन्ने चर्चा गर्दैछौं ।

देशमा ३ दर्जन ब्रान्डका चारपांग्रे सवारीसाधन खरिद गर्न पाइन्छ । यी सबै विदेशी कम्पनी हुन् । यी सवारी कम्पनीका दुई दर्जन आधिकारिक विक्रेता छन् ।

विश्वविख्यात कम्पनीहरु हुण्डाई, टोयोटा, सुजुकी, एमजी, होण्डा, बीवाईडी, भोक्सवागन, रेनोदेखि भारतीय कम्पनीहरु टाटा, महिन्द्राका कार नेपाली बजारमा पाइन्छ ।

तर, यी कार बेच्ने कम्पनीको व्यापार पछिल्लो समय नमज्जाले खस्किएको छ । पछिल्लो ३ वर्षको तथ्य नै केलाउने हो भने पनि एउटा कम्पनीले मात्र व्यवसाय विस्तार गर्न सकेको देखिन्छ, त्यो कम्पनी हो बीवाईडी ।

विश्व बजारमा विद्युतीय सवारीले राज गर्दै गर्दा नेपालमा पनि विद्युतीय सवारीमा वल्र्ड लिडर बीवाईडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंकको मात्र व्यवसाय सुधार भएको छ ।

इन्टरनल कम्बसन (पेट्रोलियम इन्जिन भएको) कारको विकल्पमा सर्वसाधारण ईभी रोज्न थाल्नुको प्रभाव अटो बजारमा देखिएको छ । व्यवसायीक सिफ्ट पनि पेट्रोलियम कारबाट ईभीतर्फ मोडिएको छ ।

उदाहरणका लागि नेपाली बजारमा स्कोडा र जिपजस्ता कार बेच्दै आएको एमएडब्लू ग्रुप, टाटाको नेपाली बजारको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ र हुण्डाईको नेपालको लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल आदि हुन् ।

एनएडब्लू चिनियाँ ब्रान्ड धमाधम नेपाली बजारमा भित्र्याइरहेको छ भने सिप्रदी र लक्ष्मी नेक्सन, टियागो, टिगोर, पञ्च, कोना, आयोनिक जस्ता मोडल बजारमा धमाधम प्रस्तुत गररिहेका छन् । लक्ष्मी त नेपाली बजारमा लोकप्रिय मोडल क्रेटाको ईभी संस्करण नेपालमै बनाउने तयारीमा छ ।

अब कुरा गरौं, नेपाली बजारमा चारपांग्रे गाडि बेच्दै आएका चर्चित व्यवसायी घराना जसको व्यवसाय आर्थिक सुस्तता र घट्दो मागले प्रभावित भएको छ ।

नेपाली बजारमा वार्षिक १८ अर्बको गाडी बेच्दै आएको सिप्रदी, १३ अर्बको व्यवसाय गर्ने अग्नी इंक, ८ अर्बको गाडी बेच्ने युनाइटेड ट्रेडर्स, १६ अर्बको बिजनेस गर्ने स्याकार ट्रेडिङ र १७ अर्बकोकार बेच्ने एमएडब्लू सबैको व्यवसाय एक तिहाईमा सिमित भएको छ ।

सुरुमा कुरा गरौं, नेपाली बजारमा निशानका गाडी बेच्दै आएको पायोनियर मोटोकर्पको । कम्पनीले सन् २०२२ मा अर्थात् आव २०७८/७९ मा ५ अर्ब ७२ करोड रुपैयाँको गाडि बेच्थ्यो । आव २०७९/८० मा कम्पनीको व्यवसाय १ अर्ब ७८ करोड रुपैयाँको गाडि बचेकामा गत आवको ११ महिनामा १ अर्ब ४४ करोडको मात्र कारोबार गरेको छ ।

सन् २०१४ मा स्थापित पायोनियर मोटोकर्प शारडा ग्रुपको हो । निशानसँगै डाट्सनको गाडि बेच्दै आएको कम्पनीको एकल मालिक सन्दीपकुमार शारडा हुन् ।

सन् २०११ मा एमएडब्लु इन्टरप्राइजेज स्थापना गरेर उद्योगी विष्णु अग्रवाल अटो व्यवसायमा प्रवेश गरेका थिए । स्कोडा, जिप लगायत कार र यामाहा ब्राण्डको मोटरसाइकल बेच्ने यो कम्पनीले आव २०७८/७९ मा १६ अर्ब ८५ करोडको व्यापार गरेको थियो ।

त्यसयता उनको कम्पनीको व्यवसाय निरन्तर ओरालो लाग्दो छ । यसबीचमा अग्रवालले एमएडब्लू वृद्धि नामको कम्पनी खोलेर ईभी बजारमा प्रवेश गरे । उनको कम्पनी हाल चांगनको दिपालका साथै चिनियाँ कम्पनीहरु सेरेस, फोटोन र नामी ब्रान्डको कार नेपाली बजारमा बेच्दै आएको छ ।

