सामसुङ कम्पनीमा ६ हजार श्रमिकको अनिश्‍चितकालीन हड्ताल



एजेन्सी । दक्षिण कोरियामा सामसुङ इलेक्ट्रोनिक्सको सबैभन्दा ठूलो श्रमिक युनियनले तलब भत्ता बढाउने लगायत माग राख्दै अनिश्चितकालीन हड्तालको घोषणा गरेको छ ।

तीन दिनसम्म विरोधको क्रममा माग सुनुवाइ हुनुको सट्टा कम्पनीसँग थप विवाद बढेपछि युनियनले अनिश्चितकालीन हड्ताल घोषणा गरेको हो ।

यसै साताको सुरुमा कम्पनीका ६ हजार कामदारहरुले विरोध जनाउन थालेका थिए । तर समाधान नभउपछि बुधबार हड्तालको घोषणा गरेका हुन् । विशेषगरी कम्पनीको सेमिकन्डक्टर विभागबाट हड्ताल सुरु भएको श्रमिकहरुले बताएका छन् । नेसनल सामसुङ इलेक्ट्रोनिक्स युनियनले आफ्ना ३१ हजार सदस्यहरुले देशको कुल कामदारहरुको लगभग एकचौथाइ प्रतिनिध्व गर्ने भन्दै आफ्ना माग सुनुवाइ नभएपछि जुलाई १० देखि अनिश्चितकालीन हड्ताल घोषणा गरिएको जनाएको छ ।

यो आन्दोलन स्मार्टफोन र चिपमेकिङ कम्पनीको ५५ वर्षको इतिहासमा सबैभन्दा ठूलो श्रम आन्दोलन भएको बताइएको छ । श्रम युनियनका नेताहरुले भने अहिले सहमतिमा नआएकोमा कम्पनीले भविष्यमा पछुताउनुपर्ने चेतावनी दिएका छन् । युनियनले आन्दोलनबारे आफ्नो आधिकारिक वेबसाइटमा पनि पोस्ट गरेका छन् । यस्तै श्रमिक नेताहरुले कम्पनीले आफूहरु अगाडि घुँडा टेक्न बाध्य हुने भन्दै आफूहरु विजयका लागि विश्वस्त रहेको पनि बताएका छन् ।

सामसुङ इलेक्ट्रोनिक्सले बुधबार विज्ञप्ति जारी गर्दै युनियनसँग विश्वासपूर्ण वातावरणमा वार्तामा बस्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ । आफ्नो उत्पादनमा कुनै अवरोध नहुने सुनिश्चित गरेको खण्डमा आफू वार्तामा बस्त तयार रहेको कम्पनीले उल्लेख गरेको छ । यद्यपि युनियनका नेता सन वुमकले हड्तालका कारण बन्द भएको उत्पादन प्रक्रिया पुनर्संचालन गर्न लामो समय लाग्ने चेतावनी दिएका छन् ।

कसरी चर्कियो आन्दोलन ?

गत जुनमा यहाँका श्रमिक र कम्पनीबीच विवाद सुरु भएको थियो । युनियनले गत जुनमा पारदर्शी पारिश्रमिक संरचना र राम्रो कामको वातावरणलाई लिएर कम्पनीसँग वार्ता गरेको थियो । तर वार्ता भंग भएपछि एक दिनको हड्ताल गरेको थियो ।

विश्वकै सबैभन्दा ठूलो चिपमेकर कम्पनी सामसुङले पछिल्ला केही वर्षयता विभिन्न समस्या झेल्नु परेको छ । कोरोना महामारीमा ऐतिहासिक रुपमा कम्प्युटर चिप्सको माग घटेपछि पनि यो कम्पनीले समस्या ब्यहोर्नु परेको थियो । सामसुङले गत साता मात्रै गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको दोस्रो त्रैमासिक नाफामा १५ गुणा वृद्धि हुने घोषणा गरेको थियो ।

तर श्रमिकहरुले कामदारलाई कम्पनीले गर्ने व्यवहार तथा पारिश्रमिकको पारदर्शीताको मुद्दा उठाउँदै आएका थिए । आफ्नो मागबारे कम्पनीले चासो नदिएको भन्दै यही बुधबार श्रमिकले आन्दोलन चर्काउन थालेका हुन् । कम्पनीले हरेक वर्ष नाफा बढाउँदै आए पनि कामदारलाई बोनस लगायतका सुविधा नदिएकामा श्रमिकहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।


क्लिकमान्डु