यी हुन् नेपालले धेरै सामान किन्ने ५ देश, कुनसँग कति ?

भारतसँग मात्रै ११ खर्बको द्विपक्षीय व्यापार



काठमाडौं । नेपालले भारतसँग मात्रै करिब तीन चौथाईको हाराहारीमा वैदेशिक व्यापार गरेको पाइएको छ । गत आर्थिक वर्षमा नेपालले १९८ वटा मुलुकसँग १७ खर्ब ४५ खर्ब ३६ करोड ६७ लाख रुपैयाँको कूल वैदेशिक व्यापार गरेको थियो ।

यसमध्ये भारतसँग मात्रै नेपालले करिब तीन चौथाईको दरले ११ खर्बको वैदेशिक व्यापार गरेको छ । भारतसँग नेपालले गत आर्थिक वर्षमा भारतबाट ९ खर्ब ९६ अर्ब ६८ करोड २१ लाख ६१ हजार रुपैयाँ बराबरको विभिन्न सामग्री आयात गरेको थियो ।

यही अवधीमा नेपालले भारतमा १ खर्ब ३ अर्ब १७ करोड ६९ लाख रुपैयाँबराबरको विभिन्न सामग्री निर्यातसमेत गरेको थियो । यो दुबै गरी नेपालले भारतसँग कूल १० खर्ब ९९ अर्ब ८५ करोड ९१ लाख ४४ हजार रुपैयाँको द्विपक्षीय व्यापार गरेको हो । भारतसँग मात्रै नेपालले ८ खर्ब ९३ अर्ब ५० करोड ५१ लाख ७९ हजार रुपैयाँबराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ ।

भारतबाट नेपालले सबैभन्दा बढि मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । १ खर्ब ४३ अर्ब ९७ करोड ६९ लाख २७ हजार रुपैयाँबराबरको डिजेल, ६८ अर्ब १० करोड २० लाख ३६ हजार रुपैयाँको पेट्रोल, ५५ अर्ब ६१ करोड ८३ लाख ४९ हजार रुपैयाँबराबरको खाना पकाउने ग्यास आयात भएको छ । यसपछि नेपालले भारतबाट ३९ अर्ब २ करोड ६६ लाख ६३ हजार रुपैयाँको स्पन्ज आयरन आयात गरेको छ ।

भारतबाट नेपालले समतल र तातो रोल्ड गरिएको फलाम तथा स्टिल १६ अर्ब १२ करोड ७९ लाख ६३ हजार रुपैयाँबराबरको आयात गरेको छ । यस्तै १५ अर्ब १९ करोड ६० लाख रुपैयाँबराबरको सोयाबिनको तेल केक र अन्य ठोस पदार्थ आयात भएको छ । १३ अर्ब ८४ करोड ६१ लाख रुपैयाँबराबरको अर्ध तयारी स्टिल र फलामबाट निर्मित सामग्री, १३ अर्ब १ करोड ८६ लाख रुपैयाँको मकै, १२ अर्ब ५ करोड ४४ लाखको धान, ९ अर्बको धान, विभिन्न प्रकारका रड र बार ९ अर्ब ४३ करोड ७४ लाख र मोवाइल फोन ९ अर्ब २५ करोड ८६ लाख रुपैयाँको आयात भएको छ ।

यस्तै दोश्रोमा अत्यधिक व्यापार चीनसँग गरेको छ । चीनसँग कूल ३ खर्ब १ अर्ब ३६ करोड ३२ लाख ५८ हजार रुपैयाँको व्यापार भएको छ। यसमध्ये चीनबाट २ खर्ब ९८ अर्ब ७७ करोड ४६ लाख ४४ हजार रुपैयाँबराबरको आयातसम्बन्धी कारोबार गरेको छ भने २ अर्ब ५८ करोड ८६ लाख १४ हजार रुपैयाँबराबरको विभिन्न सामग्री चीनमा निर्यात गरेको छ । चीनसँग २ खर्ब ९६ अर्ब १८ करोड ६० लाख ३० हजार रुपैयाँबराबरको व्यापार घाटा भएको छ ।

चीनबाट सबैभन्दा बढी मोवाइल फोन आयात भएको छ । १८ अर्ब ९५ करोड ४० लाख रुपैयाँबराबरको मोवाइल फोन आयात भएको छ । यस्तै १८ अर्ब ७२ करोड ७७ लाख रुपैयाँबराबरको ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताको बिद्युतीय गाडी, १३ अर्ब ९६ करोड ९८ लाखको समतल तथा तातो रोल्ड फलाम र स्टिल, ११ अर्ब २७ करोड ९ लाखको डाइमोनियम हाइड्रोजन फोस्फेट, ७ अर्ब ५७ करोड ४६ लाखको स्याउ आयात गरेको छ । त्यसैगरी, ७ अर्ब १५ करोड ७९ लाखको ल्यापटप र नोटवुक, ७ अर्ब २ करोड ६३ लाखको सिंथेटिक टिक फाइवरको रंगीन बुनेको वा क्रोचेटेड कपडा, ३ अर्ब ४६ करोड ६७ लाखको पकेट लाइटर, ३ अर्ब २९ करोड ९४ लाखको टिशर्ट, भेस्टस् र २ अर्ब ९३ करोड ४७ लाखको ५० वाट क्षमताको विद्युतीय गाडी आयात भएको छ ।

