विमानस्थलभित्रको इन्धन डिपो तत्काल सार्न सम्भव छैन: आयल निगम



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसुधन बुर्लाकोटीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको इन्धन भण्डारण तत्काल स्थानान्तरण गर्न सम्भव नरहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव बुर्लाकोटीले यस्तो बताएका हुन् । नेपाल आयल निगमको सञ्चालक समितिका अध्यक्षसमेत रहेका उनले विमानस्थलभित्र रहेको निगमको इन्धन भण्डारणलाई तत्काल विमानस्थल बाहिर स्थानान्तरण गर्न सम्भव नभएको बताए ।

प्राविधिक कारणले पनि बाहिर स्थानान्तरण गर्न नसकिने भन्दै विमानस्थलभित्रै भण्डारण गर्नु आफूहरुको बाध्यता भएको उनले बताए । यद्यपि प्रधानमन्त्रीको निर्देशन अनुरुप आफूले काठमाडौं उपत्यकाका केही स्थानहरुमा विकल्प खोजिरहेको भन्दै राजनीतिक तहबाट स्वीकृत हुन बाँकी रहेको उनले बताए ।

उनले राजनीतिक तहले स्वामित्व नलिएसम्म उक्त स्थानबारे आफूले अहिले नै खुलाउनु उपयुक्त नहुने जानकारी दिए । उनले विमानस्थलभित्रको इन्धन भण्डारणलाई सम्भव भएसम्म सुरक्षित तवरले राखिएको बताए ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले इन्धन भण्डारणको स्थानान्तरण गर्न निगम तयार भए पनि जग्गा अभावका कारण तत्कालै सम्भव नभएको जानकारी दिए । उनले जग्गा उपलब्ध हुन सकेमा आफूहरुले तुरुन्त काम अगाडि बढाउने बताए । उनले निगमले स्थानान्तरणका लागि बजेट छुट्याएर राखेको भएपनि जग्गा प्राप्ति नहुँदा तत्काल सार्न नसकिने प्रस्ट पारे ।

‘हामी त तयारी अवस्थामा छौँ । जग्गा उपलब्ध नभएकाले डिपिआर गर्न पाएका छैनौँ । गत आर्थिक वर्षमा पनि हामीले बजेट राख्यौँ । डिपिआर गर्न शुरु गर्न खोज्यौँ तर जग्गा उपलब्ध भएको छैन । हाम्रो जग्गाका इस्युहरु छन,’ भट्टले भने,‘हाम्रो ३२ रोपनी जग्गा यतापट्टि छ । ५ रोपनी भाडामा लिएका छौँ । सम्बन्धित निकायले पनि हामीसँग यो जग्गाको विषय सल्ट्याउनु पर्‍यो । हामी सल्ट्याउन तयार छौँ । जग्गा उपलब्ध नभएकोले हामीले काम अगाडी बढाउन नसकेको अवस्था छ ।’

समितिले हवाई इन्धनको डिपोको स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ । समितिको सभापति अब्दुल खानको सभापतित्वमा आइतबार बसेको बैठकले यो निर्णय गरेको हो ।

हवाई इन्धनका कारण के कस्ता समस्याहरु त्यहाँ निम्तिएका छन भन्ने विषयमा यथार्थ जानकारी लिने उद्देश्यले समितिले डिपोमा पुगेर स्थलगत अनुगमन गर्ने निर्णय गरेको हो ।

समितिले स्वदेशी उत्पादकहरुबाट बायो इथानोलसम्बन्धी खरिद सम्झौता गरी प्रयोगमा ल्याउन आवश्यक व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसनले विदेश जाने विद्यार्थी तथा श्रमिकको स्वास्थ्य परीक्षण गरिरहेको विषयमा ध्यानाकर्षण भएको भन्दै समितिले त्यो संस्थाले सरकारलाई कर तिरेको नतिरेको विषयमा प्रमाणसहितको विवरण उपलब्ध गराउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने साउनको तेस्रो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सिनामंगलमा रहेको हवाई इन्धन भण्डारण उक्त स्थानबाट सार्न निर्देशन दिएका थिए ।


क्लिकमान्डु