सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छः मुकुल ढकाल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. मुकुल ढकालले रवि लामिछानेको कब्जाबाट पार्टीलाई छुटाएरै छोड्ने बताएका छन् ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताए । उनले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट नभइ रवि लामिछाने क्लवबाट मात्रै निष्कासन गरिएको जिकिर गर्दै आफू अहिले पनि पार्टीको महामन्त्री नै रहेको बताए ।

सहकारी प्रकरणमा सभापति रवि लामिछानेमाथि सहकारीको रकम ठगी प्रकरणमा अनुसन्धान हुनुपर्ने र त्यसका लागि पार्टीको केन्द्रिय समिति सदस्यहरुले स्वतन्त्र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गरे ।

उनले दुई वटा राहदानीको विषयमा पनि पार्टीले लामिछानेउपर छानबिन समिति बनाउनुपर्ने माग गरे । छानबिन समितिमा स्वतन्त्र व्यक्ति राख्नुपर्ने बताए ।

मुकुलले यसो भने

म अहिले पनि महामन्त्री छु र हो । मलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट होइन रवि लामिछाने क्लवबाट मात्रै निस्कषन गरिएको हो । म अहिले पनि गएर पार्टीको महामन्त्रीको जुन कुर्सी छ, त्यसमा बस्नसक्छु । रास्वपालाई रवि लामिछाने क्लवको रुपमा कब्जा गरिएको छ । पार्टी एलिडरको कब्जामा गइसक्यो ।

आज पार्टी कुनै एलिडको कब्जामा जाँदैमा, रवि लामिछानेको कब्जामा जाँदैमा पार्टीलाई माया गर्ने घण्टीवाहक साथीहरुले डराउनु पर्दैन । यो कब्जाबाट हामी थुत्छौँ ।

सहकारी प्रकरणमा रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्छ भनेर सर्वोच्च अदालतले फैसला गरिसकेको छ । राय नैतिकताको छुट दिने की राजीनामा दिने भन्ने रायमा मात्रै मत बाझिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले अब पार्टीको धारणा बनाउनुपर्छ । त्यसका लागि स्वतन्त्र उच्चस्तरीय छानबिन समिति बनाउनु पर्छ । त्यसमा स्वतन्त्र व्यक्तिलाई राख्नुपर्छ । संसदको छानबिन समितिले पुग्दैन । पार्टीभित्रबाट रवि लामिछानेउपर छानबिन समिति बनाउनु पर्छ । पासपोर्टको सवालमा पनि स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्छ ।


क्लिकमान्डु