वातावरण संरक्षणका लागि इभी गाडीको र्‍याली



विराटनगर । रोट्रयाक्ट क्लब अफ विराटनगर सेन्ट्रलले वातावरण संरक्षणका लागि विद्युतीय गाडीको सचेतनामूलक र्‍याली निकालेको छ ।

विराटनगरको मारवाडी सेवा सदनमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले र्‍यालीको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

उपमेयर कार्कीले वातावरण संरक्षणका लागि सचेतनामूलक नारा लेखिएको स्टीकर टा“सेर र्‍यालीको शुभारम्भ गर्दै वातावरण संरक्षण गर्नु सबैको दायित्व भएको उल्लेख गरिन् ।

नेपालजस्तो ऊर्जाको प्रचुर सम्भावना भएको मुलुकमा इभी गाडीको प्रयोग अत्यन्तै उपयुक्त भएको उनको भनाइ थियो । इभी गाडी वातावरणमैत्री समेत भएकाले पेट्रोलियम गाडीको सट्टा इभी गाडीको प्रयोग गर्नु उपयुक्त हुने उपमेयर कार्कीको ठम्याइ थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भट्टराईले पेट्रोलियम पदार्थबाट चल्नेभन्दा विद्युतबाट चल्ने गाडीको माग विश्वमै बढ्दै गएको बताए ।

उनले पेट्रोलियम पदार्थको उत्पादनसमेत घट्दै गएका कारण विद्युतीय र सौर्य गाडी सञ्चालनमा जोड दिए । पेट्रोलियम पदार्थबाट सञ्चालित गाडीका कारण वातावरणमा समेत प्रतिकूल असर पर्ने उनको भनाइ थियो ।

वातावरण संरक्षणका लागि सबै नागरिकलाई सचेत गराउन इभी गाडीको र्‍याली निकालिएको कार्यक्रम संयोजक आश्रेय कोइरालाले जानकारी दिए । वातावरण संरक्षणका लागि अन्य कार्यक्रमसमेत सञ्चालन गर्ने उनले बताए ।

र्‍यालीमा विभिन्न कम्पनीका करिब ३० वटा गाडी सहभागी भएको आयोजक संस्थाका अध्यक्ष कुशल साहले जानकारी दिए । मारवाडी सेवा सदनबाट सुरु भएको र्‍याली तीनपैनी चोक, पुष्पलालचोक, दूधफारम, बरगाछी, महेन्द्रचोक, बसपार्क, रोडशेषचोक, ट्राफिक चोक, जलजलाचोक, गोल्छाचोक हु“दै विराटनगर महानगरपालिकामा पुगेर समापन भएको थियो ।

कोशी प्रदेशमा विधुतीय सवारी साधनको प्रयोग नगन्य रुपमा रहेपनि यसको माग क्रमिक रुपमा बढदै गएको सम्बद्ध व्यवसायीको भनाइ छ ।

डिजल र पेट्रोलवाट चल्ने वस, जिप, कार, ढुवानीका साधन र मोटर साइकलको एकाधिकार रहेको कोशी प्रदेशको २४ हजार ७ सय २४ किलोमिटर सडकमा साना ठुला गरेर १० लाख ७९ हजार ७ सय १७ वटा सवारीका साधन गुडदै छन् । त्यस मध्ये विधुतिय गाडीको हिस्सा शून्य दशमलव ५ प्रतिशत रहेको कोशी प्रदेश अटोमोवाइल डिलर एशोसिएसनका अध्यक्ष सञ्जय श्रेष्ठको भनाइ छ ।

डिजल, पेट्रोलले चल्ने वस, जिप, कार र मोटर साइकलको भीडमा मुस्कीलले शुन्य दशमलव ५ प्रतिशत विधुतिय सवारीका साधन मिसिएको अवस्था छ । श्रेष्ठका अनुसार विधुतिय प्यासेन्जर गाडीको माग बढनेक्रममा छ । उनका अनुसार पछिल्लो समय सय वटा गाडी खरिद विक्री हुँदा ८० वटा विधुतीय र २० वटा डिजल पेट्रोलका गाडी बिक्री हुदै गरेको अवस्था छ ।


क्लिकमान्डु