क्यानडामा कार चोरीको बिगबिगी: एकै वर्ष १ लाख कार हराए, मन्त्रीकै कार चोरियो



एजेन्सी । क्यानडाको ओन्टारियोस्थित लोगन लाफार्निएर २०२२ को अक्टोबरको बिहान उठ्दा उनको ब्रान्डेड नयाँ राम रिबेल ट्रक हराइसकेको थियो । सेक्युरिटी क्यामेरामा हेर्दा मिल्टनमा रहेको उनको घर बाहिर दुई जना हुड लगाएका युवकहरुले रातिको समयमा पिकअपमा छिरेर सजिलैसँग ट्रक लैजाँदै गरेको थियो ।

केही महिनापछि घानाको एउटा सवारी विक्रेता सम्बन्धी वेबसाइटमा त्यही हराएको कार देखियो । ८५०० किलोमिटर टाढा रहेको घानाको वेबसाइटमा उक्क कार विक्रीका लागि राखिएको देखिन्थ्यो ।

‘त्यहाँ एउटा उपहारको ल्यापटप होल्डर थियो । जुन हामीले छोराको लागि ड्राइभर सिटको पछाडि राखेका थियौं । र जहाँ उसले राखेको फोहोर थियो,’ लाफर्निएरले भने। वेबसाइटमा उक्त कार विक्रीको सूचीमा राखिएको थियो ।

उनी भन्छन्, ‘यो मेरै कार हो भन्नेमा म ढुक्क थिएँ ।’ सन् २०२२ मा मात्रै क्यानडामा १ लाख ५ हजारवटा कार चोरी भएका थिए । यसलाई समय अवधि र चोरीका घटनाको तुलनामा हेर्दा हरेक ५ मिनेटमा एउटा चोरी भएको देखिन्थ्यो ।

कार चोरी भएका पिडितहरुमध्ये एक जना त क्यानडाका संघीय न्यायमन्त्री नै थिए । सरकारले दिएको टोयोटा हाइल्यान्डर एक्स मोडलको कार चोरहरुले दुई पटक चोरेका थिए । यही समरको सुरुमा इन्टरपोलले कार चोरी हुने खराब १० वटा देशहरुको सूचीमा क्यानडालाई पनि राखेको छ । क्यानाडाका अधिकारीहरु के भन्छन्, ‘ती कारहरु या त अन्य हिंसात्मक अपराधहरू गर्न प्रयोग गरिन्छ वा त यसबारे अस्पष्ट नै छ ।’ साथै यस्ता कारहरु क्यानडामै घरेलु रुपमा बेचिने वा विदेश पठाइने ती अधिकारीहरुको भनाइ छ ।

गत फेब्रुअरीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले डेटा संकलन गरेको थियो । जहाँ फेब्रुअरीदेखि क्यानाडाबाट चोरी भएका कारहरुको संख्या मात्रै विश्वभर १ हजार ५०० भन्दा बढी फेला पारिएको छ । इन्टरपोलका अनुसार अन्य देशका बन्दरगाहहरूमा प्रत्येक हप्ता करिब २०० भन्दा बढी यस्तै चोरीका कारहरू भेटिन्छ ।

क्यानडाको बिमा ब्युरोले यसलाई राष्ट्रिय संकट घोषणा गर्दै कार चोरीको शिलशिला एक महामारीको रुपमा फैलिएको जनाएको छ । जसअनुसार कारको बिमा रकमको रुपमा मात्रै गत वर्ष सरकारले १ अर्ब अमेरिकी डलर तिर्नु परेको थियो । यही समस्याले गर्दा क्यानडा प्रहरीलाई चोरीबाट सवारी साधनहरु जोगाउनका लागि सार्वजनिक बुलेटिन जारी गर्न बाध्य बनाएको छ। चोरीको बिगबिगी बढेपछि यसबीचमा कतिपय क्यानेडियनहरुले भने आफ्नो कारमा ट्र्याकरहरु जडान गर्नेदेखि आफ्नो वरपर कडा सुरक्षा व्यवस्था अपनाउने गरेका छन् ।

क्यानडामा यस्ता थुप्रै घटना बढेपछि कतिपय मानिसहरुले त चोरी रोक्नका लागि सुरक्षा संयन्त्र जडान गर्ने व्यवसाय नै गर्न थालेका छन् । टोरन्टो बाहिरको सहर मिस्सिसागामा बस्ने नउमन खान र उनका भाइ दुबै जना कार चोरीका पीडित हुन् । त्यही चोरीबाट पीडित भएपछि हाल उनी कार चोरी रोक्ने सुरक्षा संयन्त्र ‘बोलर्ड इन्स्टलेसन बिजनेस’ सुरु गरेका छन् । एक पटक खानकी पत्नी र छोराहरु घरमै सुतिरहेका बेला चोर कार चोर्न घर नै तोडफोड गरेर घरमा छिरे । उनीहरुले पार्कमा केही बेर चाबी खोजे तर भेटेनन् । र पछि उनीहरुले चोर लखेटे ।

यस घटनापछि खान परिवारले कार नै बेचिदियो । खान अहिले कार चोरी रोक्ने सुरक्षा संयन्त्र बनाउने व्यवसाय नै चलाउँदै आएका छन् । जहाँ उनी आफ्ना जस्तै टोरन्टोमा थुप्रै कार चोरीका घटनाहरु सुनिरहन्छन् । कतिपय मानिसले त सुरक्षा गार्ड नै खटाउने गरेको पनि उनले सुन्ने गरेको बताए ।

अमेरिका र बेलायतको तुलनामा थोरै जनसंख्या भएको क्यानडामा कार चोरीका घटना भने डरलाग्दो रुपमा बढिरहेका छन् । अमेरिका, क्यानडा र बेलायतमा कोरोना महामारीपछि कार चोरीका घटना बढे पनि क्यानडामा कार चोरीको दर हेर्दा प्रत्येक १ लाख व्यक्तिको भागमा २२० वटाभन्दा धेरै चोरीका कार हुन आउँछ ।

त्यसो त क्यानडा अन्तर्राष्ट्रिय रुपमा कार मोडलहरुका लागि विस्तार हुँदै गरेको बजारको रुपमा पनि चिनिन्छ । तर कारको चोरीमा संगठित अपराधको शिलशिला उत्तिकै बढेको छ । यसलाई लिएर अटोमोबाइल संगठनहरुले पनि चिन्ता व्यक्त गर्दै आएका छन् । टोरन्टो प्रहरीले भने ११ महिनाको अनुसन्धानपछि गत अक्टोबरमा मात्रै ६ करोड डलर भन्दा बढी मूल्यका १ हजार ८ वटा चोरीका कारहरुलाई पुनर्निर्माण गरेको थियो । यससँगै चोरीको समस्या नहट्नुको पछाडि आउटडेटेड तथा पुराना प्रविधिको मोडलका कारहरु भएको पनि बताइन्छ ।


क्लिकमान्डु