महासंघ अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने निर्णय ऐतिहासिक: चन्द्र ढकाल



काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रत्यक्ष निर्वाचनबाटै अध्यक्ष चयन हुने निर्णय ऐतिहासिक भएको बताएका छन् ।

सोमबार महासंघको केन्द्रीय कार्यसमिति बैठकले अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने निर्णय गरेको हो । महासंघमा यसअघि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा विधान संशोधन गरेर प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने व्यवस्था गरिएको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

महासंघ कार्यसमितिको सोमबारको बैठकबाट सर्वसम्मत रूपमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छानिने गरी विधान संशोधन गर्नु ऐतिहासिक निर्णय भएको उनले बताए ।

महासंघको विधान संशोधन गर्न बनेका दुईवटा विधान संशोधन समितिका सुझावका आधारमा कार्यसमितिबाट सर्वसम्मतिले यस्तो निर्णय गरेको ढकालले जानकारी दिए ।

विगतमा विधान संशोधनका लागि विभिन्न कार्यदल तथा समितिहरु बने पनि सहमति हुन नसकेकाले वरिष्ठ उपाध्यक्षबाट नै अध्यक्ष हुनेगरी निर्वाचन गर्ने गरिएको भन्दै आगामी दिनमा अब प्रत्यक्ष निर्वाचनमार्फत अध्यक्ष बन्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

अध्यक्ष प्रत्यक्ष निर्वाचित हुँदा संस्थालाई राम्रो हुने ठानेर गएको निर्वाचनकै बेला विधान संशोधनको प्रतिवद्धता अनुसार कार्यसमितिले सर्वसम्मत पारित गरेको ढकालले बताए ।

यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भएपछिको अर्को एक कार्यकालपछि लागू हुने ढकालले जानकारी दिए ।

अध्यक्ष ढकालले संशोधित नयाँ विधानमा वरिष्ठ उपाध्यक्ष दुई जना र हाल एक महिला उपाध्यक्ष रहेकामा थप एकजना महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको उनले बताए ।

महासंघको कार्यसमितिबाट संशोधित उक्त विधानलाई आगामी महासंघको विशेष साधारणसभामा पेश गरी पारित गरिने छ ।

अध्यक्ष ढकालले सबै उद्योग वाणिज्य महासंघ सबै सदस्यहरुको आकांक्षा महासंघको अध्यक्ष प्रत्यक्ष हुनुपर्छ भन्ने रहेको माग कार्यसमितिले पूरा गरेको बताए ।

कार्यसमितिमा विधानको दफा–दफामा छलफल गरेर सर्वसहमत निर्णय भएको उनले बताए । उनले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानले निर्वाचित भएपछि महासंघको काममा सक्रियता कम हुने आफैँले अनुभव गरेको बताए । प्रत्यक्ष निर्वाचित अध्यक्ष हुँदा काम गर्नुपर्ने सक्रियतामा धेरै फरक हुने उनको भनाइ छ । उनले महासंघमा समानुपातिक र समावेशी बनाउने गरी विधान संशोधन गरेर अघि बढेको उल्लेख गरे । अध्यक्ष ढकालले जिल्ला नगरका अध्यक्षहरुले वरिष्ठ उपाध्यक्षलाई भोट हाल्ने तर भोट नहालेको व्यक्ति अध्यक्ष भएकाले विधान संशोधन गर्न माग गरेको उनले बताए ।

अध्यक्ष ढकालले यसो भने

उद्योग वाणिज्य महासंघले लामो समयदेखि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानमा व्यवस्था भयो । त्यसको केही समयमा प्रत्यक्ष अध्यक्ष चयनको प्रणाली लागू हुनुपर्छ भनेर महासंघका जिल्ला उद्योग वाणिज्य संघहरुले आवाज उठाउँदै आएका थिए ।

पूर्वअध्यक्षको संयोजकत्वमा विधान संशोधनको लागि समितिहरु पनि बनेका थिए । मलाई के फिल भयो भने पूर्वअध्यक्षहरुको संयोजकत्वमा विधान संशोधन समिति बन्ने कार्यान्वयन वर्तमान कार्यसमितिले गर्नुपर्ने हुँदा कता–कता मेल नखाएको हिसावले दुई वटा विधान संशोधन समिति बन्यो । तर विधान संशोधन हुन सकेन । वर्तमान अध्यक्ष र कार्यसमितिले नै विधान संशोधन गर्नुपर्छ भन्ने लागेर अध्यक्ष भएदेखि लागेको थिए । त्यही अनुसार सोमवार कार्यकारिणी समितिले सर्वसहमत रुपमा महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट गर्ने निर्णय गरेको छ ।

यसले सबै उद्योग वाणिज्य महासंघ सबै सदस्यहरुको महासंघको अध्यक्ष प्रत्यक्ष हुनुपर्छ भन्ने आकांक्षा थियो । कार्यकारिणी समितिमा विधानको दफा–दफामा छलफल गरेर सर्वसहमत निर्णय भएको हो । अध्यक्ष प्रत्येक्ष निर्वाचन गर्ने निर्णयसँगै अन्य नयाँ निर्णयहरु पनि गरेका छौं । वरिष्ठ उपाध्यक्ष दुई जना बनाउने,महिला उपाध्यक्षको व्यवस्था गर्ने लगायतका निर्णयहरु सर्वसहमत रुपमा पारित गरेका छौं । यसलाई विशेष साधरण सभामा लैजाने निर्णय भएको छ ।

महासंघको यो ऐतिहासिक निर्णय हो । निर्णय भएसँगै उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष लगायत महासंघप्रति चासो राख्ने सबैले धेरै राम्रो काम भयो भन्नुभयो । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानले निर्वाचित भएपछि महासंघको काममा सक्रियता कम हुने देखिएको छ ।

अध्यक्षमा प्रत्येक्ष निर्वाचन भएर जाँदा काम गर्नुपर्ने सक्रियता धेरै फरक हुन्छ । तीनदेखि चार कार्यकाल हेरौं । यसबाट महासंघका सदस्यहरुले वरिष्ठ उपाध्यक्षहरुबाट त्यस्तो अनुभव गरेको देखिन्छ । जिल्ला नगरका सदस्यहरुले वरिष्ठ उपाध्यक्ष हुँदा जिल्लाका मुद्धाहरुलाई सक्रियता नदिएको भन्ने भएकाले प्रत्येक्ष निर्वाचित अध्यक्ष हुनुपर्ने उहाँहरुको विशेष माग थियो ।


क्लिकमान्डु