अब कुरा गरौं फोर्ड गाडीको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमोबाइल्सको । सन् २००७ मा स्थापित कम्पनीमा आकाश गोल्छाको मुख्य लगानी छ । उनी कम्पनीको प्रबन्ध निर्देशक पनि हुन् । आव २०७७/७८ मा ३ अर्ब ४४ करोको कार बेचेको कम्पनीले आव २०७८/७९ मा १ अर्ब ६५ करोडकोमात्र बेच्न सक्यो । आव २०७९/ ८० मा त कम्पनीको बिजनेस ८३ करोडमा खुम्चिएको छ ।

यसैगरी व्यवसायी सुहृद घिमिरेको कन्टिनेन्टल इन्टरप्राजेजको व्यापार पनि उस्तै दरले घटेको छ । सन् १९९५ मा स्थापित तथा किया र इसुजुको गाडि बेच्दै आएको कम्पनीले आव २०७७/७८ मा ११ अर्बको व्यापार गरेको थियो । त्यसपछिको आर्थिक वर्षको पहिलो ६ महिनामा ६ अर्ब ७ करोडको कार बेचेको थियो ।

यसैगरी नेपाली बजारमा एमजी, माज्दा र म्याक्ससका गाडी बेच्दै आएको पारामाउन्ट मोटर्सले आव २०७८/७९ मा ३ अर्ब २८ करोडको मात्र कार बेचेको छ । कम्पनीले सन् २०१६ देखि एमजी र सन् २०२० मार्चदेखि माज्दा बेच्दै आएको छ । कम्पनीमा विशाल ग्रुप मुरारका ग्रुपको लगानी छ ।

अब कुरा गरौं, गाडी व्यापारमा यसअघि उल्लेखित कम्पनीहरुभन्दा अगाडि रहेका कम्पनीहरुको ।

होन्डाको मोटरसाइकलसँगै होण्डा कार पनि बेच्दै आएको स्याकारले आव २०७८/७९ मा १५ अर्ब ३५ करोडको कुल व्यापार गरेकामा आव २०७९/८० मा कारोबार रकम ९ अर्ब ७२ करोडमा खुम्चिएको थियो । स्याकार पछिल्लो ५० वर्षदेखि अटो व्यवसायमा छ । ज्योति परिवारको लगानी रहेको स्याकारमा सौरभ ज्योती र सुहृद ज्योतिको बराबर सेयर छ । गत आवको ५ महिनामा कम्पनीको कुल व्यापार ४ अर्ब ९६ करोड रुपैयाँमा सिमित भएको छ ।

गोल्छा परिवारको अर्को कम्पनी हंशराज हुलाशचन्द एन्ड कम्पनी (एचएच एन्ड कम्पनी)ले गत आवको ८ महिनामा ७ अर्ब २१ करोडको मात्र कारोबार गरेको छ । शेखर गोल्छाको बहुमत सेयर रहेको यो कम्पनीले नेपाली बजारमा बजाज (पल्सर, एभेन्जर आदि) र केटीएमका मोटरसाइकल बेच्दै आएको छ । कम्पनी सन् १९५९ मा स्थापना भएको थियो ।

सन् २०२१ मा २५ अर्ब ४२ करोड रुपैयाँको बिजनेस गरेको कम्पनीले सन् २०२३ मा मात्रै १० अर्ब ७६ करोडको व्यापार गरेको थियो ।

नेपाली बजारमा उल्लेख्य हिस्सा ओगट्ने अर्को दुईपांग्रे सवारी टीभीएस र चारपांग्रे प्रोटोनको आधिकारिक विक्रेता जगदम्बा मोटर्सको बिजनेसमा पनि गिरावट आएको छ । सन् २०२३ मा कम्पनीले ७ अर्ब ८१ करोडको मात्र व्यापार गरेको छ ।

शंकर ग्रुपको भागिना संस्था र साहिल अग्रवालले व्यवस्थापन गरेको यस कम्पनीले सन् २०२१ र २२ मा क्रमशः १२ अर्ब १४ करोड र १२ अर्ब ६२ करोड रुपैयाँको व्यापार गरेको थियो ।

चारपांग्रे सवारीमा उल्लेख्य बजार हिस्सा ओगट्ने महिन्द्राको नेपाली बजारको आधिकारिक विक्रेता अग्नी इंकको व्यवसाय पनि निकै घटेको छ ।

सन् १९९१ मा स्थापित क्याबिनेट श्रेष्ठको यो कम्पनीले आव २०७८/७९ मा १२ अर्ब ९४ करोडको व्यापार गरेको थियो । त्यसपछिको आवमा कम्पनीले मात्रै ५ अर्ब १५ अर्ब रुपैयाँ बराबरको व्यापार गरेकामा गत आवमा पनि ५ अर्ब ६० करोडको बिजेनेस गरेको छ ।

