नेपालकै ठूलो कर्णाली करिडोर ४०० केभी प्रसारणलाइन शिलान्यास अर्को साता



काठमाडौं । कर्णाली करिडोर ४०० केभी  प्रसारणलाइनको अर्को साता शिलान्यास हुने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गर्न लागेका हुन् । असार ११ गते मंगलबार शिलान्यास गर्न लागिएको हो ।

राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले निर्माण गर्न लागेको यो आयोजनाको ठेक्का भारतीय कम्पनी कल्पतरु पावर ट्रान्समिसन लिमिटेड गुजरातले पाएको छ । २०७९ फागुनमा नै ठेक्का पाएको हो ।  साढे सात अर्बमा ठेक्का पाएको हो । डिजाइन एण्ड बिल्ड मोडलमा ठेक्का पाएको छ । मुख्य निर्माण शिलान्यासपछि गर्न लागिएको हो ।  पूर्व तयारीको काम लगभग सकेर प्रसारणलाइन निर्माण थाल्न लागिएको हो ।

यो आयोजना कालिकोटको मान्मबाट सुरु भएर अछाम, सुर्खेत हुदै दोधारासम्म पुग्छ । यो पूर्व पश्चिम जोड्ने ‘ब्याक बोन’ प्रसारणलाइनले २२०० मेगावाट बिजुली प्रसारण गर्न सक्छ ।

कर्णाली र महाकाली नदी आसपासको बिजुली प्रणालीमा ल्याउन र भारत निर्यातका लागि समेत उपयोगी हुनेछ । यो प्रसारणलाइन करिब ८० किलोमिटरको हुनेछ ।  दोधाराबाट बरेलीसम्म ४०० केभी प्रसारणलाइन निर्माण हुन लागेको छ । सोही कारण आन्तरिक खपत भएर बढी भएको बिजुली भारत निर्यातका लागि समेत सहज हुनेछ ।

कर्णाली नदी बेसिनमा करिब ६००० मेगावाटका आयोजनाहरु पहिचान भएका छन् । बेतन कर्णाली (४४२ मेगावाट), सेती नदी-६ (४५० मेगावाट), अपर कर्णाली (९०० मेगावाट), फुकोट कर्णाली (४८० मेगावाट), तिला-१, तिला-२, हुम्ला कर्णालीलगायतका आयोजनाहरु पहिचा भएर निर्माणमा जान लागेका छन् । यी आयोजनाहरुलाई दृष्टिगत गरेर  प्रसारणलाइन निर्माण गर्न लागिएको छ ।

कर्णाली र महकाली करिडोरबाट आगामी १५ वर्षमा २००० मेगावाट प्रणालीमा आउने अनुमान गरिएको छ । उक्त अनुमानका आधारमा राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले २२०० मेगावाट क्षमताको प्रसारणलाइन निर्माण गर्न लागेको हो ।

सेती नदी-६ (एसआर-६) भारतीय कम्पनी एनएचपीसीले पाएको छ । कम्पनीले अहिले अध्ययनको काम गरिरहेको छ । अपर कर्णाली भारतीय कम्पनी जिएमआरले पाएको छ । एक्लैलै निर्माण गर्न नसक्ने भएपछि भारत सरकारको स्वामित्वको सतलज जलविद्युत् निगम (एसजेभीएन) भित्र्याएको छ ।

फुकोट कर्णाली पनि एनएचपीसीले नै पाएको छ । विद्युत उत्पादन कम्पनी लिमिटेडसँग सयुक्त रुपमा मिलेर बनाउन लागेको हो । बेतन कर्णाली कर्मचारी सञ्चयकोषले अघि बढाएको आयोजना हो । अहिले अध्ययन सकेर निर्माणमा लैजाने तयारी छ ।

पूर्वको ढल्केबरमाभन्दा ठूलो सबस्टेसन दोधारमा बन्न लागेको छ । सबस्टेसनको हब बन्न लागेको राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)नेत्र ज्ञवालीले बताए । ४००/१३२ केभीको सबस्टेसन कम्पनीले बनाउन लागेको छ ।  ज्ञवालीले यो नेपालकै ठूलो क्षमताको प्रसारणलाइन भएको दाबी गरे ।


क्लिकमान्डु