अमेरिकी कार टेस्ला अब चीनको आधिकारिक सरकारी सवारी



एजेन्सी । अमेरिकी कम्पनी टेस्लाका कारहरु चिनियाँ सरकारको खरिद सूचीमा राखिएको छ । चिनियाँ सरकारले पहिलो पटक टेस्ला ईभी कारलाई खरिद सूचीमा राखेको हो ।

एक मात्र विदेशी स्वामित्वको ईभी कार ब्रान्डलाई चीनको पूर्वी प्रान्त जियाङसुको सरकारले खरिद सूचीमा राखेको बताइएको छ । टेस्लासँगै अन्य ब्रान्डमा चिनियाँ कार भोल्भो र साइक पनि खरिद सूचीमा रहेका छन् । यससँगै सरकारी एजेन्सीहरु र जियाङसुका पब्लिक ग्रुपहरुले खरिद गर्नेछन् ।

चीन सरकारको स्वामित्वमा रहेको पेपर डट सीएनमा प्रकाशित यो समाचार चीनको सामाजिक सञ्जालमा पछिल्लो समय भाइरल बनिरहेको छ । कतिपय प्रयोगकर्ताहरुले भने चीन उक्त विदेशी कार चीन सरकारले नै प्रयोग गर्न खोजेको हो कि भनेर प्रश्न सोधिरहेका छन् ।

जियाङसु सरकारले टेस्ला मोडललाई आयातित कारको रुपमा नभएर घरेलु मोडलको रुपमा परिचित गराएको छ । यसले चिनियाँ बजारमा टेस्लाको पहुँचलाई सहजीकरण गरिएको नेसनल बिजनेस डेलीमा समाचार छ । जियाङसु सरकार सांघाइमा निर्मित ३४ हजार ३७७ डलरको मोडल वाइलाई खरिद सूचीमा राखेको हो ।

सांघाईमा ठूलो गिग फ्याक्ट्री रहेको टेस्लाले २०२३ मा चीनमा करिब ९ लाख ४७ हजार कार उत्पादन गरेको थियो । तीमध्ये अधिकांश घरेलु बजारमै प्रयोग भएका थिए । यस विषयमा जियाङसु सरकार र टेस्ला दुवैले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

पछिल्लो समय टेस्लाको बढ्दो र महत्त्वपूर्ण बजारको रुपमा चीन देखिएको छ । जसले विश्वको कुल ईभी बिक्रीको आधाभन्दा बढी बजारको हिस्सा ओगटेको छ । र चीनबाट मात्रै गत वर्ष टेस्लाले आफ्नो कुल राजस्वको लगभग एक चौथाइ आम्दानी गरेको थियो ।

यद्यपि अमेरिकी कार निर्माता टेस्लाले चिनियाँ कम्पनीहरुको कडा प्रतिस्पर्धा सामना गरिरहेको छ । चिनियाँ कम्पनी बीवाइडीले २०२३ को अन्तिम त्रैमासिकमा टेस्लालाई उछिन्दै विश्वकै सर्वाधिक बिक्रेताको रुपमा बजार विस्तार गरेको छ । यस वर्षको पहिलो ६ महिनामा भने टेस्ला आफ्नो स्थान बलियो बनाउँदै बीवाइडीसँग बराबरको स्थितिमा उभिएको छ ।

पहिले भने टेस्ला कारलाई डेटा सुरक्षा र जासुसीका कारण चीनका केही सरकारी र सैन्य क्षेत्रमा प्रवेश गर्न रोक लगाइएको थियो । तर टेस्लाका कारहरुले चिनियाँ डेटा सुरक्षा मापदण्डहरु पूरा गरेसँगै गत अप्रिलदेखि ती प्रतिबन्ध हटाइएको हो । अमेरिकी उद्यमी टेस्लाका मालिक एलन मस्कले चीन भ्रमण गरेको दिन चीनले टेस्लामाथि लगाएका प्रतिबन्ध हटाएको थियो । चिनियाँ प्रधानमन्त्री ली कियाङसँग भेटवार्ता गरेपछि प्रतिबन्ध हटाउने घोषणा गरिएको थियो ।

यसका बावजुद चीन र पश्चिमा देशहरुबीच ईभीको व्यापारलाई लिएर तनाब बढिरहेको छ । बिहीबार मात्रै युरोपियन कमिसनले चिनियाँ ईभीमाथि ३७.६ अतिरिक्त भन्सार शुल्क लगाउने घोषणा गरेको छ । युरोपियन आयोगले गत जुनमा पहिलो पटक भन्सार शुल्क लगाउने घोषणा गरेको थियो । चिनियाँ ईभीले युरोपको अटो बजारमा असन्तुलन सिर्जना गरी अनुचित प्रतिस्पर्धा गरेको भन्दै युरोपियन आयोगले यस्तो कर लगाएको हो ।


क्लिकमान्डु