यसपछि नेपालको संयुक्त अरब इमिरेट्स (दुबई)सँग व्यापार भएको छ । इमेरेट्ससँग नेपालको ३१ अर्बको व्यापार भएकोमा २९ अर्ब ८ करोड ८० लाख ६३ हजार रुपैयाँबराबरको आयात र २ अर्ब ५७ करोड ८७ लाख २८ हजार रुपैयाँबराबरको निर्यातसम्बन्धी कारोबार भएको छ । इमिरेट्ससँग नेपालको व्यपार घाटा २६ अर्ब ५० करोड ९३ लाख ३५ हजार रुपैयाँबराबरको व्यापार घाटा भएको छ ।

इमिरेट्सबाट सबैभन्दा बढी सुन २२ अर्ब २५ करोड ८४ लाखको आयात भएको छ । यस्तै २ अर्ब ६० करोड ११ लाखको प्रशोधित कपरको तार, ६२ करोड ६ लाखको पोलिथिन, ५६ करोड १४ लाखको लुव्रिकेन्ट्स तेल, ४७ करोड ४५ लाखको चाँदीको धुलो पाउडर र ४२ करोड ४० लाखको गोल्ड प्लेटेड सामग्री आयात भएको छ ।

वैदेशिक व्यापार अन्तर्गत चौथो स्थानमा अमेरिकासँग नेपालको व्यापार भएको छ । अमेरिकाबाट नेपालमा १९ अर्ब ४८ करोड २४ लाख २७ हजार रुपैयाँबराबरको विभिन्न वस्तु आयात हुँदा नेपालबाट भने अमेरिकामा १७ अर्ब ३१ करोड ४५ लाख ६६ हजार रुपैयाँको सामान निर्यात गरेको छ । अमेरिका नेपालको व्यापार घाटा २ अर्ब ६५ करोड ९३ लाख ३५ हजार रुपैयाँबराबर छ ।

अमेरिकाबाट ३ अर्ब ४९ करोड २४ लाखको भटमास, २ अर्ब ७९ करोड ४० लाखको कोइला, १ अर्ब ३ करोड ४७ लाखको हवाई जहाज र हेलिकप्टरको पार्टपुर्जा र ८९ करोड १४ लाखको कम्प्युटरको सफ्टवेयर मुख्य गरी आयात भएको छ ।

५ मुलुकमा कति मूल्यको निर्यात ?

निर्यातको हिसावले हेर्दा पनि नेपालबाट सबैभन्दा बढी मूल्यबराबरको भारतमा निर्यात भएको छ । भारतमा सबैभन्दा बढी ठूलो अलैंची ७ अर्ब ९३ करोड ६६ लाख रुपैयाँबराबरको निर्यात भएको छ ।

यस्तै ६ अर्ब ८६ करोड रुपैयाँबराबरको रोल्ड फलाम र स्टिल, ६ अर्ब १८ करोड ६९ लाखको मिक्स जुस, ५ अर्ब ६२ करोड ७१ लाखको रिफाइण्ड पाम आयल, ४ अर्ब ३० करोड ८६ लाखको पेन्ट गरिएको रोल्ड फलाम र स्टिल, ४ अर्ब २५ करोड ५७ लाखको धागो, ४ अर्ब ४ करोड ५ लाखको जुट वा अन्य टेक्सटाइल फाइवरको ब्लीच नगरिएको बुनेको कपडा, ३ अर्ब ९४ करोड ३२ लाखको प्लाईवुड, ३ अर्ब ८ करोड १४ लाखको कालो चिया, ३ अर्ब ५७ लाखको पोलिस्टर धागो र २ अर्ब ९३ करोड ५३ लाखको कोल्जा बीउको तेल केक निर्यात भएको छ ।

यस्तै चीनतर्फ भुईंमा ओछ्याइने ३९ करोड १६ लाखको कार्पेट र टेक्सटाइल, ३४ करोड ४३ लाखको टेवल र भान्छाको घरायसी सामान, २५ करोड ३० लाखको यार्सागुम्बा, १६ करोड २८ लाखको विभिन्न प्रकारका मुर्तिहरु, १५ करोड ७३ लाखको फेल्टका सामग्री र १४ करोड ६३ लाखको पास्ता निर्यात भएको छ ।

तेश्रोमा संयुक्त अरब इमिरेट्समा नेपालबाट विभिन्न वस्तुहरु निर्यात भएका छन् । जसमध्ये सबैभन्दा बढी दाह्री काट्ने रेजरको व्लेड १ अर्ब ९७ करोड रुपैयाँको निर्यात गरेको छ । नेपालमा गत आर्थिक बर्षमा विभिन्न मुलुकबाट यस्तो रेजरको व्लेड २ अर्ब ३ करोड ९४ लाख ७१ हजार रुपैयाँबराबरको आयात भएको थियो ।

रेजर व्लेडपछि ११ करोड ३९ लाखको कार्पेट र टेक्सटाइल, ११ करोड २३ लाखको मोवाइल फोन, ५ करोड ३ लाखको कम्प्रेसन इग्निशन पिस्टन इन्जिन र ४ करोड ३२ लाखको पेपर तथा पेपरबोर्ड इमिरेट्समा निर्यात भएको छ ।

चौथोमा अमेरिकामा सबैभन्दा बढी ६ अर्ब ३८ करोड २५ लाखको भुईमा ओछ्याइने कार्पेट तथा टेक्सटाइल निर्यात भएको छ । यस्तै २ अर्ब ७६ करोड १३ लाखको कुकुर र बिरालोको खाना (छुर्पी), १ अर्ब ८१ करोड २५ लाखको फेल्टका सामग्री, ६७ करोडको महिलाले प्रयोग गर्ने ट्राउजर, ६१ करोड ६० लाखको सिसा र सेरामिकका सामग्री तथा ३३ करोड ५२ लाखको सल, मफलरलगायत नेपालबाट अमेरिकामा निर्यात भएको छ ।


राजेश बर्मा