यता नेपालका लागि टोयोटा ब्राण्डको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स प्रालिको व्यापार एकै वर्षमा ५२ प्रतिशतले घटेको छ। कम्पनीले सन् २०२२ मा ७ अर्ब ६१ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२३ मा ३ अर्ब ६५ करोड ६० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा ४ अर्ब ८६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९७१ मा स्थापना भएको कम्पनी नेपालमा टोयोटा ब्राण्डको सवारी साधनसँगै पार्टपूर्जा बेच्चे आधिकारिक कम्पनी हो । सुरज वैद्यको ६० प्रतिशत, ऋतुसिंह वैद्यको ३० प्रतिशत र सुसन वैद्य श्रेष्ठको १० प्रतिशत हिस्सा रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ४ अर्बको रेटिङ गराएको छ ।

वर्षमा २९ अर्ब रुपैयाँसम्मको व्यापार गर्ने सिप्रदी ट्रेडिङको व्यवसाय १८ अर्बमा खुम्चिएको छ । नेपाली बजारमा सन् १९८२ देखि टाटाका गाडी, २००० देखि एक्साइडका ब्याट्री र २००२ म्याक लुब्रिकेन्ट बेच्दै आएको सिप्रदीले सन् २०२२ मा २८ अर्ब ९६ करोडको व्यापार गरेको थियो । सन् २०२३ मा १८ अर्ब ३० करोडमा खुम्चिएको सिप्रदीको कुल व्यापार सन् २०२४ को ९ महिनामा १३ अर्ब ५४ करोड रुपैयाँ थियो ।

टाटाको नेपालभर ३७ आफ्नै र २७ डिलरको नेटवर्क रहेको छ । कम्पनीमा मुख्यतः सिद्धार्थ राणाको सेयर छ ।

अटो व्यवसायमा लागेका सबै व्यापारीका लागि पछिल्लो २ वर्ष कठीन स्थिति बनेका बीवाईडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंकको व्यापार भने बढेको छ ।

नेपालमा बीवाइडीका कार बेच्ने साइमेक्स इंकले ११ महिनामै १० अर्बको व्यापार गरेको छ । अटो व्यवसायी यमुना श्रेष्ठको यो कम्पनीले चालु आर्थिक वर्षको ११ महिनामै गत वर्षभर गरेको व्यापारभन्दा ५ गुणा बढी कार बेचेको हो ।

कम्पनीले गत आवको ११ महिनामा ९ अर्ब ९४ करोड ५० लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । जुन अघिल्लो आवभर गरेको १ अर्ब ९१ करोडको कारोबारभन्दा ५.१९ गुणा बढी हो । साइमेक्सले गर्ने कुल आम्दानीको ९८ प्रतिशत रकम एट्टोथ्री र डल्फिनबाट आउँछ ।

गत आवको ११ महिनामा गरेको कारोबार आर्थिक वर्ष २०७७/७८ मा गरेको व्यापारभन्दा १४३ गुणा बढी हो । साइमेक्सको एकमात्र आम्दानीको स्रोत कार बिक्री नै हो । ४ वर्षअघि मात्रै ७ करोडको कार बेचेको साइमेक्सले यो वर्ष १० अर्बको कार बिक्री गरेको हो ।
साइमेक्स चिनीयाँ कार उत्पादक कम्पनी बीवाईडीको नेपालका लागि एकमात्र आधिकारिक विक्रेता हो ।

साइमेक्समा अटो व्यवसायी यमुना श्रेष्ठ र उनका दाइ अनिल श्रेष्ठको लगानी छ । कम्पनीको सेयर संरचनाअनुसार यमुना ५०.५ प्रतिशत हिस्सासहित बहुमत सेयरधनी हुन् भने बाँकी सेयर अनिलको नाममा छ ।

यसैगरी भोक्सवागनको कार नेपाली बजारमा बेच्दै आएको पुजा इन्टरनेसनल, रेनोको सवारी बेच्दै आएको एड्भान्स्ड अटोको पनि व्यवसाय खस्कँदो छ ।

नेपाली बजारमा हुन्डाईको गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले, बीएमडब्लूको लक्ष्मी प्रिमियम मोर्टले, सुजुकीको सीजी मोटोकर्पले, ग्रेटवालको भीजी इम्पेक्सले, प्युगो, सिट्रन र जीएसीको शांग्रिला मोटर्सको, मित्सुबिशीको लियोन मोटर्सले, नेटाको सीजी मोटर्सले, चेरी र ओमोडाको एसपीजी अटोले, सुबारुको विजय मोटर्सले, स्काइवेलको जी मोटर्सले, वुलिङको ईभी नेपालले बिक्री वितरण गर्दै आएका छन् । यी सबै कम्पनीको व्यापार घटेको अटो व्यवसायमा लाग्दै आएका व्यवसायीहरु बताउँछन् ।


रोविन पौडेल